कला

‘सानो संसार’ पछि पहिलो पल्ट स्क्रिन सेयर गर्दै विनय र नम्रता

इकागज |
फागुन २२, २०७७ शनिबार १४:२१ बजे

तस्बिर : नम्रताको फेसबुक

काठमाडौं : नम्रता श्रेष्ठ र विनय श्रेष्ठले पहिलो पल्ट ‘सानो संसार’मा सँगै काम गरेका थिए । नम्रता र विनय दुवैको यो पहिलो फिल्म थियो । त्यसयता अभिनयको यात्रामा आआफ्नो बाटो लागेका नम्रता र विनय लामो समयपछि एउटै फिल्ममा देखिन लागेका छन् ।

राजिव गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा नम्रता र विनयले सँगै स्क्रिन सेयर गर्न लागेका हुन् । हाल यो फिल्मको प्रिप्रडक्सनको काम भइरहेको छ । फिल्मको ना मभने बाहिरिसकेको छैन । 


विनय र राजिव यतिबेला फिल्मको लोकेसन हेर्न सिक्किम पुगेका छन् । सिक्किम सरकारले विनय र राजिवसँगै प्रडक्सन म्यानेजर तथा कलाकार अरुण रेग्मीलाई स्वागत गरेको जानकारी गराउँदै उनीहरूले फिल्मको ५० प्रतिशत सुटिङ गर्ने प्रस्ताव राखेको जानकारी गराएका छन् ।

सिक्किमको चलचित्र विकास बोर्डकी अध्यक्ष पूजा शर्माले तीनै जनालाई स्वागत गर्दै सक्दो सहयोग गर्ने आश्वासन दिएकी छिन् । सिक्किमको लोकेसनमा सुटिङ गर्ने विदेशी फिल्मलाई सिक्किम सरकारले अनुदान दिने गरेको छ । यही लोभमा धेरै नेपाली फिल्मकर्मी सिक्किम पुग्ने गरेका छन् । 

म्युजिक भिडियो निर्देशक राजिव गुरुङको यो डेब्यु फिल्म हो । उनले यसअघि पनि नम्रता र कोशिस क्षेत्रीलाई लिएर फिल्म बनाउने चर्चा थियो तर त्यो फिल्म बन्न सकेको थिएन ।विनय पछिल्लो समयमा ‘रोमियो एन्ड मुना’मा देखिएका थिए भने नम्रता ‘जाइरा’मा देखिएकी थिइन् । दुवै आआफ्नो फिल्मका निर्माता पनि थिए । 
 


Author

थप समाचार
x