कलाकारले नभ्याउने भएपछि भदौमा सर्यो ‘२ नम्बर’को सुटिङ
काठमाडौं : कलाकारको सेड्युल नमिलेपछि चैतको दोस्रो हप्ताबाट फ्लोरमा निस्कने भनेको फिल्म ‘२ नम्बरी’को सुटिङ तत्काल नहुने भएको छ । निर्देशक दीपेन्द्र लामाले फिल्मको सुटिङ भदौमा गर्ने गरी तत्कालका लागि स्थगित गरेको इकागजलाई जानकारी गराएका छन् ।
निर्देशक लामाले भुटानी हिरोइन उगेन छोदेनको नेपाल आउने सम्भावना अनिश्चित बनेकाले फ्लोरमा निस्कन गाह्रो भएको बताए ।‘नेपालले भुटानीलाई अराइभल भिसा दिन्थ्यो । कोरोना भाइरसका कारण बन्द छ । भुटानबाट दिल्ली गएर बल्ल नेपाल आउन मिल्छ तर भुटानबाट दिल्ली जान पनि महिनामा एउटा दुइटा भन्दा फ्लाइट छैन,’ लामाले भने, ‘ उगेनलाई कुर्दा अरु साथीको सेड्युल बिग्रने भएकाले तत्काललाई सुटिङ रोक्नु नै जाति लाग्यो ।’
उगेनका कारण मात्र होइन निर्माण टिमलाई दयाहाङ राईको सेड्युल मिलाउन पनि धौधौ परिरहेको थियो । दया चैत र वैशाखको बीचमा मात्र ‘बिहे पास’, ‘२ नम्बरी’ र ‘कबड्डी ४’ बीचको सेड्युल मिलाउन नसकेर हैरान थिए । यदि ‘२ नम्बरी’ फ्लोरमा गएको भए दयाले ‘बिहे पास’ छाड्न पर्ने अवस्था थियो ।
किनकि ‘बिहे पास’ले पनि चैतको दोस्रो हप्तादेखि नै फ्लोरमा जाने घोषणा गरेको थियो । उता दयाले वैशाखको दोस्रो हप्तादेखि ‘कबड्डी ४’लाई समय दिएका छन् । गत वर्षको चैतमा नै सुटिङमा गएको फिल्म महामारीका कारण १० दिन सुटिङ गरेर बीचैबाट फर्र्किएको थियो । फिल्ममा दया र उगेनसँगै पल शाह, वर्षा राउत, बुद्धि तामाङ, जयनन्द लामा आदि कलाकारको अभिनय छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया