कला

पल शाहको कुटाइ खाएका निर्देशक अरुण प्रधान भन्छन्, ‘माफी नमागे प्रदेश १ मा पलका फिल्म प्रतिबन्ध’

इकागज |
फागुन १४, २०७७ शुक्रबार ११:५५ बजे

काठमाडौं :  फिल्म निर्देशक तथा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले पल शाहले आफूसँग लिखित माफी नमागे उनी अभिनीत चलचित्र प्रदेश नं १ मा चलाउने नदिने बताएका छन् । उनले काठमाडौंका चलचित्र सम्बन्धी संघ संस्थालाई समेत बोधार्थ लेख्दै पलले माफी माग्न इन्कार गरेमा कुटपिट मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाउनेसमेत जानकारी गराएका छन् । 

बिहीबार साँझ अरुण प्रधानले अभिनेता पल शाहको निर्देशनमा उनका सहयोगी कृष्ण जोशीले आफूमाथि दुव्र्यवहार गरेको भन्दै धरानको प्रहरी कार्यालयमा उजुरी दिएको समाचार आएका थिए । प्रधानले यही मुद्दामा पल शाहले माफी माग्नु पर्ने जनाएका हुन् । अरुण प्रधानले आफूले महासंघको आयोजनामा हुन लागेको अन्तक्र्रियामा सहभागी हुन अनुरोध गर्दा पल र उनका सहयोगीले दुव्र्यवहार गरेको जनाएका छन् ।


उनले इकागजसँगको कुराकानीमा पलले धरानकै युवाहरू बोलाएर कुटपिटको प्रयास गरेको तर आफू संयमित भएका कारण ठूलो झगडा भने नभएको बताए । 
‘ धरानमा आउने कलाकारलाई हामीले स्वागत गर्दै आएका छौं । यही क्रममा १२ गते पल शाह आए पछि उहाँलाई पनि स्वागत गर्न भनेर खाना खाने ठाउँमा गयौं,’ अरुणले घटनाको बेलीविस्तार लगाउँदै भने, ‘ खादा लाउँदासम्म ठीक थियो तर जब खाँदा लगाएर फोटो खिच्न खोज्यौं उहाँको असिस्टेन्टले रुखो तरिकाले फोटो खिच्न पाइँदैन भन्नु भयो । म चकित परेँ तर पनि मानेँ ।

पछि भिडियो निर्देशक जनकदीप पराजुलीले खिचेपछि मान्नु भयो । यसपछि हामीले धरानको ज्वाइँ होटलमा खाना खायौँ । खाना खाइसकेपछि मैले पलजीलाई १५ गते अन्तक्र्रिया कार्यक्रम रहेको र अतिथिको रुपमा आइदिन अनुरोध गरेँ । उहाँले ठाडै इन्कार गर्नु भयो । मैले थप अनुरोध गरेपछि पलजीले असिस्टेन्टसँग कुरा गर्नु भन्नु भयो । 
मैले कार्यक्रमको बारेमा थप कुरा गरेर कन्भिन्स गर्न खोज्दा असिस्टेन्टले अमर्यादित तरिकाले कुरा गरे । हल्का विवाद हुने देखेपछि निर्देशक पराजुलीले यो विषयमा फेरि कुरा गरौंला भनेर विवाद साम्य पार्नु भो । यसपछि उहाँहरू अर्को टेबलमा बस्नु भयो ।

हामी खान कुरिरहेका थियौँ । एकैछिनपछि त्यहाँ एक हुल केटाहरू आए तर मलाई देखेर हच्किए । कुरो बुझ्दा उहाँले मलाई कुटाउन भनेर मान्छे बोलाउनु भएको रहेछ । तर, चिनेकै मान्छे देखेपछि उनीहरू फर्किए । उनीहरू फर्किएपछि अचानक पलजीको असिस्टेन्ट कृष्णप्रसाद जोशीले मैले लाइदिएको खादा मतर्फ नै मिल्काउँदै हातपात गर्न थाले । छेउको टेबलमा रहेका पल शाहले आफ्नो असिस्टेन्टलाई सम्झाउने र रोक्ने प्रयाससम्म गरेनन् ।’


१२ गते रातको ९ बजे भएको यो घटनापछि आफूले बिहीबार धरान प्रहरी कार्यालयमा उजुरी दिएको र शुक्रबार २ बजे चौकीमा बसेर छलफल गर्ने कुरा भएको अरुणले इकागजलाई बताए । तर, निर्देशक जनकदीपले आज ४ बजे मात्र सुटिङ सकिने जानकारी गराएकाले आफूहरू ४ बजे चौकीमा उपस्थित हुने जानकारी गराए ।

 ‘उहाँले लिखित माफी माग्नु भएन भने चाहिँ हामी उहाँका चलचित्र १ नं प्रदेशमा चलाउन दिँदैनौं,’ अरुणले इकागजसँग भने । यही विषयमा पल शाहसँग कुरा गर्दा भने सम्पर्क भएन । 


Author

थप समाचार
x