कला

गैंडाकोटको हर्कपुरमा दुई दिन ‘फाइनप्रिन्ट फिभर’

इकागज |
फागुन २०, २०७७ बिहीबार १६:२३ बजे

काठमाडौं :  फाइनप्रिन्टले नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा यही फागुन २८ देखि २९ सम्म फाइनप्रिन्ट फिभर आयोजना गर्ने भएको छ ।

फाइनप्रिन्ट फिभरमा २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति रहनेछ  कार्यक्रममा लेखकले आफ्ना पुस्तकका विषयमा चर्चा परिचर्चा गर्नेछन् भने पाठकसँग संवाद एवम् अन्तक्र्रिया पनि गर्नेछन् । कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम पनि हुनेछन् ।


कार्यक्रम अवधिभर विशेष छुटमा पुस्तक प्रदर्शनी रहने आयोजकले जानकारी गराएको छ । ‘यो कार्यक्रमले पाठक एवम् लेखकलाई नजिक्याउनेछ । बौद्धिक बहसको एउटा क्रमलाई निरन्तरता दिनेछ । कोभिडले ल्याएको मानिस मानिसबीचको दूरी हटाउनेछ । भावनात्मक एकता ल्याउन सघाउनेछ,’फाइन प्रिन्टद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।  

यो कार्यक्रम चौधरी फाउन्डेसनसँगको सहकार्यमा हुन लागेको हो । कार्यक्रमका कुनै पनि सत्रमा सहभागिताका लागि शुल्क लाग्नेछैन । फाइनप्रिन्टका अनुसार दुई दिन चल्ने फिभरमा ‘एक ज्यान दुई जुनी’का लेखक देवेन्द्रराज पाण्डे, ‘गुमनाम आमाहरू’को कथाका लेखक डा. बाबुराम भट्टराई, ‘जिजीविषा’की लेखक मनीषा कोइराला, ‘देश देशावर’का लेखक जीवा लामिछाने, ‘पुँजीवाद र स्वतन्त्र समाजका आधारशिला’का अनुवादक मुराहरि पराजुली, ‘क’  लेखक असीम सागर, ‘कबाल्स एन्ड कार्टेल्स’का लेखक राजीव उपाध्याय, ‘बिटविन क्विन्स एन्ड द सिटिज’का लेखक निरञ्जन कुँवर र ‘रहर’का लेखक सुरेश बडालको सहभागिता रहनेछ । यी लेखकका कृतिबारे सत्रहरू सञ्चालन हुनेछन् ।

उक्त अवसरमा रवीन्द्र मिश्रको नयाँ कृति ‘राजनीतिसँगै राजकाज’ पुस्तकमा केन्द्रित रहेर सञ्चारकर्मी रवि लामिछानेले संवाद गर्ने कार्यक्रम पनि छ । कार्यक्रम चितवनको नारायणगढ बजारबाट करिब १२ किमि दूरीमा रहेको नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा हुनेछ ।  


Author

थप समाचार
x