कला

अडिसनको सूचना : कलाकार खोज्‍ने प्रक्रिया कि पब्लिसिटी स्टन्ट ?

इकागज |
फागुन १०, २०७७ सोमबार १७:९ बजे

काठमाडौं :  राजेश हमालको कमब्याक फिल्म मानिएको ‘सत्यम’ले देशका चार ठाउँमा अडिसन गर्ने घोषणा गर्यो । हमालसँगै पल शाह, अनुपविक्रम शाही आदि कलाकारलाई अनुबन्ध गरेको निर्माण टिमले थप कलाकार खोज्‍ने काठमाडौंसँगै पोखरा, बुटबल र झापामा अडिसन कार्यक्रम राखेको थियो ।

जसमध्ये काठमाडौं, पोखरा अडिसन भयो भने बुटबल र झापामा भने भएन । अहिले निर्माण टिमले यही फिल्मका लागि डिजिटल अडिसन गरिरहेको जानकारी गराएको छ । यति मात्र होइन निर्माण टिमले काठमाडौंमै दोस्रो चरणको अडिसन सम्पन्‍न गरिसकेको छ । 


‘सत्यम’ले मुख्य भूमिकासहित लगभग २६ जना कलाकार अडिसनबाट छान्न लागेको हो । तेलगु भाषामा बनेको फिल्म ‘अर्जुन रेड्डी’ ले विजय देबराकोरोन्डालाई रातारात स्टार बनायो । दक्षिण भारतीय फिल्म निरन्तर हेर्ने अभिनेता आर्यन सिग्देलले यसको रिमेक अधिकार लिएर फिल्म बनाउने प्रयत्‍न गरे ।

उनले धेरै निर्माता÷निर्देशकलाई फिल्मका बारेमा बताए तर कसैले चासो दिएनन् । जब यो फिल्म हिन्दीमा ‘कबीर सिंह’को रुपमा  बन्यो र सुपरहिट भयो धेरैका आँखा ठूला भए । यसको केही समयपछि फिल्मको रिमेक अधिकार नेपाली निर्माताले किनेको चर्चा चल्यो ।

योसँगै मुख्य भूमिकामा ज्योतिषी हरिहर अधिकारीले खेल्ने चर्चा भयो । केही युट्यबुमा आएका भिडियोमा हरिहरले यही फिल्मका लागि ज्यान बनाउँदै गरेको पनि देखियो । आखिरमा यो सबै स्टन्ट भन्दा बढी केही साबित भएन ।

यसको केही समयपछि भने साँच्चिकै फिल्मको रिमेक अधिकार किनिएको र ‘सेल्फी किङ’ निर्देशन गरेका विशाल सापकोटाले यसको निर्देशन गर्ने सूचना आयो । निर्माण टिमले भित्रभित्रै मुख्य भूमिकाका लागि दिव्यदेव पन्तलाई लिन लागेको पनि गाइँगुइँ चलेको थियो । 

‘सेल्फी किङ’ बक्स अफिसमा सोचेझैं नचलेपछि भने यो फिल्मको चर्चा सेलायो । यही बीचमा कोरोना भाइरसको महामारी फैलिएपछि भने झन् फिल्मको कुरा ठप्पै भयो । तर, फिल्म बनाउन माहोल तातिएसँगै निर्माण टिमले यसको मुख्य कलाकार छान्न अडिसनकै सहारा लिएको छ । आइतबार निर्माण टिमले सूचना जारी गर्दै फिल्मको मुख्य कलाकार अडिसनमार्फत छान्ने जनाएको छ । 

अडिसनमार्फत कलाकार छान्ने सूचना ‘बिहे पास’ले पनि आइतबार नै जारी गरेको छ । यो फिल्ममा पनि दयाहाङ राई र प्रकृति श्रेष्ठ पहिला नै मुख्य भूमिकाका लागि तय छन् । यसका निर्देशक प्रवेश पौडेलले महिला र पुरुष गरी विभिन्‍न उमेर समूहका २७ कलाकार फिल्मका लागि आवश्यक रहेको बताएका छन् । 

सुटिङमा जाने तरखरमा रहेको ‘प्रकाश’ले पनि कलाकारका लागि अडिसन नै गर्ने सूचना जारी गरेको थियो । यो फिल्मले पनि अडिसनमार्फत ९ जना कलाकार छान्ने जनाएको थियो जसमा मुख्य भूमिकामा अभिनय गर्ने पुरुष तथा महिला कलाकारको खोजी गरिएको थियो ।  

सुटिङको माहोल बनेसँगै निर्माता फ्लोरमा निस्कन तम्सिएका छन् तर यसका लागि निर्माता÷निर्देशकलाई समस्या बनेको छ, ‘खोजे जस्ता कलाकार’ । फिल्म बनाउन तम्सिएका निर्माता खोजे झैं कलाकार नपाएपछि अडिसनको शरण बाध्य भएका हुन् । तर, यसरी खोज्दा पनि नयाँ कलाकार नपाएपछि निर्माता\निर्देशक पुरानै कलाकारको शरणमा पर्ने गरेका छन् ।

जस्तो कि ‘प्रकाश’ ले ९ जनाका लागि अडिसन माग गरेको थियो तर औपचारिक कार्यक्रम गर्दा पनि उसले अडिसनबाट नयाँ कलाकार छान्न सकेको देखिएन । ‘प्रकाश’को कास्ट लिस्टमा रेनु योगीबाहेक पुरानै कलाकारको बाहुल्य थियो । 

यही फिल्मको अडिसनमा गएका सन्तोष खनाल भने नेपालमा हुने अडिसन नयाँ कलाकार खोज्ने भन्दा पनि पब्लिसिटी स्टन्ट गर्ने अभिप्रायले प्रेरित रहेको बताउँछन् । त्यही भएर उनले फेसबुकमा ‘प्रकाश’को अडिसन कलको फोटो सेयर गर्दै लेखेका छन् , ‘ यही अनुरुप प्रक्रिया पुर्याएर फिल्म घोषणा भएको हो भने यस्को नतिजा आउनुपर्ने होइन र ?’  

खनालले अडिसनमा केही कुरा सिक्ने र मौका पाउने अभिप्रायले केही फिल्मको अडिसनमा भाग लिए पनि त्यहाँको प्रक्रियादेखि सन्तुष्ट नभएको प्रतिक्रिया दिए ।
‘अडिसनमा केही सिकिन्छ र मौका पनि पाइहालिन्छ कि भनेर अडिसनमा गएको थिएँ तर भयो भएन केही खबर पाइँन । एकै चोटि फिल्मको घोषणा भयो ।

यसरी नै कलाकार छान्नु थियो त अडिसनको नाटक किन गर्नु,’ खनालले प्रश्‍न गरे । तर, उनले सबै फिल्ममेकरलाई एउटा भाँडा हाल्न नहुने बताए । 
‘यसको मतलब सबैले पब्लिसिटीका लागि मात्र अडिसन गर्छन् भन्‍ने चाहिँ होइन’ खनालले भने । 

खनालको तर्कलाई बल पुर्‍याइरहेको छ फिल्ममेकरको कलाकार छानिएको सूचना दिने प्रक्रियाले । फिल्ममेकर अडिसनको सूचना त जोडजोडले फलाक्छन् तर अडिसनबाट को छानिए त्यो चाहिँ राम्ररी बताउन चाहदैनन् । 
 


Author

थप समाचार
x