कला

विवाहको हल्लाबारे श्वेताको प्रतिक्रिया : ‘ए हो, कहिले रैछ मेरो बिहे ?’

इकागज |
कात्तिक १८, २०७७ मंगलबार ८:२२ बजे

काठमाडौं : अभिनेत्री श्वेता खड्काले आफ्नो नाम जोडेर चलिरहेको विवाहको हल्ला निराधार रहेको प्रतिक्रिया दिएकी छिन् । उनले इकागजसँग कुरा गर्दै व्यंग्य मिश्रित स्वरमा भनिन्, ‘ ए हो, कहिले रैछ ?

केही दिनयता उनले विवाह गर्न लागेको गाइँगुइँले फिल्म उद्योग तरंगित भएको थियो । दसैँको टीका लगाएको अवस्थामा एक युवकसँग रहेको फोटो सार्वजनिक गर्दै केहीले उनले विवाह गर्न लागेको अनुमान गरेका थिए । श्वेताले आफ्नो फोटोको दुरुपयोग गरी गलत हल्ला चलाएको भन्दै यसले आफूलाई मर्माहत बनाएको प्रतिक्रिया दिएकी छिन् । ‘यो यति कपोलकल्पित र भ्रामक कुरा हो कि खासमा मलाई यसमा प्रतिक्रिया जनाउन पनि मन छैन,’ श्वेताले इकागजसँग भनिन्, ‘जजसले यो हल्ला चलाइरहनु भएको छ । उहाँहरुलाई यो पुष्टि गर्न चुनौती दिन चाहन्छु । मेरो फोटो दुरुपयोग गरी बुलिङ भइरहेको छ । यसलाई मैले गम्भीर रुपमा लिएकी छु ।'


हल्ला चलाउनेले मंसिरको ५ गते श्वेताले विवाह गर्न लागेको दाबी गरेका थिए । यति मात्र होइन, विवाहका लागि चितवनको एउटा होटल बुक गरेकोसमेत चर्चा थियो । श्वेताले यस्ता हल्लामा रत्तिभर पनि सत्यता नरहेको दाबी दोहोर्‍याइन् । श्वेताले भनिन्, ‘ यस्तो बेतुकको कुरामा म के स्पष्टिकरण दिउँ ? ५ गतेसम्म कुरौं न त । हो कि होइन थाहा भइहाल्छ नी ।’

श्वेताले आफू तत्कालका लागि माझी बस्ती, क्यान्सर अस्पताल र व्यवसायको काममा व्यस्त रहेको बताएकी छिन् । फिल्म निर्माण र अभिनयसँगै श्वेता  सामाजिक काममा पनि सक्रिय छिन् । श्वेताका अनुसार भूकम्पले भत्काएको माझी बस्ती निर्माण अन्तिम चरणमा पुगेको छ भने उनले गत साल गरिब, आर्थिक अवस्था कमजोर भएका क्यान्सर रोगीलाई सहुलियतमा उपचार गराउने उद्देश्यले ललितपुरमा क्यान्सर अस्पताल निर्माणको काम पनि थालेकी छिन् ।

अनि के यो बीचमा उनले विवाहको कुरा पनि सोचिरहेकी छिन् ? श्वेताले विवाहको कुरा भने परिवार र भविष्यको हातमा छाडिदिएको बताइन् । ‘भोलि कसले देखेको छ र ? तर मानौं कुनै दिन भइहाल्यो भने यसरी अनुमान गरेर हल्ला फिजाइरहन पर्दैन । म स्वयं यो कुराको जानकारी दिन्छु,’श्वेताले भनिन् ।

‘कहाँ भेटिएला’बाट श्रीकृष्ण श्रेष्ठको जोडीको रुपमा नेपाली फिल्ममा डेब्यु गरेकी श्वेताले २०७१ साल असार २३ गते श्रीकृष्णसँगै  विवाह गरेकी थिइन् । विवाह गरेको दुई दिन पछि नै बिरामी भएका श्रीकृष्णको उपचारकै क्रममा साउन २५ मा भारतमा निधन भएको थियो ।


Author

थप समाचार
x