कोरोनानुभूति
छोरी लकडाउनमै छे
लकडाउन घोषणाको भोलिपल्टै जागिरमा कोरोना लाग्यो । कोरोना त आएकै थिएन, स्वयं कोरोना बनेर उभियो हाकिम । कारिन्दा कटौतीको योजना ल्याउन नपाउँदै हाकिमले मेरो जागिर पजनी गरिदियो । दिनको २० हजार पाइला हिँड्ने म कोरोना कर्फ्यूको इमानदार पालक भएँ । घरखानामै बन्दी भएँ ।
श्रीमती, छोराछोरीसित मस्त भएर बस्न नपाएको वर्षौं भइसकेको थियो । केही दिन सानी छोरीसितै बित्यो । हरेक दिनको डायरी एकै खाले भयो । ऊसितै उठ्यो, ऊसितै खेल्यो, ऊसितै सुत्यो । म लगभग आफ्नो बालादिनमै फर्किएँ । छोरीसँग बिलकुलै बालकोचित व्यवहार गरेँ । भाँडाकुटी खेल्यो । आसपास खेल्यो । कोठाभित्र उफ्रियो । दौडियो । गाउँबाट दिनमा दुई-तीन खेप आमाको फोन आउँथ्यो । कतै मन फिरेर हाकिमले काममा बोलाउला र काममा हाजिर हुन नपाइएला भन्ने पिरलोले गाउँको एम्बुलेन्समा घर आइज भन्दा पनि मन मानेन । आमालाई ढाँटिरहेँ, 'अफिसको काम घरबाटै अनलाइनमा गरिरहेको छु ।'
'बाबु के गर्दै हो ?'
'अफिसको काम गरिरहेको छु आमा ।'
आमालाई कति दिन कति पटक ढाँट्ने ? हरेक फोन कलमा म मरेतुल्य हुन थालेँ । बिस्तारै खल्ती रित्तिँदै गयो । रातमा निद्रा पर्न छाड्यो । एउटा लामो अत्यासले आफैँलाई डसिरह्यो । औडाहाले छाती भतभती पोल्न थाल्यो । सायद सुगर-प्रेसर पनि बेपत्ता बढेर गयो ।
म बिनाकारण झनक्क रिसाउने भएँ । श्रीमतीजीले राम्रो कुरा गरे पनि नराम्रो बुझ्ने भएँ । घरझगडा पनि हुन थाल्यो । घर बसाइ एक प्रकारले कष्टसाध्य हुँदै गयो । त्यही बेला एक साथीले शीतलु प्रस्ताव गर्यो, ‘सुकुमार, मेरो गाउँतिर जाने हो ? केही दिन रमाइलै होला ।' मलाई त सोचेजस्तै भइहाल्यो ।
पुलिसले सहर छिर्न मुस्किल भएको भन्दाभन्दै पनि साथी भूननारायणले कसैको मोटरसाइकल लियो र लकडाउनको बेवास्ता गर्दै हामी मध्यराती फर्कियौँ । राजमार्गमा दिउँसो लकडाउन रहेछ । रात्रीबस मजाले लाग्दो रहेछ । मुग्लिनदेखि मलेखुसम्मका होटल सबै खुलै थिए । एउटा गाडी दुर्घटना भएकाले खानीखोलामाथि त जामै भएको रहेछ ।
अरु बेला घरबाहिर जाने भनेपछि किचकिच गर्ने श्रीमतीजीले सजिलै स्वीकृति दिई । सायद ऊ पनि केही दिन मेरो झनकफनक-जलनफलनबाट मुक्ति चाहन्थी । उसको सहज स्वीकृतिपछि मलाई ख्याल भयो, आफ्नो मूर्खता ! तैपनि गाउँतिर गएर केही दिन जागिरे दर्द भुल्न चाहन्थेँ म । भित्रभित्रै छाती पोल्न भने छाडेको थिएन ।
लकडाउनकै बीच घुमफिरमा निस्कँदा छोरी आफ्ना रंगीबिरंगी गुडियाको वरिपरि थिई । घरि तिनको कपाल कोरिदिन्थी । घरि नुहाइदिन्थी । घरि लुगा फेरिदिन्थी । घरि सुताउँथी, घरि उठाउँथी । घरि तिनीहरूसित बात मार्थी । 'ओ रानी परी ! कोरोना भाइरस आएको छ, बुझ्यौ ? संसारभरि मान्छे मरेका मर्यै छन् । सरकारले लकडाउन गरेको छ । मेरो स्कुलको रिजल्ट पनि भएको छैन । साथीहरूलाई बर्थडेको चकलेट पनि लैजान पाइनँ ।'
‘कस्तो महामारी आयो कुन्नि ! हात धोइरहनुपर्छ रे । घरबाहिर जानहुन्न रे । स्कुल खोल्नुहुन्न रे । हूलमूलमा जानुहुन्न रे । सोसल डिस्ट्यान्स राख्नुपर्छ रे ।’ छोरी अभिभावक जसरी गुडियाहरूको टाउको हल्लाइदिन्थी र आफ्नो मनोलहर जारी राख्थी । 'लकडाउनमा ड्याडी, ममी पनि घरमै हुनुहुन्छ । दाइको कलेज पनि लागेको छैन । मलाई ढुङढुङ जान मन लागेको थियो । सपिङ गर्न मन लागेको थियो । आमाको घर जाने कस्तो रहर थियो । बसै चलेको छैन हेर न ।'
साथीले मेडिकल सामग्री गाउँ पठाउनका लागि पास मिलाएको रहेछ । मिलाएको के भन्नु ? गाउँपालिकाले एउटा सामान्य बेहोराको चिठी मस्यौदा गरेको रहेछ । त्यसमा प्रमुख जिल्ला अधिकारीले तोक लगाउनुपर्नेमा गाउँपालिकाको कर्मचारीले सोझै इमेल ठेलिदिएछ । त्यही रीत नपुगेको कागज लिएर हिँड्दा पनि कहीँ कसैले कतै रोकेन । कतै यसो देखाउनुसम्म परेन ।
म साथीको गाउँ जान गाडी चढिसकेको छु । छिनछिनमा आमाको फोन आएको आयै छ । म सुगाको शैलीमा बासी रटना लगाइरहेको छु, 'अफिसको काम गरिरहेको छु आमा ।' इस् अफिस ! अफिसले त मलाई फोर्स लिभमा राखेको थियो । घर आउन नसक्ने छोरा घुम्न गएको पोल खुल्दा आमाको मनमा चोट पुग्ला भनेर म आफैँसित निकै डराएँ ।
धेरै दिनपछि मैले झ्याउँकीरीको संगीत सुनेँ । मैले काफल पाक्यो चरीको सन्देश सुनेँ । कुहुकुहु भन्ने कोइलीको मखमली आवाजले द्रविभूत भएँ । बेसरी निद्रा पर्यो । बाढीमा धमिलिएको म्याग्दे खोलाको विचरण, चैते धान रोपिएको हरिया खेतको आली अनि ऐँसलुले ढाकेको रनवन डुल्दा मैले आधा उमेरमा जागिर गुमेको पनि बिर्सिएँ । आफू घरेलु पुरुष हुँ भन्ने पनि बिर्सिएँ ।
बाटोभरि गुडियासँग छोरीको निर्दोष संवाद सम्झेर भावुक भइरहेँ । छोरी भनिरहेकी हुन्थिन्, 'ओ रानी परी ! चाइनामा चमेरोको मासु खाएर कोभिड-१९ सरेको रे नि ? चमेरा पनि खानुहुन्छ त ? यो पृथ्वी मान्छेको मात्र होइन, प्रकृतिका सबै प्राणीको पनि घर हो नि ।’ छोरीले कहाँबाट सुनी यस्ता कुरा ? म छ-छक्क पर्छु । कसले भन्छ कुन्नि उसलाई यस्ता कुरा ?
छोरी अझै फलाकिरहेकी छे, 'प्रकृतिको विनासमा हाम्रो के दोष छ र परीलोग ? सबै ठूला मान्छेले गरेका बदमासी हामी साना मान्छेले भोग्नु परिरहेको छ । सहरमा घरैघर छन् । हरियोपरियो देख्नै पाइँदैन । चरा, कीरा, फट्यांग्रा, कमिला बस्ने ठाउँ छैन । हामीलाई अक्सिजन पनि छैन ।’
ज्यादतीविरुद्ध प्रकृतिले मान्छेलाई महाअभियोग लगाउँदै सजायस्वरुप घरबन्दी बनाएको छोरीले कसरी थाहा पाई कुन्नि ? म मनमनै गुन्दै गएँ । सिंगो मानव समाज कोभिड-१९को महामारीमा छ । मान्छेले मान्छेलाई छिःछि, दूरदूर गरिरहेको छ । मान्छेसित मान्छे त्रसित छ । मान्छेलाई मान्छेसितै चरम अविश्वास छ ।
राजमार्ग कति खुला थियो भने साबिक छ घन्टाको बाटो तीन घन्टामै छिचोलियो । बाटोमा बिस्कुट किन्दा पसल्नीले पैसा हातमा लिन मानिनन्, भुइँमा राखिदिनुपर्यो । पैसासित पनि यस्तो भौतिक दूरी ! अब संसार सुध्रिन्छ कि जस्तो पनि लाग्यो ।
साथीहरूसित केही दिन कहिले छाङको डाँडामा त कहिले मनपाङको डाँडामा पुगेर निष्फिक्री प्रकृतिको मोहनीमा भुलियो । त्यहाँ केको मास्क, केको सेनिटाइजर, केको साबुनपानी, केको पन्जा, केको चस्मा, केको पीपीई, केको सामाजिक दूरी ! सबै मग्नमस्त थिए आफ्नै परिवेशमा । एकरत्ति सन्त्रास थिएन कतै ।
साथीको गाउँमा गएको रात मस्त झरी पर्यो । धेरै दिनपछि मैले झ्याउँकीरीको संगीत सुनेँ । मैले काफल पाक्यो चरीको सन्देश सुनेँ । कुहुकुहु भन्ने कोइलीको मखमली आवाजले द्रविभूत भएँ । बेसरी निद्रा पर्यो । बाढीमा धमिलिएको म्याग्दे खोलाको विचरण, चैते धान रोपिएको हरिया खेतको आली अनि ऐँसलुले ढाकेको रनवन डुल्दा मैले आधा उमेरमा जागिर गुमेको पनि बिर्सिएँ । आफू घरेलु पुरुष हुँ भन्ने पनि बिर्सिएँ । त्यही हो, बेलाबखत आमालाई ढाँट्नुपर्थ्यो । त्यो त बानी लागिसकेकै थियो ।
गाउँ गएको पर्सिपल्टदेखि श्रीमतीजीलाई पनि नियास्रोले छोपेछ क्यारे । 'कहिले आउने हो' टाइपको क्लिसे प्रश्नको झरीले म रुझ्दै गएँ । हृदयको एकछेउ घरको तलतल अनि छोरीको मायाको हलचल भइरह्यो । छिनछिनमा लागिरह्यो, म कस्तो बैगुनी रहिछु ? यस्तो आपतकालमा परिवार छाडेर साथीहरूसित बरालिँदै हिँड्न सुहाउँछ ? पक्कै पनि सुहाउँदैन ।
एकछिन अघिसम्मको मुक्त मानव फेरि घरखानामै थुनिन राजी भयो । भोलिपल्ट आउँछु भनेर घर गएको गाडीवाला साथी फर्कंदै फर्किएन । आमाले निस्कनै दिइनन् भनेर बहानाबाजी गर्न थाल्यो । अब कसरी फर्कने ? अत्यास झन् बढेर गयो । कसैले लिफ्ट पनि पत्याएनन् । त्यही लकडाउन झन् कठोर हुने मौसमी बाजा बजायो सरकारले ।
त्यसो त लकडाउन सरकारी मान्छेका लागि होइन, सर्वसाधारणका लागि मात्रै थियो । कोरोनाले सरकारी र गैरसरकारी मान्छेको निधार हेरेर ठम्याउँछ भनेजसरी व्यवहार भइरहेको थियो । महामहिम राष्ट्रपतिलाई अघिपछि पछुवा गाडी लगाएर सवारी चलाउन लकडाउन लाग्दैन । सत्तारुढ पार्टीका कार्यकर्तालाई सडकमा नाराजुलुस गर्न पनि लकडाउन लाग्दैन । पार्टी फुटाउन र सांसद अपहरण गर्न पनि लकडाउनको मतलब छैन । सांसदहरू भ्रमण भत्ता खाएर बेरोकटोक डुल्दै थिए ।
अब त गुडिया नै छोरीका पक्का साथी भइसके । छोरी फलाक्छे, 'ओ गुडिया ! म मात्रै कति फतफताउनु ? कहिलेकाहीँ त तिमीहरू पनि बोल न हो ।'
पुलिसले सहर छिर्न मुस्किल भएको भन्दाभन्दै पनि साथी भूननारायणले कसैको मोटरसाइकल लियो र लकडाउनको बेवास्ता गर्दै हामी मध्यराती फर्कियौँ । राजमार्गमा दिउँसो लकडाउन रहेछ । रात्रीबस मजाले लाग्दो रहेछ । मुग्लिनदेखि मलेखुसम्मका होटल सबै खुलै थिए । एउटा गाडी दुर्घटना भएकाले खानीखोलामाथि त जामै भएको रहेछ ।
कलंकीदेखि वनस्थलीसम्म यात्रुवाहक गाडीको लाम अनि जेब्रा झोला बोकेका मान्छेको लस्कर थियो । सहर फर्किएको दुई महिनापछि सरकारले लकडाउन आंशिक खुलायो । छोरा साथीहरू भेट्न निस्कियो । लुगासित मास्कको कलर मिलाउने ध्याउन्नमा लाग्यो । श्रीमती पनि आफ्नो मित्रमण्डलीको सान्निध्यमा रमाई । म पनि बेलाबखत साथीहरूको सत्संगमा गएँ, फर्किएँ । तर छोरी ?
छोरीको लकडाउन त कत्ति पनि खुलेको छैन । अहिले पनि गुडियाहरूलाई सम्झाइरहेकी छे, 'तीन महिना नाघिसक्यो । म त घरबाहिरै निस्केको छैन । तिमीहरूजस्तै त हो नि । यो वर्ष स्कुल जानै नपाइने भयो, बुझ्यौ ? साथीहरूसित पनि भेटै नहुने भयो । अनलाइन क्लास चलाउने रे । कस्तो ज्याद्रो भाइरस रहेछ । लकडाउन त खुल्ने नामै लिँदैन ।’
यो कोरोना, यो लकडाउन, यो बेसार मन्त्रसित मेरी छोरीको कुनै आइनोसाइनो छैन । तर सबैलाई लकडाउन खेलाँची भइसक्दा पनि मेरी छोरी कडा लकडाउनमै छे । उसलाई थाहा छैन, लकडाउनको अवधि कति हो ? जुनसुकै बेला लकडाउन थपिन सक्छ ।
म अपराधबोधले भुतुक्कै भएको छु । तैपनि चाहन्नँ- पूर्ण रुपमा लकडाउन खुलोस् । म चाहन्नँ- स्कुल खुलोस् । म चाहन्नँ- मेरी प्यारी छोरीको जीवन जोखिममा परोस् । तर यो पनि चाहन्छु- छोरीको लक-डाउन नहोस् ।
अब त गुडिया नै छोरीका पक्का साथी भइसके । छोरी फलाक्छे, 'ओ गुडिया ! म मात्रै कति फतफताउनु ? कहिलेकाहीँ त तिमीहरू पनि बोल न हो ।'
म स्तब्ध छु ।
(नेपाल सेन्टर इन्टरनेशनलबाट निर्मलकुमार थापाको सम्पादनमा प्रकाशित पुस्तक ‘कोभिड-१९ कथाहरु’बाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया