कला

फिल्म बनाउन सिक्दै स्कुले विद्यार्थी

इकागज |
चैत १, २०७७ आइतबार ११:३ बजे

काठमाडौं :  राराहिलस्थित थिएटर मल कीर्तिपुर रंगमञ्च पुग्दा केही स्कुले विद्यार्थीहरू कोही चउरमा, कोही थिएटर प्रवेश गर्ने खुड्किलामा, कोही नजिकैको खेतमा त कोही थिएटर भित्र आ्आफ्नो समूहमा थिए ।

उनीहरूमध्ये केहीले अभिनय गरिरहेका रहेका थिए भने समूहका एकले मोबाइल क्यामेराले साथीको अभिनयको दृश्यलाई खिचिरहेका थिए । अर्को साथी भने हातमा उनलाई कापीमा कोरेका चित्रहरू (स्टोरी बोर्ड) देखाइरहेका थिए । त्यस्तै अर्को एक विद्यार्थी भने एक्सन–कट भनिरहेका थिए । वास्तवमा उनीहरू त्यहाँ फिल्म बनाउने अभ्यास गरिरहेका थिए । 


उनीहरु थिएटर मल कीर्तिपुर रङ्गमञ्चमा लियो क्लव अफ काठमाडौं विशालबजारले आयोजना गरेको ‘फिल्म मेकिङ वर्कसप’मा जुटेका हुन् । बालबालिकाका लागि आयोजना गरिएका सो कार्यशालामा ग्रीन पीस एकेडेमीका विद्यार्थीहरू सहभागी थिए ।

दुई दिने कार्यशालामा फिल्मका अत्यन्त आधारभूत कुराहरु सिक्दै, बुझ्दै उनीहरू त्यसलाई अभ्यास गर्दा रमाइरहेका देखिन्थे । प्रशिक्षकहरूले निश्चित गरिदिएका निकै थोरै सटमा ३० देखि ४५ सेकेन्डमा कथात्मक भिडियो बनाएका उनीहरूले दोस्रो दिन भने त्यसमा आएको प्रतिक्रियालाई लिएर परिमार्जन गर्ने प्रयत्नमा थिए । 

दोस्रो दिन उनीहरूले अघिल्लो दिनकोभन्दा दोब्बर सटमा कथा भन्न पाउने थिए । अनि प्रशिक्षकहरूले उनीहरूलाई कथात्मक तवरमा २ मिनेटसम्मको छोटा फिल्म बनाउन भनेका थिए, त्यो पनि तीन घण्टाभित्रमा । सोही अनुरुप उनीहरूको दौडधुप राम्रै देखिन्थ्यो । 

पहिला उनीहरुले कथा बुने अनि त्यस कथालाई दृश्यमा भन्नका लागि के के खिच्ने, कुन कुन सटमा खिच्ने भनेर तय गरे । त्यसलाई स्टोरीबोर्ड बनाएर स्केचमा पनि उतारे । त्यसपछि सुटिङ गर्ने ठाउँ निश्चित गरेर सुटिङमा एक्सन–कट गरे । त्यसरी खिचिएको फुटेजलाई समूहले नै सम्पादन गरे, केहीले त ब्याकग्राउन्ड म्युजिकसमेत राख्न भ्याए ।

तीनघण्टाभित्रमा बनेका ती छोटा फिल्महरूलाई थिएटर हलभित्र सामूहिक रुपमा हेरे । आफैँ रमाए ताली बजाए । हामी यो दृश्य देखिरहेका पनि एक खालको अचम्मित थियौं कि दुई दिनकै कार्यशालामा यी बालबालिकाले यस्तो सिर्जना गर्न सके ।

प्रशिक्षकहरु शिव पुरी (सम्पादक, निर्देशक), किशोर आचार्य (साउण्ड डिजाइनर) र केदार श्रेष्ठ (कलाकार, निर्देशक, रङ्गकर्मी) पनि मख्ख थिए । बालबालिकाले छोटो समयमा आफ्नो सिर्जना प्रस्तुत गरेकोमा बधाई दिँदै ताली बजाइरहेका थिए । 

दुई दिनको कार्यशालामा उनीहरूले फिल्मको सामान्य अवधारणागत कुराहरू सिकाएका थिए । ‘हामीले फिल्मभित्रको बन्ने प्रक्रियाका बारेमा बताउँदै सट, सिन, सिक्वेन्सका कुराहरू सरसर्ती भनेका थियौं, विद्यालय स्तरका विद्यार्थीहरूमा कम्तिमा पनि फिल्मको सामान्य प्रोसेसको बारेमा जानकारी भयो भने, उनीहरुले आप्नै पहलबाट भएपनि भविष्यमा विशेषज्ञता हासिल गर्न सक्छन वा आफ्नो रुचिको विषय छनौट गरी राम्रो फिल्ममेकर बन्ने सम्भावन हुन्छ भनेर निर्देशन सँगै सम्पादन र ध्वनिलाई पनि प्राथमिकतामा राखेर कार्यशाला डिजाइन गरेको प्रशिक्षकमध्ये एक शिव पुरीले भने ‘त्यसलाई विभिन्न उदाहरणहरुको भिडियो समेत देखाउँदै सहजीकरण गरेका थियौं ।’

त्यस्तै अर्का प्रशिक्षक किशोर आचार्यले फिल्ममा साउन्डको महत्व र त्यसको प्रयोगबारे कक्षा लिएको बताए । उनले भने, ‘हामीले अभ्यासका क्रममा विना संवाद ध्वनिहरू मात्र प्रयोग गरेर फिल्म बनाउन भनेका थियौं । त्यही अनुरुप यी फिल्म बनेका हुन् ।

एउटा कुनै दृष्यलाई ध्वनिले कसरी फरक पार्न सक्छ, बुझाउन खोजेको कथामा कसरी ध्वनिले अर्कै अर्थ दिन्छ भन्ने जस्ता कुराहरु सामान्य रुपमा बुझाउन सकिएको पनि बताए । आफूले अन्तर्राष्ट्रिय फेस्टिभलमा फिल्म मेकिङमा जिरो नलेज भएको मानिसलाई कसरी फिल्म बुझाउने भनेर सिकेको ज्ञान अहिले काम लागेको पनि थपे । 
दुई दिने कार्यशालामा सहभागी ३५ विद्यार्थीहरुले छुट्टाछुट्टै समूहमा रहेर ५ वटा दुई मिनेटसम्मको विना संवादको छोटा फिल्म बनाएका थिए । फिल्ममा उनीहरूले बालश्रम, अभावका बीच शिक्षाका चाहना र लक्ष्य लगायतका विषय उठान गरेका थिए । 


 कार्यशालालाई अडियो भिडियो इन्डलेस सोलुसन (एभिस), रोल साउण्ड नेपाल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालले सहजीकरण गरेका थिए । यस्ता कार्यशालाहरु अब नियमित हुने प्रशिक्षकहरूले जनाएका छन् । 


Author

थप समाचार
x