कला

‘अक्‌वामेन २’बाट आउट भएकी छैनन् एम्बर

इकागज |
फागुन १८, २०७७ मंगलबार १२:१५ बजे

लसएन्जल्स :  पूर्व पति जोनी डेपसँगको विवादका कारण अभिनेत्री एम्बर हर्डले मार्भल सुपरहिरो फिल्म ‘अक्वामेन २’बाट हात धुनु परेको समाचार आएका थिए । विवादास्पद हिरोइनलाई फिल्ममा राख्दा दर्शक भड्किने डरले निर्माताले उनलाई ‘अक्वामेन’को दोस्रो भागमा नराख्ने वा राखे पनि अतिथि भूमिका मात्र दिन लागेको खबर बाहिरिएका थिए ।

तर, स्क्रिनरान्टले अहिले पनि एम्बर हर्ड ‘अक्वामेन २’को मुख्य भूमिकामा यथावत रहेको खबर छापेको छ ।  गत हप्ता पनि मार्भलले उनलाई फिल्मबाट विदा दिएको समाचार आएका थिए । निर्माताले उनको ठाउँमा ‘गेम अफ थ्रोन्स’ अभिनेत्री एमिलिया क्लार्कलाई लिन लागेको हल्ला चलेको थियो तर स्क्रिनरान्टले यो हल्ला गलत भएको समाचार छापेको छ । 


गत साल पनि यही हल्ला सतहमा आएको थियो । एम्बरले अन्तिम समयतिर आफू फिल्ममा यथावत रहेको जानकारी दिएकी थिइन् ।  जोनी डेप र एम्बर हर्डको मुद्दा अहिले पनि चलिरहेको छ । एम्बरले जोनी डेप विरुद्ध घरेलु हिंसा गरेको आरोप लगाएकी छिन् ।

उता जोनी डेपले भने यो आरोप अस्वीकार गर्दै आएका छन् । यो विवाद चलिरहँदा जोनीले पनि ‘पाइरेट्स अफ दि क्यारेबियन’गुमाएको समाचार आएका थिए । तर, यो खबरको पनि निर्माताले पुष्टि गरेका छैनन् । 
 


Author

थप समाचार
x