कला

अनमोलसँग भिड्ने पूजाको घोषणा, प्रचारको लोभ कि ‘आइ एम ट्वान्टी वान’ भगाउने रणनीति

इकागज |
चैत ५, २०७७ बिहीबार १३:९ बजे

काठमाडौं : २ वर्ष देखि थन्किएको ‘सम्हालिन्छ कहिले मन’ले दुबईमा बल्ल बल्ल सुटिङ सकायो । त्यहीँबाट निर्देशकले फिल्म रिलिजको घोषणा पनि गरे । निर्देशक थापाका अनुसार यो फिल्म अब भदौ १८ मा प्रदर्शनमा आउनेछ । तर, रोचक के हो भने यही मितिमा अनमोल केसी अभिनित ‘ए मेरो हजुर ४’ ले सार्वजनिक हुने घोषणा गरिसकेको छ भने धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका रहेको ‘आइ एम ट्वान्टी वान’ ले यही मितिमा प्रदर्शन हुने घोषणा गरेको छ ।

‘ए मेरो हजुर ४’ले झैं यसले पोस्टर नै सार्वजनिक गरेको छैन तर निर्देशक रेनशाबान्तवा राईले ‘ए मेरो हजुर ४’ अगाडि नै आफ्नो फिल्म भदौ १८ मा प्रदर्शन हुने घोषणा गरेकी थिइन् । रमाइलो संयोग के भने रेनेशाले यो सूचना चुहाएको केही समयपछि ‘ए मेरो हजुर ४’ले फिनिसिङ नै नभएको पोस्टर सार्वजनिक गरेर त्यो मितिमा आफ्नो दाबेदारी प्रस्तुत गरेको थियो । तर, दुइटा प्रतीक्षित फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा ‘सम्हालिन्छ कहिले मन’ले त्यही मितिमा आउने घोषणा गरेको छ । धेरैका लागि यो स्वाभाविक घोषणा भने हैन । 


अनमोल केसी नेपाली फिल्म उद्योगका सबैभन्दा व्यवसायिक स्टार हुन् । उनी भएको फिल्म फ्लप हुँदा पनि निर्माताको हातमा दुई तीन करोडको आउँछ । अझ ‘ए मेरो हजुर ४’ अनमोलको करिअरकै सबैभन्दा धेरै कमाउने फिल्मको फ्रेन्चाइज हो । उनको अभिनय रहेको ‘ए मेरो हजुर ३’ले बक्स अफिसमा १० करोड हाराहारीको व्यापार गरेको थियो ।

यो फिल्मले अनमोलसँग प्रतिस्पर्धा गर्न सजिलो छैन भन्ने पनि उदाहरण प्रस्तुत गरेको यो । अनमोलको यो फिल्मसँग सलिनमान बानियाँको ‘यात्रा’ रिलिज भएको थियो तर अनमोलको तुलनामा यो फिल्मले माया लाग्दो व्यापार गरेको थियो । प्रतिस्पर्धी फिल्मको यो हविगत ‘सम्हालिन्छ कहिले मन’ टिमले यति चाँडै बिर्सियो भन्ने  पत्याउन गाह्रै पर्छ । 

नेपालमा फिल्म प्रदर्शनको मिति घोषणा प्रचारको लोभले पनि हुने गरेको छ । दसैँतिहार र नयाँ वर्ष जस्ता मितिमा केही निर्माताहरू यत्तिकै पनि आफ्नो फिल्म रिलिज हुने घोषणा गर्छन् । यसो गर्नेको स्वार्थ हुन्छ समाचारमा सित्तैमा आउने । तर घोषणा गरे पनि ती फिल्म रिलिज हुँदैनन् । 

‘सम्हालिन्छ कहिले मन’को घोषणाले उब्जाएको अर्को प्रश्न हो कतै यो फिल्म ‘आइ एम ट्वान्टी वान’लाई तर्साउन आएको त हैन । ‘ए मेरो हजुर ४’ रिलिज हुने घोषणाका बावजुद ‘आइ एम ट्वान्टी वान’ले मैदान नछाड्ने चर्चा थियो । कतै यसैलाई भगाउन ‘सम्हालिन्छ कहिले मन’ले दुईको ठाउँमा तीन आएको त हैन ? 
 


Author

थप समाचार
x