कला

एक अर्कासँग माफी मागरे सकियो अरुण प्रधान र पल शाहको विवाद

इकागज |
फागुन १६, २०७७ आइतबार १२:२२ बजे

काठमाडौं : निर्देशक अरुण प्रधान र अभिनेता पल शाहबीच धरानमा परेको विवाद मिलापत्रमा सकिएको छ । दुवै पक्षले आआफ्नो कमीकमजोरी स्वीकार गरेपछि धरान प्रहरीको रोहबरमा विवाद सल्टिएको हो । इकागजसँग कुरा गर्दै अरुण प्रधानले दुवै पक्षले पहिले गरेको गल्तीमा माफी मागेपछि मिलापत्र भएको जानकारी गराए ।
‘पलजी हाम्रो पाहुना हो । हाम्रो तर्फबाट पनि अन्जानमा केही भएको छ भने सरी भन्यौं उहाँहरूले पनि आफूबाट गल्ती भएको स्वीकार गर्नुभयो । आफू आफूमा विवाद गरेर बस्नु राम्रो होइन भन्ने लागे पछि सहमतिमा गएका हौं,’ अरुणले इकागजसँग भने । 

म्युजिक भिडियोमा अभिनय गर्न धरान पुगेका पल शाह र अरुण प्रधानबीच १२ गते साँझ खाना खाने क्रममा विवाद भएको थियो । विवाद बढ्दै गएपछि पल शाहका सहयोगी कृष्ण जोशीले आफूमाथि हातपात गरेको अरुण प्रधानको आरोप थियो । उनले पल शाह र उनका सहयोगीले माफी माग्नु पर्ने अन्यथा एक नं प्रदेशमा उनका चलचित्र चलाउन नदिने घोषणा गरेका थिए ।


अन्ततः १४ गते साँझ दुवै पक्षबीच मिलापत्र भएको थियो । १ नं प्रदेशको चलचित्रकर्मी महासंघको अध्यक्षसमेत रहेका अरुणले आफू जिम्मेवार पदमा रहेकाले पनि विवादलाई धेरै बढाउन नचाहेको उनले बताए ।


Author

थप समाचार
x