कला

‘गोर्खा वारियर’ नबनाउँदै ‘गोर्खा वारियर २’, के यो वर्षासँग सम्बन्ध बिग्रिएको नतिजा हो ?

इकागज |
फागुन १८, २०७७ मंगलबार १६:५५ बजे

काठमाडौं : सामान्यतया पहिला भाग बनाएपछि मात्र दोस्रो भाग बनाइन्छ । तर, मिलन चाम्सले दुनियाँमा नभएको चलन सुरु गर्दै दोस्रो भाग पहिला बनाउने घोषणा गरेका छन् । उनले मंगलबार ‘गोर्खा वारियर २’ बनाउने घोषणा गरेका छन् । उनले ‘लिलीबिली’बाट निकालेकी अभिनेत्री रेबिका गुरुङलाई अभिनेत्रीको रुपमा प्रस्तुत गर्दै दोस्रो भागको घोषणा गरेका हुन् । 

फिल्ममा कविता आले, विजय लामा, बुद्धि तामाङ, रियर राई, शिशिर वाङदेल आदि कलाकारको अभिनय रहनेछ । फिल्मको मुख्य भूमिकामा रितेश चाम्सले डेब्यु गर्ने बताइएको छ । 


नामैले यो गोर्खा लडाकुमाथि बन्ने फिल्म भन्ने स्पष्ट हुन्छ । निर्देशक मिलन चाम्सले पनि कार्यक्रममा गोर्खाको बहादुरीको कथाको बखान गर्दै यही वीरतालाई पर्दामा उतार्ने जमर्को गर्ने बताए । तर, उनले पहिलो भाग नबनाई दोस्रो भाग बनाउने आवश्यकता किन पर्यो बताउन जरुरी ठानेनन् जबकि पहिलो भागको घोषणा मात्र होइन उनले टिजर नै सार्वजनिक गरेका थिए । 

कम्तीमा ६ महिना अघि सार्वजनिक टिजरमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी आदि कलाकारको अभिनय रहने जानकारी गराइएको थियो । यति मात्र होइन मिलन चाम्सले लन्डनका पब्लिक बसमा फिल्मको पोस्टरसमेत टाँसेका थिए ।  

तर, अन्ततः यो फिल्म नबनाइ उनले दोस्रो भागको सुटिङ सुरु गर्ने जनाएका छन् । कार्यक्रममा दिइएको जानकारी अनुसार आउँदो २३ गतेबाट यो फिल्मको सुटिङ सुरु हुँदैछ । 

तर, मिलन चाम्स पहिलो नबनाई दोस्रो भाग बनाउन किन कस्सिए ? धेरैले यसो हुनमा वर्षा सिवाकोटी मुख्य कारण रहेको अनुमान लगाउने गरेका छन् । जतिबेला मिलन चाम्सले यो फिल्मको घोषणा गरे त्यतिबेला  मिलन चाम्स र वर्षाको निकटता गहिरो थियो ।

‘वीर विक्रम २’ यता झाँगिएको सम्बन्ध विवाहवारीसम्म पनि पुग्न लागेको चर्चा थियो । तर, बीचैमा वर्षा अमेरिकातिर लागेपछि दुवैबीचको सम्बन्ध सुमधुर रहेन जुन आजसम्म पनि कायम छ । यता यही समयमा दयाहाङ राईको पनि ‘डेट’ छैन । यही कारण हुनसक्छ मिलन चाम्सले पहिलो भाग नबनाइ दोस्रो भाग बनाउने निर्णय गरेको । 

त्यसो त मिलन चाम्स फिल्म बनाउने घोषणा गर्दै हिड्नमा माहिर मानिन्छन् । कम्तीमा आधा दर्जन फिल्म त उनले घोषणा गरेर बनाएका छैनन् । यसमा ‘बबी २’, ‘ब्याचलर बन्टी’ बाहिर आएका नाम हुन् । यो बाहेक साम्राज्ञीराज्य लक्ष्मी शाहले खेल्ने फिल्म, आँचल शर्माले बनाउने फिल्म पनि छँदैछन् ।  अहिलेलाई कम्तीमा चाम्सले फिल्म बनाउन लागे यसैमा खुशी मानौं ।


Author

थप समाचार
x