कला

बहसमा ‘जेन्डर न्युट्रल’ अवार्ड, बर्लिनले सुरु गर्यो, अस्करले पछ्याउला ?

इकागज |
फागुन २२, २०७७ शनिबार १७:१६ बजे

बर्लिनमा अभिनय तर्फ गोल्डेन बियर जितेको फिल्ममा ‘आइएम योर मेन’को एक दृश्यमा मरेन इगर्ट

जर्मन : शुक्रबार साँझ बर्लिन फिल्म फेस्टिभलको ७१ औं संस्करण सकियो । ५ दिन लामो फेस्टिभल पहिलो पल्ट भर्चुअल रुपमा सम्पन्न भयो । न दर्शकले हलमा भेला भएर फिल्म हेर्न पाए न जुरीले । सबैले घर बसेर नै फेस्टिभललाई सफल बनाए ।

तर, यो पालिको बर्लिन भर्चुअल भएर मात्र ऐतिहासिक बनेन, यसले अवार्डको विधामा गरेको प्रयोगले पनि यसलाई ऐतिहासिक बनाएको छ । यो प्रयोग थियो, जेन्डर न्युट्रल अवार्ड बाँड्ने चलनको सुरुवात ।


बर्लिनले पहिलो पल्ट उत्कृष्ट अभिनेता र अभिनेत्रीको छुट्टाछुट्टै विधालाई एकै ठाउँमा राखेर मुख्य कलाकारको अवार्ड बाँडेको थियो । यही व्यवस्था सहायक कलाकारमा पनि थियो । बर्लिनको परिवर्तिन नियम अनुसार जर्मन अभिनेत्री मरेन इगर्टले पहिलो पल्ट ‘जेन्डर न्युट्रल’ अवार्ड पाइन् ।

उनले यो अवार्ड साइफाइ ड्रामा ‘आइ एम योर मेन’मा गरेको अभिनयका कारण पाएकी थिइन् । फिल्ममा इगर्ट यस्तो वैज्ञानिक बनेकी छिन् जो तीन हप्ताका लागि मानवीय गुण भएको रोबोटको शरीरमा बस्छिन् । 

हुन त बर्लिनले फेस्टिभलको नयाँ संस्करण घोषणा गर्दा नै आफूहरूले अभिनयको विधामा आइन्दा ‘जेन्डर न्युट्रल’ अवार्ड दिने घोषणा गरेको थियो । तर, अहिले वितरण भइसकेपछि यसको गुण दोषलाई लिएर चर्चा सुरु भएको छ । 

केहीले यसलाई राम्रो सुरुवात मानेका छन् भने केहीले भने यसले अभिनेत्रीको अवार्ड जित्ने सम्भावनालाई खुम्च्याउने तर्क गरेका छन् । बर्लिनले चाल्न लागेको कदमको समाचार आउने बित्तिकै अभिनेत्री एम्मा वाटसन र टिल्डा स्विन्टनले यसको स्वागत गरेका थिए । 

गत सेप्टेम्बरमा भएको भेनिस फिल्म फेस्टिभलमा बोल्दै टिल्डा स्विन्टनले महिला र पुरुष भनेर छुट्याएर अवार्ड दिने परम्परा बासी र आउटडेटेड भएको बताएकी थिइन् । बर्लिनको निर्णयलाई स्वागत गर्दै उनले भनेकी थिइन्, ‘ यो त हुनु नै थियो । हरकोहीले यसको अनुसरण गर्नुपर्छ ।’

‘यो शैलीले महिला र पुरुषलाई मात्र होइन, जात र वर्गलाई पनि विभाजन गरिरहेको थियो । बेकारको प्रचलन थियो यो,’ उनले भनेकी थिइन् ।  सोही अवसरमा केट ब्लाचेन्टले पनि आफूलाई अभिनेत्री भनाउनभन्दा कलाकार मात्र भनाउन खुशी लाग्ने बताएकी थिइन् । 

सन् २०१७ मा एम्मा वाटसनले एमटिभीमा पहिलो पल्ट ‘जेन्डर न्युट्रल’ अवार्ड पाएकी थिइन् । उनले हरकोही कलाकारले अरु कसैको जीवन बाँच्ने भएकाले यसका लागि महिला र पुरुष भनेर बेग्लाबेग्लै विधा नचाहिने बताएकी थिइन् । सोही अवसरमा उनले आफूले पाएको अवार्ड जीवनकै ‘विशेष’ अवार्ड भएको बताएकी थिइन् । 

बीबीसीका मनोरञ्जन पत्रकार स्टिभन म्याकन्टोसले भने अस्करको मुखमा सुरु भएको यो छलफल सोचे झै सिधा नभएको बताएका छन् । उनले महिला र पुरुषलाई एकै विधामा राखेर प्रतिस्पर्धा गराउने चलनको हलिउडमा खाई खेली थाकेको कलाकारले स्वागत गर्ने भए पनि संघर्ष गरिरहेका कलाकारका लागि भने सुखद नभएको बताएका छन् ।

उनले गत साल अस्करमा विजेता बनेका ज्याक्विन फोनिक्स र रेने जेलवेगरको उदाहरण दिँदै भनेका छन्, ‘ मानौं अस्करमा ज्याक्विन र रेने भिडिरहेका थिए । ज्याक्विनले जिते । रेने खाली हात हुने थिइन् । तर, रेने पनि अवार्डको उत्तिकै हकदार थिइन् ।’ 

स्टिभन म्याकन्टोसले ‘जेन्डर न्युट्रल’अवधारणाले ट्रान्सजेन्डर र अन्य अल्पसंख्यकलाई भने फाइदा पुग्ने तर्क गरेका छन् । अहिलेको संरचनाले भने उनीहरूलाई अवार्डको प्रतिस्पर्धाका लागि पुरुष वा महिला हुनै पर्ने बाध्यता छ । यो बहसको सजिलो निचोड भने छैन । तर, आगामी दिनमा अस्कर, बाफ्टा, एम्मी वा गोल्डेन ग्लोबले बर्लिनको यो सुरुवातलाई कसरी लिन्छन् त्यसले पनि यो ‘जेन्डर न्युट्रल’ बहसको दिशा तय गर्छ । 
 


Author

थप समाचार
x