कला

रंगमञ्‍च

कचहरी नाटक : कर्णालीका दुःखहरूको कोलाज !

विष्णु विश्‍वकर्मा |
फागुन १५, २०७७ शनिबार १४:५८ बजे

काठमाडौँ : शिल्पी थियटरको जम्बो टोली ‘कचरी नाटक’ लिएर कर्णाली जाँदै थियो । जहाँ गरिबी, अभाव र बाध्यताहरूको राज छ । ठालुहरूको मनोमानी । यही बाध्यता र विभेदको श्रृङ्खलामा थिचिएको कर्णालीमा शिल्पी थियटरले पाइला टेक्दै थियो ।

‘कल्पना र उर्मिला दुःखमा छन्’ दुई महिनाको रिहर्सलपछि तयार भएको कचहरी नाटक हो । कर्णालीका अनेक समस्यामाथि वृहत् बहस गरेर नाटकमा पात्रहरू छनौट गरिएको थियो । चित्रमा देखिएको कर्णाली र आँखै अगाडी देखिने कर्णालीलाई अनुभुत गर्नु शिल्पीका रंगकर्मीको कौतुहलता थियो । यो २०७६ असोज कात्तिक महिनाको कुरा हो ।


शिल्पी थियटरका प्रमुख घिमिरे युवराजसहित पवित्रा खड्का, संगीता उराव, मञ्जु श्रेष्ठ, स्मारिका खनाल, नम्रता अर्याल कर्णाली लागे । साथमा सविन कट्टेल, रविन परियार, गोविन्द वलीलगायत थिए । 

नाटक देखाउन चाहिने र पुग्‍ने उनीहरु चढेको बस बिहानै कलंकी पुग्यो । एकछिन रोकिएको बसमा घिमिरे युवराजको हातमा पुत्रिका आइपुग्यो । पत्रिका पल्टाउँदै गर्दा एउटा समाचारको शीर्षक थियो, ‘काठमाडौँमै बोक्सी भन्दै महिलामाथि विभेद र दुर्व्यवहार’ ।

शिल्पी थियटर नाट्य यात्राका लागि कर्णाली निस्केको बिहान थियो, त्यो । यही समाचारले युवराजको मथिंगल हल्लायो । बसन्तपुरमा बोक्सी भन्दै महिलामाथि गरिने विभेद र दुर्व्यवहारबारे नाटक देखाउँदा दर्शकहरूले यस्ता नाटक कर्णाली लैजान सुझाएका थिए ।

उनी त्यही सुझावलाई शिरोधार्य गरेर ‘युएनओपिएस’ नेपालसँग सहकार्य गरेर रंगकर्मीका साथ कर्णाली हानिदै थिए । तर कलंकीमै ठेस लाग्यो । खुट्टामा होइन, मुटुमा । काठमाडौँमै त यस्तो विभेद छ । कर्णालीमा झन् कस्तो होला ? यही प्रश्‍नको उत्तर खोज्दै समाधानका लागि सहयोगी बन्‍ने शिल्पीका रंगकर्मीको उत्साहित मनोबल थियो ।

२०७६ असोज २८ गते कर्णाली हिडेको टोली भोलिपल्ट सुर्खेत पुग्यो । यो टोलीमा कहिल्यै काठमाडौँ नछाडेका रंगकर्मी पनि थिए । बाहिर जिल्लाबाट आएर काठमाडौँमा आफ्नो परिचय बनाएका रंगकर्मी पनि थिए ।

अनि सबैको मन मनमा कर्णालीको खास चित्र थियो, गरीबी, अभाव र विभेदको थिचिएको कर्णाली । मनमा चित्रले देखाएको कर्णाली सुरक्षित थियो । आँखामा कर्णाली आउँदै गयो । बन्दै गरेको सडक । गाउँबाट सहर बनिरहेको बस्ती । खस भाषाको साम्राज्य । आधुनिकताले पछ्याउँदै गएको समीश्रणयुक्त समाज । पहिलो पटक पुगेकालाई कर्णाली यस्तै यस्तै देखिन्छ । 

वैदेशिक रोजगारीले ल्याएको परिवर्तन । त्यही परिवर्तनसँगै भित्रिएको विकृति । अनि विदेश गएका श्रीमानलाई कुर्दै घर बसिरहेका महिलाहरूले भोगिरहेको पीडादायी दैनिकी । त्यो भन्दा बढी त कर्णालीमा युगौदेखि बालविवाहले निम्त्याएका अनैको दुःखका पहाडहरू शिल्पी थियटरका रंगकर्मीले आँखै अगाडी देख्दै गए । 

जुन नाटक उनीहरूले कर्णालीबासीलाई देखाए । त्यही वास्तविकता उनीहरू हरेक नाटकका क्रममा वास्तविक मान्छेबाट देख्थे, सुन्थे । कचहरीको विशेषता नै हो, नाटक देखाउने मात्रै नभई प्रत्यक्षदर्शीलाई नै मञ्‍चमा उतार्नु । 

जहाँ उनीहरूले नाटकले देखाएको विषयवस्तुमा आफ्नो धारणा राख्छन् । नाटकका पात्रसँग उनीहरू वास्तविक भोगाई र बुझाई साट्छन् । जहाँ दर्शक दर्शक मात्रै हुँदैनन्, समाजका दृश्य अदृश्य समयका साक्षी हुन्छन् । त्यही कुरा देखाइन्छ । जसलाई कचहरी नाटक भनिन्छ । 

कर्णालीका दुःख

सुर्खेत हुँदै दैलेख, जाजरकोट, रुकुम र रोल्पासम्म पुगेको शिल्पी थियटरका रंगकर्मी स्वयंमले कर्णालीका दुःख झेले । कति ठाउँमा गाडी खोलामा फस्यो । घण्टौ कुरे । बसमा यात्रारत उनीहरूले जति ठेल्दा पनि गाडी किनारामा पुगेन । टिप्पर बोलाइयो । सकेन । डोजर लाएर फसेको गाडी निकालियो । यसका लागि उनीहरू पाँच देखि छ घण्टासम्म खोलाकै किनारमा बस्‍नु परेको थियो ।

सानो-सानो होटलमा साँघुरा कोठामा कोच्चिएर सुते । जहाँ बत्ती हुदैन । त्यही उनीहरूले मोबाइल टर्च बालेर रात बिताए । लामखुट्टेको चर्को भुनभुनलाई छिचोल्न झुल लगाएर सुते । सानो खाटमा तीन जनासम्मा कोचाकोच गरेर निदाए । 

यस्ता अनेकौ दुःख उनीहरूले कर्णाली पुग्दा झेले । जुन दुःख मात्र थिएन । नयाँ अनुभूति थियो । भोगाई थियो । नाटकमा पात्रहरूको भूमिका निर्वाह गर्दा वास्तविक दृश्यहरूको साक्षी मनमा सुरक्षित गर्नु थियो । आफ्नो भूमिका र गाउँले जीवनको वास्तविकतालाई रंगमञ्‍चसँग जोड्नु थियो । एउटै शब्दमा जति कठिनाइ थियो । त्यति रमाइलो पनि । किनकी कर्णाली धेरै रंगकर्मीका लागि नयाँ थियो ।

‘हामी पहिले कर्णाली गएका थिएनौ । नाटक देखाउने क्रममा कर्णाली पुग्यौ’ कचहरी नाटककी प्रमुख पात्र पवित्रा खड्काले भनिन्, ‘सोचेको, देखेको र भोगेको कर्णाली फरक छ । जुन काठमाडौँबाट सजिलै देखिदैन् । कर्णाली पुगेपछि देखिन्छ । तर सोचेभन्दा फरक । धेरै फरक ।’

झण्डै महिना दिन लामो यात्राका क्रममा उनीहरू कलाकार थिए । आफै दर्शक पनि बने । माइक फुकेर मान्छेहरूलाई नाटक हेर्न बोलाउँथे । नाटक देखाउँदै जाँदा स्थानीय मानिसहरुसँग मञ्‍चमै वास्तविकता बुझ्थे ।

नाटकको एक दृश्य छ, जहाँ लोग्‍ने वैदेशिक रोजगारीमा गएका हुन्छन् । सासु, ससुरासँग बस्‍ने कल्पनाका (पवित्रा खड्का) दुःख साना हुदैनन् । तर त्यो भन्दा ठूलो दुःख उनीमाथि उनकै सासु ससुराले शंका गर्छन् । फोनमा परपुरुषसँग कुरा गरेको शंका ।

विदेशमा रहने श्रीमानसँग कुराकानी हुदै गर्छ । तर शंकै शंकामा । श्रीमतिले विश्‍वास भर्न खोज्छिन् । श्रीमानले शंका गर्छन् । शंका बढ्छ । घरबाट निस्कन सासु ससुराको उर्दी आउँछ । छोराले नै घरबाट बुहारीलाई निकाल्न सिफारिस दिएको दाबी सासु ससुराको हुन्छ । 

सबथोक छाडेर किशोर उमेरमै विवाह गरेकी कल्पना धोका खान्छिन् । सासु ससुराले मात्रै होइन, श्रीमानले नै घर छाडेर जा भन्छन् । अब कहाँ जाने ? कल्पना जीवनको दोसाधमा उभिन्छिन् । बाच्‍ने वा मर्ने ? त्यही बेला घिमिरे युवराज दर्शकलाई सोध्छन्, के अब कल्पनालाई मर्न दिने ? अब उनलाई घरबाट निकालेर कहाँ पठाउने ?’

दर्शकदीर्घाबाट पीडक पात्र सासु ससुराको विरोध हुन्छ । उनीहरूविरुद्ध धारे हात लाग्छ । शंकाले उब्जाएको सामाजिक समस्या निरुपण गर्न स्वयंम दर्शक अघि सर्छन् । यस्ता विकृतिविरुद्ध एकजुट हुने प्रण गर्छन् ।

तर पनि त्यो एउटा मञ्‍चमा देखिएको दृश्य हो । समाजमा त्यस्ता दृश्य कति छन् कति ? यसको जवाफ कसले दिने ? घिमिरे युवराज प्रश्‍न गर्दै भन्छन्, ‘हामीले त प्रश्‍न छाडेर हिड्यौ । तर जवाफ कसले दिने ? जवाफ दिने निकाय सधै मौन देखिन्छ ।’

कर्णालीले सबैभन्दा बढी पीडा बोकेको बालविवाहले सिर्जना गरेको गरिबी र समस्या हो । त्यसपछि विभेद र महिलामाथिको पिसान । बालविवाह गरेपछि कर्णालीका किशोरी घरबार सम्हाल्छन् । किशोरहरू रोजगारीका लागि भारत जान्छन् । अचेल खाडी मुलुक पनि जान्छन् ।

लोग्‍ने वैदेशिक रोजगारीमा जाँदा महिलाले घरमा परिवारबाटै मानसिक तनाव झेल्नुपर्छ । बढ्दो यौवनमाथि समाजका ठालुहरुको नजर लाग्छ । छिमेकीको कुदृष्टि पर्छ । सबैभन्दा डरलाग्दो तथ्य त कर्णालीमा शंकै शंकाले धेरैको घरबार जलाउँछ ।

दिनरात जति नै काम गरेपनि महिलाले सुख पाउँदैनन् । बुहारीले सासु ससुराको कचकच खाइरहनुपर्छ । कथित दलितले बाहुन क्षेत्रीबाट थिचोमिचो भोगिरहनुपर्छ । प्रहरी प्रशासन उनीहरुकै कब्जामा छ, जो टाठाबाठा छन् । जो पहुँचमा पुग्छन् । बाँकी त सबै नियतीको खेलमा पर्ने हुन् ।

कसले जवाफ दिने ? 

कर्णालीका सामाजिक मुद्दाहरूमाथि कचहरी नाटकले अनेकौ दृष्टान्त देखायो । जुन कर्णालीका बस्ती बस्तीमा देखिए । हेरिए । तर पनि काठमाडौँले सुनेन् । कर्णालीपछि मधेसमा पनि कचहरी नाटक देखाइयो ।

यी सबैको हिसाब गर्दा शिल्पी नाट्य यात्रा ३६ दिनसम्म चल्यो । २०७६ को असोज र कात्तिक महिनाभर शिल्पी नाट्य यात्रा चल्यो । झण्डै दर्जन बढी जिल्लामा । जति ठाउँमा जे देखिए । त्यसको आंशिक दृश्य भिडियोमा कैद थिए ।

जसलाई समग्रमा शिल्पी थियटरले ‘रगमञ्‍चको स्वर’ डकुमेन्ट्री बनाएर शुक्रबार प्रदर्शन गर्‍यो । रंगमञ्‍चप्रति मानिसहरूको आकर्षण, प्रभाव र गाउँ बस्तीका बुझाईका बारेमा समेटिएका अनेकौ भोगाइ डकुमेन्ट्रीमा छन् ।

शुक्रबार शिल्पीले गोठाले नाटकघरमा झण्डै एक घण्टाको डकुमेन्ट्री प्रदर्शन गर्दा हरेक ठाउँमा नाटक देखाएपछिका प्रश्‍नले मानसपटलमा घोचपेच गर्छ । सिमित मान्छेहरूको बोलीमा जवाफ छ । तर कहिल्यै नागरिकले जवाफ पाउँदैनन् । 

पाएपनि रेडिमेड । जसले गाउँ गाउँमा पुगेको सिंहदरबारलाई गिज्याउँछ । नागरिकले आधारभुत आवश्यकता परिपूर्ति हुने अपेक्षा गर्छन् । तर ती प्रश्‍नहरू प्रश्‍नमै सिमित । कतिसम्म भने कर्णालीका अनेक दुःख र वास्तविकलाई देखाइएको नाटक हेर्न निमन्त्रण दिँदा पनि गाउँका सिंहदरबारले बेवास्ता गर्छन् । 

घिमिरे युवराजका पट्यारलाग्दो शब्दमा उनीहरुले रंगमञ्‍चलाई बुझ्‍नै चाहेनन् । ए नाटक पो ! मैले भ्याउदिन । जस्ता उत्तरबाट घिमिरे धेरैपटक अवाक भए । त्यसपछि उनले कर्णाली र मधेसका नागरिकलाई मात्रै केन्द्रित गरेर कचहरी नाटक प्रस्तुत गरे । गाउँका सिंहदरबारका शासकलाई बिन्ती बिसाउन छाडे । 

शुक्रबार शिल्पीको शान्त दर्शकसामु उनले यस्ता अनेक संघर्षका कथा सुनाए । जसलाई सुनाउनैपर्ने थियो । बुझाउनैपर्ने थियो । नाटकमार्फत चेत खुलाउनु थियो । नागरिकले त हेरे । देखे । बुझे । आफुले सक्दो परिवर्तन र बुझाई फराकिलो बनाए । तर शासकहरूले वास्ता गरेनन् ।

केही दृश्यमा प्रहरी प्रशासनका व्यक्ति देखिए । तर पनि रुखो र औपचारिकताका लागि । केही प्रहरी उत्तरदायी देखिन्छन् । जो आफू उपल्लो दर्जाको मानिस सम्झेर सेवाग्राहीलाई ‘तिमी’ भनेर सम्बोधन गर्छन् । उनीहरूबाट सम्मानजनक सेवाको आश के गर्नु र ?  

समग्रमा कचहरी नाटक कर्णालीका दुःखहरुको कोलाज हो । जसले मधेसको समस्यालाई पनि नजिकबाट देखायो । कर्णालीको कचकचलाई पर्याय बनाएको नाटकमा अनगिन्ती प्रश्‍न छन् । तर जवाफ दिने निकाय मौन । 

अनि कर्णाली र मधेसी नागरिक जहिल्यै नाटकका पात्र जस्ता मात्रै रहे । जो वास्तविकतामा मान्छे भएपनि विभेदले थिचिरहे । जसलाई कचहरी नाटकले नजिकबाट नियालेको छ । तर जवाफ खोज्‍ने प्रश्‍नका साथमा । के ती प्रश्‍नका जवाफहरु साच्चै भेटिन्छन् ? नागरिक दायित्व पूरा गर्ने गरी जवाफ कसले खोज्‍ने ? कचरी नाटकको डकुमेन्ट्री मात्रै हेरेपनि यो प्रश्‍न पेचिलो छ । 


Author

थप समाचार
x