कला

१६ वर्ष पछि अर्को ‘आँधी तूफान’

इकागज |
फागुन २१, २०७७ शुक्रबार ११:५३ बजे

काठमाडौं :  पहिलो ‘आँधी तूफान’ बनेको १६ वर्षपछि यसको दोस्रो भाग बन्ने भएको छ । निर्माण टिमले बिहीबार औपचारिक कार्यक्रम गर्दे दोस्रो भागको घोषणा गरेको हो । तर, पहिलो भागका लेखक तथा निर्माताबाहेक फिल्ममा कोही पनि दोहोरिने छैनन् । 

२०६१ सालमा बनेको फिल्मलाई मौनता श्रेष्ठले लेखेका थिए भने निर्माण पनि उनैले गरेका थिए । फिल्मको निर्देशन भने महेन्द्र बुढाथोकीले गरेका थिए ।  हलिउड फिल्म ‘चार्लिज एन्जल्स’बाट प्रभावित भनिएको फिल्ममा पूजना प्रधान, रञ्जु लामिछाने र ऋचा घिमिरेको अभिनय थियो ।


राजेश ढुंगाना र बिक्रान्त बस्नेत पनि फिल्ममा मुख्य भूमिकामा थिए । तर, यसको शृंखलामा आरती आचार्य, पुनम गौतम र यान्सु श्रेष्ठ मुख्य भूमिकामा देखिने भएका छन् । उनीहरूले यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गर्न लागेका हुन् । मदन घिमिरेले निर्देशन गर्ने फिल्ममा मुख्य नायकमा सञ्जय खतिवडा छन् ।

फिल्ममा मुकुन्द थापा, धुव्र कोइराला, कनिज कोइराला, पुस्कर राउत, सिवन लामा, राजाराम गौतमलगायतको पनि अभिनय रहनेछ । रामशरण उप्रेतीको छायांकन, प्रेम चल्ठेको द्वन्द्व, सुरेश अधिकारीको संगीत, रानी शाक्यको स्वर, कमल राईको कोरियोग्राफी, हरि उप्रेती र दिनेश सुवेदीको गीत लेखन रहने ‘आँधी तुफान २’ नारी प्रधान सस्पेन्स थ्रिलर कथामा बन्ने निर्देशक घिमिरेले बताए ।

‘एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा फिल्मले भन्नेछ । मैले एक्सन र पारिवारिक दुवै प्रकारका सफल फिल्म बनाएको छु । यसपटक एक्सनलाई प्राथमिकता दिएर उत्कृष्ट फिल्म बनाउने प्रयास गर्नेछु,’ घिमिरेले भने । हलिउडले पनि गत साल मात्र ‘चार्लिज एन्जल्स’को रिमेक गरेको थियो । तर, यो फिल्मले राम्रो रिभ्यु पाएको थिएन । 


Author

थप समाचार
x