कला

मधेशको परिवेशमा लेखिएको ‘क्षमादान’ आउँदो साता

इकागज |
फागुन १५, २०७७ शनिबार १२:११ बजे

काठमाडौं : गणेशप्रसाद लाठको नयाँ पुस्तक ‘क्षमादान’ आउँदो हप्ता सार्वजनिक हुने भएको छ । यस कृतिले मधेशको व्यावसायिक परिवार वरपरको जालझेल र त्रासदीलाई नाटकीय पारामा उधिनेको छ । यो पुस्तक पब्लिकेसन्स नेपालयले २०२१ मा प्रकाशित गरेको पहिलो कृति हो ।

‘सिमित नाम लिँदा, मधेशले धनुषचन्द्र गौतमदेखि बिमल निभासम्मका केही उत्कृष्ट लेखकहरू पाएको छ । उनीहरूका कृतिले मधेशको सौन्दर्यशास्त्र र काव्यात्मकतालाई बडो चमत्कारी ढंगले व्यक्त पनि गरेका छन् तर एउटा पाठकको रुपमा, जो पेशाले एउटा व्यवसायी भएको छ, नेपालीमा प्रकाशित हुने अधिकांश किताबमा म आफूलाई भेट्दिन ।’


लेखकले किताब लेख्न प्रेरित गरेको सन्दर्भ कोट्याउँदै भने । ‘साहित्यमा व्यावसायिक वर्ग कि त पूरै अनुपस्थित थियो कि निमित्त पात्रका रुपमा मात्र पन्छाइएका थिए । म मेरो कथाको माध्यमबाट तिनै परिवारहरूको मानवीय पक्षलाई खोतल्न चाहन्थेँ ।’ 

प्रजातन्त्र स्थापना कालपछिको नवोदित सहर वीरगन्जमा हुर्किएका लाठको बाल्यकाल चलचित्रको सानिध्यमा बित्यो । लाठलाई सिनेमाले अपनाउने कथावाचन र त्यसले सिर्जना गर्ने संसारले धेरै प्रभावित बनायो । उनले किताबमा त्यही नाटकीय शैली अँगालेका छन् । सामाजिक कथामा रोमान्सको रमरमी खोज्ने  पाठकका निम्ति यो कथाशैलीले आकर्षित गर्ने कुरामा लेखक विश्वस्त देखिन्छन् ।

प्रकाशक नेपालयकी  भूषिता वशिष्ठले सम्पादकीय टिप्पणी गर्दै जनसंख्याका हिसाबले देशको महत्वपूर्ण क्षेत्रमा रहेका व्यावसायिक परिवारको कथाबस्तुलाई लेखकले सटीक पाराले उजागर गरेको बताएकी छिन् ।  ‘मधेशको  कथा र यहाँको विकासक्रम सम्पूर्ण नेपाली कथा संसारको महत्वपूर्ण अंग हो जुन अझै पनि साहित्यमा पर्याप्त ढंगले परिलक्षित भएको छैन । यस पुस्तकले त्यही अभावलाई सानै रुपमा भए पनि पूर्णतातिर डो¥याउँछ भन्ने आश राख्छौं ।’

लाठ, वीरगन्जलाई प्रतिनिधित्व गर्ने नेपालय पब्लिकेसन्सका दोस्रो लेखक हुन् । यस पब्लिकेसन्सबाट ’वीरगन्ज’ शीर्षकमै सन् २०१६ मा गिरीश गिरिको ननफिक्सन प्रकाशित भएको थियो । ‘क्षमादान’ को मूल्य रू ४ सय ९५ तय गरिएको छ । 


Author

थप समाचार
x