कला

प्रकृति र अमरको हातबाट खोलियो सुरेशको ‘रहर’

इकागज |
फागुन १५, २०७७ शनिबार १८:९ बजे

काठमाडौं :  लेखक सुरेश बडालको नयाँ कृति ‘रहर’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित एक विशेष समारोहमार्फत पुस्तक लोकार्पण गरिएको हो ।

कार्यक्रममा लेखक अमर न्यौपानेले जतिसकै नाम र दाम कमाए पनि बाल्यकाल जस्तो मीठो जीवन अरू नहुने बताए । बाल्यकाल जतिसुकै अभावमा होस्, त्यो अति प्रिय हुने उनको भनाइ थियो।


‘रहरमा धेरैजसो कथा बाल्यकालका यस्तै मीठा र अबोध मनोविज्ञानले भरिएका छन्,’ उनले भने,‘सेतो कागज जस्तो जीवनमा भर्खर केही लेखिँदै गर्दाका घटनाहरू, भर्खर पलाउँदै गरेको पालुवामा केही रङ भरिँदै गर्दाका ऋतुहरूले थाहै नपाउनेगरी जीवनमा कसरी उतारचढाव ल्याइदिन्छन् भन्ने अनेक घटना कथाहरुमा छन् ।’

पुस्तकमा बाल्यकालबाट किशोरकाल र किशोरकालबाट यौवनकालमा प्रवेश गर्दाका घटना सूक्ष्म तरिकाले लेखिएको उनको भनाइ थियो। ‘केही कथा किशोरकालका ससाना घटना र सूक्ष्म भोगाइहरूले भरिएका छन् । सङ्ग्रहमा भएको एउटा राजनीतिक विषयको कथा सिनेमाको अतिथि कलाकार जस्तो लाग्छ,’न्यौपानेले भने, ‘लालित्यपूर्ण शैली, गतिशील भाषिक प्रवाह र पात्रको अन्तर्मनको चित्रणले कथाहरू पढूँपढूँ लाग्छन् ।’

कार्यक्रममा पोलिटिकल लिटरेसी फर वुमनकी अध्यक्ष प्रकृति भट्टराई बस्नेतले हरेक जीवन सामान्य रहे पनि हरेक व्यक्तिलाई आफ्नो जीवन अनि भोगाइ असामान्य लाग्ने बताइन् । ‘रहर पढ्दा महसुस हुन्छ, यी सबै कथामा म छु अनि मेरा अनुभव पनि छन्,’ उनले भनिन्, ‘मैले असामान्य मानेका मेरा भोगाइ मैले मात्र भोगेकी होइन रहेछु । मैले सोचेका असामान्य घटना सामान्य रहेनछन् ।’

बडालले आफ्नो कथा सङ्ग्रहमा सामान्य जीवनका तिनै कथालाई मीठो गरी पस्केको उनको भनाइ छ । आफ्नो पुस्ताले यो कथासङ्ग्रहका हरेक कथामा आफूलाई पाउने उनको दाबी थियो । ‘रहरले जीवनका विभिन्न कालखण्डमा आफूलाई लागेका रहरहरूलाई सम्झाइदिनेछ,’ उनले भनिन् ।

नेपालमा लेखक अत्यन्त कम रहेको र त्यसमा पनि राम्रो लेख्नेहरू झनै कम रहेको फाइनप्रिन्टका अजित बरालले बताए । ‘त्यसैले हामी सधैं प्रतिभावान् लेखक आगमनको प्रतीक्षामा हुन्छौं । जब सुरेश बादलको पाण्डुलिपि हाम्रो हातपर्यो,’ उनले भने, ‘त्यति बेला लाग्यो, हामीले प्रतीक्षा गरेको नयाँ प्रतिभाको आगमन भएको छ । बडालका कथा खाना खाएपछि मुख मिठ्याउन लिइने ‘डिर्जट’ जस्ता छन्— पाठकका स्वादमा बस्ने । मलाई लाग्छ, उनले आफ्नो पहिलो कृतिमार्फत नै पाठकलाई मोहित पार्नेछन् ।’

सानैदेखि पढ्न मन पराउने, पढेका कुरा जस्तैगरी आफूले अनुभूत गरेका कुराहरू लेख्न मन पराउने बानीले आफूलाई साहित्यतर्फ आकर्षित गरेको लेखक बडालले बताए । ‘मेरा लागि यो पहिलो पुस्तक विमोचन सपनाको सोपानको पहिलो खुट्किलो हो,’ उनले भने ।

अरु पढैयाहरू झैं आफ्नो बाल्यकाल पनि खाजा खान दिइएको पैसा पुस्तक र बालपत्रिकामा खर्च गरेर बितेको उनले सुनाए । ‘कतै भेटेका किताब जम्मा गरेर घरमा थुपार्दै बित्यो । अध्ययन अध्यापन फरक विषयमा हुँदै गर्दा पनि साहित्यले कसिलो गरी अँगालिरह्यो,’ उनले भने, ‘यो यस्तो कसिलो प्रेम रहेछ कि मैले कसैगरी यसबाट आफूलाई पर राख्नै सकिनँ ।’

पुस्तकमा आफूले चारपाँच वर्षदेखि लेखेका केही चुनिएका कथा समावेश गरेको उनले बताए । ‘प्रकाशनका हिसाबले यो मेरो पहिलो प्रयास हो । यसमा पक्कै कमीकमजोरी छन्,’ उनले आग्रह गरे, ‘यहाँहरूबाट रचनात्मक सुझाव पाए आफूलाई परिष्कृत गर्दै लैजानेछु ।’

ससाना रहरहरूको खुत्रुके बनेर आएको यो पुस्तकमा बडालले केही आफ्नै भोगाइ र केही अवलोकन गरेका यथार्थ घटनालाई कथानक बनाएका छन् । उनले कहीँ आफैंलाई पात्र बनाएर उभ्याएका छन् भने कहीँ यथार्थ पात्रहरूलाई कल्पनाशीलताको बुकुवा घसेर चिटिक्क पारेका छन् । पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।

 


Author

थप समाचार
x