अब कहिले रिलिज होलान् महामारी अघिका फिल्म ?
काठमाडौं : एक वर्षअघि कोरोना भाइरसले हल बन्द गर्न बाध्य पार्नुअघि कम्ती दर्जन फिल्मले प्रदर्शन मिति घोषणा गरेका थिए । सरकारले महामारीका कारण हल बन्द गर्ने निर्णय गर्नु अघि ‘म यस्तो गीत गाउँछु २’, ‘नीरफूल’, ‘चपली हाइट ३’ ‘प्रेमगीत ३’, हिजो आजका कुरा’, ‘चिसो एस्ट्रे’ आदि फिल्मले प्रदर्शन हुने मिति घोषणा गरिसकेका थिए ।
महामारीका कारण हल नै नखुलेपछि फिल्म रिलिज हुने कुरै भएन । तर, अनौपचारिक रुपमा हल खुलेको तीन महिना र औपचारिक रुपमा हल खुलेकै दुई महिना बित्न लागेको छ तर महामारी अघि रिलिज हुन तयार रहेका फिल्मले प्रदर्शन मिति जुटाउने हिम्मत गर्न सकेका छैनन् ।
फिल्म ‘नीरफूल’का लेखक तथा निर्देशक फूलमान बल आफूहरूको खर्च दोहोरो हुने भएकाले माहोल नबनी प्रदर्शन गर्न गाह्रो भइरहेको बताउँछन् । उनले अरु फिल्म भन्दा पनि आफूहरू मारमा परेको बताए ।‘हामीले फिल्म रिलिज गर्ने भनेर टिजर, ट्रेलरदेखि पोस्टरसम्म छपाइसकेका थियौं । सालाखाला २५ लाख भइसकेको थियो । अब फेरि त्यति नै खर्च पर्नेहुन्छ । माहोल नबनी कसरी हिम्मत गर्नु ?’ फूलमानले भने ।
चलचित्र विकास बोर्डले हल खुलेको मितिबाट यो आर्थिक वर्षभित्र रिलिज हुने फिल्मलाई पोस्टर छपाई, भर्चुअल प्रिन्टिङ कस्ट (भीपीसी) चार्ज र प्रचारप्रसारमा ५० प्रतिशसम्म छुट दिने प्याकेज ल्याएको छ । तर, फूलमान बल बोर्डले ल्याएको यो प्याकेजले आफूहरूले कुनै राहत नभएको बताउँछन् ।
‘यो राहत लिन जेठ मसान्तसम्म रिलिज गर्नुपर्ने हुन्छ । तर, त्यो मिति भित्र रिलिज गरेर रिस्क लिने अवस्था छैन,’ उनले भने, ‘रिलिजको मुखमा आएर रोकिएका र लकडाउन पछि बनेका फिल्मलाई एकै डालोमा राखेर व्यवहार गर्दा हामी मर्कामा परेका छौं ।’
फूलमान माहोल अनुकुल भए दसैँसम्ममा फिल्म रिलिज गर्ने मनसायमा छन् । तर, यसको पनि निधो गरिसकेका छैनन् । उनले आफ्नो फिल्ममा लगानीकर्ता धेरै भएकाले सबैसँग सल्लाह गरेर मात्र निष्कर्षमा पुग्ने बताएका छन् । फूलमान झैं ‘चपली हाइट ३’का निर्माता अर्जुनकुमार पनि फिल्म कहिले रिलिज गर्ने ? दुविधामा छन् । उनले पनि हलमा दर्शक आउने माहोल हेरेर मात्र फिल्म रिलिजका लागि अगाडि बढ्ने जानकारी गराए ।
‘ महंगो बजेटको फिल्म हो, अहिलेकै अवस्थामा त कसरी आँटनु ?’ उनले दुविधायुक्त स्वरमा भने । अर्जुनकुमार हल खुलेसँगै केही निर्माताले स्क्रिप्ट नै नलेखेको फिल्मको पनि प्रदर्शन मिति तोक्न थालेको देखेका छन् । तर, उनी अरुले के गरेभन्दा पनि आफूलाई अनुकुल हुने हिसाबले काम गर्ने बताउँछन् ।
‘तोक्न त यहाँ सुटिङ त के स्क्रिप्ट नै नलेखेका फिल्मको पनि प्रदर्शन मिति तोक्न थालेका छन् । त्यसो भनेर आत्तिने कुरा छैन । तर, मैले भदौ २५ को मिति हेरिरहेको छु । केही दिनमा टुंगो हुन्छ ।’
‘चपली हाइट ३’ले गत सालको नयाँ वर्षमा प्रदर्शन हुने गरी प्रचारप्रसार थालेको थियो । तर, चैत ११ बाट सरकारले हल बन्द गरेपछि यो फिल्मको प्रदर्शन थाँती रहेको हो । योसँगै प्रदर्शन मिति तोकेको ‘प्रेमगीत ३’ले पनि रिलिजको चाँजोपाँजो मिलाउन सकेको छैन । यो फिल्म हाल भारतमा पनि प्रदर्शन हुने गरी डबिङ भइरहेको चर्चा छ ।
गत साल यही फागुनको ३० गते प्रदर्शन हुनेवाला थियो ‘म यस्तो गीत गाउँछु २’ । तर, महामारीका कारण हल बन्द हुने हल्लापछि यो फिल्म अन्तिम समयमा आएर प्रदर्शनबाट पछि सरेको थियो ।
यो फिल्मले पनि अहिलेसम्म प्रदर्शन हुने साइत जुराउन सकेको छैन । बरु यसका निर्देशक तथा कलाकार पहिला सुटिङ थाँती रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को सुटिङ गर्न दुबई हान्निएका छन् । बजारमा पनि ‘म यस्तो गीत गाउँछु २’ भन्दा पहिले ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शन हुने चर्चा छ । ‘ए मेरो हजुर ४’ भदौ १८ मा नआउँदो हो त यो फिल्म यही मितिमा आउने चर्चा थियो ।
नयाँ वर्ष, दसैँतिहार, होली, शिवरात्री नेपाली फिल्म निर्माताले हत्ते गर्ने मिति हुन् । यसमा पनि दसैँतिहार र नयाँ वर्षमा आफ्नो फिल्म रिलिज गर्न निर्माताबीच मारामार हुन्छ । यो साल दसैँतिहार बलिउडका ठूला फिल्मले रोजे पछि नेपाली निर्मातालाई सकस परेको छ ।
दसैँमा यो साल ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ र अजय देवगनको ‘मैदान’ ले प्रदर्शन घोषणा गरेका छन् भने तिहारमा अक्षयकुमारको ‘पृथ्वीराज’ र शाहिद कपुरको ‘जर्सी’ प्रदर्शन हुँदैछन् ।
दसैँतिहार बलिउडका फिल्मले ओगटेपछि तीजदेखि दसैँअघिको मितिसम्म नेपाली निर्माताबीच फिल्म रिलिजका लागि रस्साकस्सी बढ्ने संकेत आएका छन् । भदौ १८ का लागि नै ‘ए मेरो हजुर ४’ र ‘आइएम ट्वान्टी वान’ भिड्ने संकेतले पनि यो सालको रिलिज क्यालेन्डर रोचक हुने अनुमान गर्न सकिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया