कला

१ अर्बमा नेटफ्लिक्सले बनाएको ‘बाहुबली’ रिलिज नहुने , २ अर्बमा नयाँ बनाउने

इकागज |
चैत ३, २०७७ मंगलबार १४:५७ बजे

मुम्बई : एसएस राजामौलीले निर्देशन गरेको ‘बाहुबली’ दुई सिरिजले आश्चर्यजनक कमाइ गरे पछि नेटफ्लिक्सले यही कथामा सिरिज बनाउने घोषणा गरेको थियो । नेटफ्लिक्सले लगानी गर्ने यो सिरिजलाई राजामौलीले पनि निर्माताको रुपमा सघाउने समाचार आएका थिए ।

तर, ताजा जानकारीअनुसार नेटफ्लिक्सले सय करोड लगानी गरेको ‘बाहुबली’ बन्द गरेर दोब्बर लगानीमा नयाँ ‘बाहुबली’ बनाउने निर्णय गरेको छ । ९ भाग खिचिसकेको यो सिरिजलाई थन्क्याएर नेटफ्लिक्सले नयाँ सुटिङका लागि थप बजेट निकासा गर्न लागेको खबर छ । 


सिरिजलाई दुवै भागको प्रिक्वेलको रुपमा निर्माण गरिने जानकारी गराइएको थियो । त्यसैले यसको नाम नै ‘बाहुबली ः बिफोर दिन बिगिनिङ’ राखिएको थियो अर्थात् पहिलो र दोस्रो भागमा महारानीको रुपमा देखिएकी शिव गामिनीको उत्थानको कथा सिरिजमा प्रस्तुत हुने थियो ।

मृनाल ठाकुरले शिव गामिनीको यो भूमिका निर्वाह गरेकी थिइन् र यसको सम्पूर्ण भागको सुटिङ पनि भएको थियो । तर, नेटफ्लिक्सले सिरिज सोचे अनुरुप नबनेको भन्दै यसलाई डब्बा गर्ने निर्णय गरेको हो । 

अब बन्ने ‘बाहुबली’मा नयाँ कलाकार आउँछन् कि पुरानैले फेरि सुटिङ गर्छन्, टुंगो लागिसकेको छैन । तीन सिजनमा बन्ने घोषणा भएको सिरिजलाई देवा कट्टा र प्रवीन सतारुले निर्देशन गरेका थिए । सन् २०१८ मा सुटिङ सुरु गरिएको यो फिल्म २०१९ को फ्रेब्रुअरीमा सकिएको जानकारी आएको थियो ।

फिल्ममा राहुल बोस र अतुल कुलकर्णाी पनि महत्वपूर्ण भूमिकामा रहने जानकारी गराइएको थियो । 


Author

थप समाचार
x