कला

के हुँदैछ जनकपुर साहित्य महोत्सवमा ?

इकागज |
फागुन १७, २०७७ सोमबार १५:५० बजे

काठमाडौं : जनकपुर साहित्य महोत्सवको दोस्रो संस्करण बुधबारबाट जनकपुरमा सुरु हुँदैछ । चार दिनसम्म चल्ने महोत्सवमा यो साल पनि विविध विषयमा विभिन्न वक्ताले आफ्नो धारणा राख्नेछन् । कार्यक्रमको पहिलो दिन साहित्य महोत्वसका उद्घाटन मात्र हुनेछ ।  उद्घाटन सत्रमा पूर्व राष्ट्रपति रामवरण यादव, प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले मन्तव्य राख्नेछन् । यो सेसनको मुख्य वक्ता भने विनोद चौधरी रहनेछन् । 

दोस्रो दिनदेखि भने नियमित कार्यक्रम सञ्चालन हुनेछन् । ९ बजेदेखि सुरु भएर  साँझ ७ बजेसम्म चल्ने सत्रको दोस्रो दिनको पहिलो सत्रमा सिके लाल, प्रदिप गिरि, राजेन्द्र बिमलले ‘जानकी मन्थन’ शीर्षकमा आशा प्रभातसँग छलफल गर्नेछिन् भने सोही दिनको अन्तिम सत्रमा कान्तिपुरका सम्पादक सुधिर शर्माले कांग्रेस नेता विमलेन्द्र निधिसँग ‘राजनीतिको राग : कहाँदेखि कहाँसम्म’ शीर्षकमा छलफल चलाउनेछन् । बीचमा भने साहित्य र प्रविधि, जनकपुर भ्रमण, साहित्यको सीमाञ्चल र किताब : वर्णदेखि वस्तुसम्म आदि विषयमा छलफल हुनेछन् । 


तेस्रो दिनको सुरुवात भने ‘मैथिल मिठास’ शीर्षकको कार्यक्रमबाट हुनेछ । बद्रीनाथ झाले सञ्चालन गर्ने यो सत्रमा डा कुलप्रसाद कोइराला, करुणा झा र परमेश्वर कापडीले बहस गर्नेछन् । बिहानीको थप दुई सत्रमा भने ‘मेरो नगरको कथा’ र ‘वैदेहीहरू’शीर्षकमा छलफल चल्नेछ ।

सोही दिनको दिवा सत्रमा ‘मुखियाको मर्म’ शीर्षकमा दिलभुषण पाठक लालबाबु राउतसँग गफिनेछन् भने ‘भविष्यको राजनीति : राजनीतिको भविष्य’ शीर्षकमा गगन थापा, रवीन्द्र मिश्र र तुला नारायण शाह मनिष झासँग गफिनेछन् । त्यसैगरि, ‘स्वतन्त्र समाज र दर्शन’ मा हरि शर्मा रोशन जनकपुरीसँग  अमित ढकालले छलफल चलाउनेछन् ।

तेस्रो दिनको अन्तिम सत्रमा लेनिन बन्जाडे बुद्धिसागर, विप्लव प्रतीक, रामनारायण ठाकुरसँग ‘साहित्य र व्यंग्य विनोद’शीर्षकमा कार्यक्रम चलाउँछन् । 
कार्यक्रमको चौथो तथा अन्तिम दिनको पहिलो सत्रमा ‘कसले देला सुशासन’ शीर्षकमा सुशीला कार्की, हरिबहादुर थापा र दीपेन्द्र झासँग दीपेन्द्र चौंलागाइँ बहस गर्नेछन् भने ‘सिनेमाको रंग’ शीर्षकमा मनीषा कोइराला, राजेश हमाल र रविन्द्र झासँग अनुप बरालले बहस गर्नेछन् । 

दिवा सत्रमा केदार शर्माले ‘सम्पादनको सकस’ शीर्षकमा बसन्त बस्नेत र रामभरोस कापडी, ‘देश\मधेश : गन्थन\मन्थन’ शीर्षकमा सिके लाल र सुजित महत, ‘विदेशको यात्रा : आश कि लाश’ शीर्षकमा सुरेन्द्र लाव, सरला गौतम, जनकराज सापकोटा र श्यामसुन्दर शशीसँग छलफल गर्नेछन् ।

सोही दिनका अन्तिम दुई सेसनमा भने भुषण दाहाल, दिलभुषण पाठक, आरती चटौत र नवराज लम्साल रुपेश श्रेष्ठसँग छलफलमा सहभागी हुनेछन् भने कविता सत्रमा दर्शकले विप्लव प्रतीक, इम्तियाज वफा, मनिष झा, रुपेश श्रेष्ठ, मिताली भारद्धाज, पुनम झा मैथिलले कविता सुनाउनेछन् । घनश्याम मिश्रले यो सत्र सञ्चालन गर्नेछन् । यो दिनको अन्तिम सत्रमा दिल भुषण पाठकले आफ्ना कुरा राख्नेछन् ।  फेस्टिभल फागुनको १९ देखि २२ गतेसम्म जनकपुरका विभिन्न स्थानमा चल्नेछ । 


Author

थप समाचार
x