कला

बहसमै विवाद र विभेद

जनकपुर साहित्य महोत्सवमा दलित शून्य - भोला पासवान

ढकाल र शर्माले लिए सहभागिता फिर्ता

इकागज |
फागुन १९, २०७७ बुधबार १३:४२ बजे

काठमाडौँ : जनकपुर साहित्य महोत्सव विवादमा परेको छ । बुधबारदेखि जनकपुरमा हुने महोत्सव सुरु नहुँदै विवादमा परेको हो । साहित्य महोत्सवका अधिकांश प्यानलमा पुरुषलाई मात्रै वक्ता बनाएपछि सामाजिक सञ्जालमा आयोजकको आलोचना भएको थियो । 

सबै वक्तालाई काठमाडौँबाटै लिएर बहस गर्न लागेको अर्को आरोप छ । साहित्य महोत्सवमा दलित समूदायको सहभागिता पनि शून्य छ । मुख्य मुख्य बहसमा पुरुषलाई मात्रै वक्ता राखिएपछि विवाद सुरु भएको हो । पत्रकार महिला, लेखक, अभियान्ताहरुले आयोजक र असमावेशी प्यानलमा सहभागि हुने वक्ताहरुको समेत आलोचना गरेपछि साहित्य महोत्सव विवादमा परेको हो ।


सामाजिक सञ्जालमा जनकपुर साहित्य महोत्सव नभई जनकपुर पुरुष महोत्सव भएको टिप्पणी गरिरहेका छन् ।  ट्वीटरमा सम्पदा रिजालले महोत्सवबारे टिप्पणी गर्दै भनेकी छिन् ‘लोकतन्त्रको अनुहार’ । साहित्यकार बुद्धिसागर, कवि विप्लव प्रतीक, पत्रकार लेनिन बन्जाडे र रामनारायण ठाकुर प्यानिलिस्ट रहेको साहित्य र व्यंग्य विनोद शीर्षकको प्यानल भएको महोत्सवले बनाएको फोटो शेयर गर्दै उनले थप अगाडि लेखेकी छिन् , ‘उहाँहरु सबै ‘सबै किसिमका प्रतिगमन’को विरुद्धमा हुनुहुन्छ ।’

उनको ट्वीटमा धेरैले प्रतिक्रिया दिएका छन् । बबिता राईले ट्वीटरमा भनेकी छिन्, ‘महिलाको विषय भए पो महिला वक्ता । दलितको विषय भए पो दलित वक्ता । जनजातिको विषय भए पो जनजाति वक्ता । मधेसीको विषय भए पो मधेसी वक्ता चाहिने हो । त्यसमा पनि फेरि पहिलो पालो त पुरुषकै आउन परिहाल्छ। त्यसबाहेकका जम्मै विषय एक हुल काठमाण्डौँ बस्ने उच्च जातीय पुरुष बौद्धिकहरुको हो ।’

यति धेरै असमावेशी प्यानल बनाएपछि महोत्सवमा सहभागि वक्तामाथि प्रश्न उठेको छ । ट्वीटरमा रमेश अधिकारीले लेखेका छन्, ‘काठमाण्डौँमा समावेशिताको उपदेश दिनेजति सप्पै पुरुष वक्ताले यस्तो बिद्रुप र असमावेशी प्यानलमा आदर्श छाँट्न म आउँदिन भन्ने हिम्मत गर्न पर्ने भयो । लौ हेरम ।’

चर्को आलोचना भएपछि राजनीतिशास्‍त्री हरि शर्मा र पत्रकार अमीत ढकालले महोत्सवमा सहभागि नहुने भन्दै नाम समेत फिर्ता लिएका छन् । ट्वीटरमै बहस हुन थालेपछि लेखक शर्मा र पत्रकार ढकालले नाम फिर्ता लिएका हुन् । उनीहरुले यस्ता असमावेशी प्यानलमा सहभागि नहुने र आगामी दिनमा यस्ता कार्यक्रममा सहभागि हुँदा सोचविचार गर्ने लेखक शर्माले ट्वीटरमा लेखेका छन् ।

दलित समुदायको प्रतिनिधित्व शून्य 

जनकपुर साहित्य महोत्सवमा महिलाको सहभागिता न्युन भएपनि दलित समुदायको प्रतिनिधित्व भने शून्य छ । दर्जन बढी प्यानल राखिएको साहित्य महोत्सवमा एक जना पनि दलित समुदाय नहुँदा दलित समूदायका अभियान्ताले असहमति प्रकट गरेका छन् ।

जबकी प्रदेश २ मा दलित समुदायको जनसंख्या धेरै छ । जो अशिक्षा र गरीबीले सधै पछाडि पारिएका छन् । विभेदले थिचिएको, गरीबीले पिल्सिएको प्रदेशमा बहस गर्दा दलित समूदायको प्रतिनिधित्व नहुनु दुःखद भएको पत्रकार तथा अनुसन्‍धानकर्ता भोला पासवानले बताए ।

‘प्रदेश २ गरीबी, अशिक्षा र विभेदले पिल्सिएको प्रदेश हो । त्यही प्रदेश बहसमुलक साहित्यिक महोत्सव चलाउँदा दलित समूदायको प्रतिनिधित्व शून्य छ’ महोत्सवबारे पासवानको धारणा छ, ‘यस्ता असमावेशी महोत्सवमा दर्शक स्रोता मात्रै भएर जान सकिदैन ।’ मधेसमा व्याप्त विभेद, अशिक्षा, असमावेशी र जातीय अतिवाद जनकपुर साहित्य महोत्सवमा छनौट गरिएका वक्ताहरुमा पनि देखिएको उनले बताए । 

यो साहित्य महोत्सवमा प्रदेश २ सरकारले नै आर्थिक स्रोत व्यवस्थापन गरेको छ । सबैजसो सरकारी बजेटमै साहित्य कार्यक्रम गर्न लागिदा समावेशी नबनाइएको, दलितको सहभागिता शून्य गराइएको छ । यसबाट पनि जनकपुर साहित्य महोत्सव विवादको भूमरीमा परेको छ । 

‘साहित्य महोत्सवमा सबैजसो सरकारी बजेट नै प्रयोग गरिएको छ’ पासवनले थप अगाडि भने, ‘यस्तोमा जवाफदेही हुनुपर्ने बेला, सबै समुदायको सहभागिता देखाउनुपर्ने बेला दलितको प्रतिनिधित्व शून्य गरिएको छ । यो झन् ठूलो विभेद र बहिष्करण हो ।’


Author

थप समाचार
x