कला

अस्कर अवार्डको मनोनयनमा किन सधैं गयल छ दक्षिण एसिया ?

सामीप्यराज तिमल्सेना |
चैत ८, २०७७ आइतबार ८:२१ बजे

काठमाडौँ : अमेरिका र चीनबीचको ‘ट्रेड वार’ को एउटा मुख्य बुँदा हो चीनमा हलिउड फिल्मको कोटा बढाउने । धेरै वर्षयता चलिरहेको यो युद्ध कुनै निष्कर्षमा पुग्‍न सकेको छैन । बरु अमेरिकाले चिनियाँको स्वामित्व रहेको टिकटक, साओमी र हुवाई जस्ता कम्पनीका उत्पादनलाई प्रतिबन्ध लगाएपछि यो लडाइँ झन् घनीभूत भएको छ । 

हलिउड मात्र होइन चीनको बजारमा छिर्ने हर कुनै देशको सपना हुन्छ । तर, बजारका लागि दुनियाँलाई कायल बनाउन सक्ने चीन आफैं भने विश्‍व बजारमा दयनीय अवस्थामा छ । यहाँबाट बनेका फिल्मले न अरु देशमा लोभलाग्दो व्यापार गर्छन् न फिल्म फेस्टिभलमा कडा टक्कर दिन्छन् । 


अझ संसारकै सबैभन्दा ठूलो मानिने अस्कर अवार्डमा त चीनको उपस्थिति आजसम्म सहभागितामा मात्र खुम्चिएको छ । अस्कर अवार्डमा सहभागिता जनाउन थालेको ४० वर्ष कटिसक्दा पनि चीनले एउटा पनि अस्कर घर भित्र्याएको छैन । ४० वर्षयता हरेक अस्करको विदेशी भाषाको फिल्मका लागि प्रतिस्पर्धा गरिरहेको चीनले जम्मा  दुई पटक प्रतिस्पर्धाको अन्तिम सूचीमा ठाउँ पाएको छ । 

चीनले सन् १९७९ बाट अस्करमा फिल्म पठाउन सुरु गरेको हो । यो बीचमा चिनिया निर्देशक झाङ यिमाउका दुई फिल्मले मात्र अस्करको अन्तिम सूचीमा स्थान बनाउन सफल भएका थिए ।  यही सालबाट विदेशी भाषाको फिल्मबाट अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा रुपान्तरण भएको यो विधामा उनी निर्देशित ‘जुदाउ’ र ‘हिरो’ मात्र अन्तिम समयसम्म टिकेका थिए । जबकि चीन फिल्म निर्माण गर्ने संख्या, त्यसबाट आर्जन गर्ने पैसा आदि मापदण्डका आधारमा विश्‍वका ठूलो फिल्म उद्योगमा हलिउड र बलिउड पछि तेस्रो नम्बरमा आउँछ ।
 
दक्षिण एसियामा दोस्रो ठूलो जनसंख्या बोकेर बसेको भारत विश्‍वका ठूला फिल्म उद्योगमध्ये दोस्रो नम्बरमा पर्छ । वर्षेनी १५ सय हाराहारी फिल्म बनाउने भारतको पनि विश्‍वका ठूला अवार्डमा चीनको भन्दा गतिलो हालत छैन । ८४ वर्षदेखि अस्करमा सहभागिता जनाउँदै आएको भारतले पनि आजसम्म अस्करको ‘ब्ल्याक लेडी’ घर भित्र्याउन पाएको छैन जबकि भारतले अस्करमा बोहनी गरेको साल नै अन्तिम ९ मा पुगेको थियो । 

महबुब खानको निर्देशनमा बनेको ‘मदर इन्डिया’ अस्करमा भारतबाट सहभागी हुने पहिलो फिल्म थियो र पहिलो पटक नै यो अन्तिम ९ मा पुग्‍न सफल भएको थियो । त्यसयता भने भारतको प्रतिनिधित्व गरेर अस्करमा पुगेका ‘सलाम बाम्बे’ (१९८८) र ‘लगान’ (२००१) अस्करको अन्तिम ९ मा पुग्‍न सफल भएका थिए ।
 
दक्षिण एसियामा भारत र चीनसँगै बंगलादेश, पाकिस्तान, नेपाल, भुटान, माल्दिभ्स र अफगानिस्तान गरी ८ देश छन् । जनसंख्याको हिसाबले मात्र होइन सिनेमा बनाउने संख्याको हिसाबले पनि दक्षिण एसिया राम्रै फिल्म उद्योग भएको क्षेत्रमा पर्छ तर यहाँ बनेका सिनेमाले विश्‍व सिनेमामा भने नाम मात्रको उपस्थिति देखाइरहेका छन् । विश्‍वका अन्य फेस्टिभलहरू कान्स, बर्लिन, टोरन्टो, बुसान आदिमा  यो महादेशका फिल्मले फाट्टफुट्ट प्रगति गरे पनि अस्करमा भने दक्षिण एसिया आजसम्म अवार्ड विहिन छ ।
 
अस्कर अवार्डलाई यहाँ किन यति महत्व दिइएको हो भने अघिल्लो हप्ता अस्करको नयाँ संस्करणको मनोनयन सार्वजनिक भएसँगै यो सालको अस्करको मनोनयन सबैभन्दा अग्रगामी र समावेशी भएको प्रतिक्रिया आएका छन् । एसियाले मात्र ६-६ विधामा मनोनयन पाएको भन्दै हर्कबढाइँ भएको छ । तर, नेपालसमेत पर्ने भूगोल, दक्षिण एसियाको आँखाबाट हेर्दा भने यो उपलब्धिमा खासै खुशी हुनु पर्ने ठाउँ छैन । 

यो सालको एसियाको ‘गर्विलो’ मनोनयनमा कोरियाको वर्चस्व छ । ६ मध्ये ५ विधामा कोरियाको ‘मिनारी’ एक्लै मनोनयनमा छ भने बाँकी रहेको एउटामा हङकङको ‘बेटर डेज’ले मनोनयन पाएको छ । हङकङका डेरेक साङले निर्देशन गरेको यो फिल्म अन्तर्राष्ट्रिय फिचर फिल्म विधाको मनोनयनमा परेको हो ।
 
आजभोलि दक्षिण एसियाका लगभग सबै देशले अस्करमा सिनेमा पठाउँछन् । जसमा भारतबाहेक नेपालले मात्र आजसम्म अन्तिम ९ मा स्थान बनाउन सफल भएको छ । फ्रान्सेली निर्देशक एरिक भ्यालीले नीर शाहसँग मिलेर बनाएको फिल्म ‘क्याराभान’ अस्करको अन्तिम ९ सम्म पुगेको थियो । योबाहेक दक्षिण एसियाका पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, अफगानिस्तानका फिल्मले सहभागी हुने औपचारिकता मात्र पूरा गरिरहेका छन् । 

यी देशबाट अस्करमा गएका कुनै पनि फिल्म अन्तिम प्रतिस्पर्धामा पुग्न सफल भएका छैनन् । अस्करले सन् २००६ अगाडिसम्म ५ वटा फिल्म मात्र सार्वजनिक गर्थ्यो भने त्यसयता ९ फिल्मलाई सर्ट लिस्ट गर्ने गरेको छ । तर, गतसालदेखि अस्करले यही विधाका १५ फिल्म सार्वजनिक गर्दै त्यसबाट ५ हुँदै एउटा विजेता छान्‍ने गरेको छ । 
अस्करमा किन गयल छ दक्षिण एसिया ? 

भोटर संख्या 

विज्ञहरू केही अस्करमा एसियन भोटर कम हुनुलाई यसको मुख्य कारण मान्छन् । एकेडेमी अवार्डको तथ्यांक अनुसार यो साल अस्करको मनोनयनमा परेका फिल्मलाई ९ हजार ३ सय भोटरले भोटिङ गर्छन् । तर, यसरी भोटिङ अधिकार पाएका एसियनको संख्या सालाखाला ५ सय मात्र छ ।
 
सन् २०१४ मा लसएन्जल्स टाइम्सले निकालेको तथ्यांक अनुसार अस्करमा भएका हजार भोटर मध्ये गोराहरूको संख्या ७६ प्रतिशत छ । यसबेला पत्रिकाले भोटिङ अधिकार भएका एसियनको संख्या ०.५ प्रतिशत मात्र रहेको तथ्यांक सार्वजनिक गरेको थियो । 

साँस्कृतिक भिन्‍नता

जसरी हामी एसियनलाई अमेरिकी वा बेलायती फिल्मको संस्कार, संस्कृति र संवेदना बुझ्‍न गाह्रो पर्छ त्यही सकस एसियालाई बुझ्‍ने सवालमा गोराहरूलाई पनि पर्छ । एसियाको संस्कार संस्कृति नबुझी त्यहाँका फिल्म बुझिँदैन र फिल्म नै नबुझेपछि यहाँका फिल्म मन पराउने सम्भावना हुन्न । फिल्म मन नपरेपछि मनोनयनमा पर्ने सम्भावना यत्तिकै असम्भव हुन्छ । अस्करका भोटरहरू एसियनभन्दा ल्याटिन अमेरिकी र युरोपियन फिल्म ज्यादा ‘रिलेट’ गर्छन् । 

आर्ट हैन विधागत फिल्मको सिफारिस

दक्षिण एसिया अस्करको दौडमा पछाडि पर्नुमा धेरै फिल्म पण्डितहरू यहाँबाट अस्करमा पठाइने फिल्मलाई पनि महत्वपूर्ण कारण मान्छन् । विश्लेषकहरूका अनुसार एसियाबाट अस्करमा जाने अधिकांश सिनेमा ‘जन्र वेस’ हुन्छन् । अर्थात् एसियाले प्रतिस्पर्धाका लागि पठाउने सिनेमा आर्ट हाउस नभएर विधागत हुन्छन् । 

अस्करले विदेशी भाषामा बनेको उत्कृष्ट फिल्म छान्दा यस्ता विधागत भन्दा आर्ट हाउस सिनेमालाई प्राथमिकता दिने गरेको छ । गतसाल अन्तर्राष्ट्रिय फिचर फिल्मको विधासँगै उत्कृष्ट फिल्म र निर्देशकको अवार्ड जितेको ‘प्यारासाइट’ मात्र यो प्रचलनको क्रमभंग हो । एक्सन र हरर विधाको हुनुका बावजुद अस्करका भोटरले यो फिल्मलाई उत्कृष्ट मानेका थिए । 

मार्केटिङ मसल

तर, अस्करको राजनीति मार्केटिङमा टिकेको धेरैको अनुमान छ । अस्कर अवार्डको ‘अलगोरिदम’ बुझेका विज्ञहरू सांस्कृतिक भिन्‍नताभन्दा पनि दक्षिण एसियन सिनेमा मार्केटिङको दौडमा पछि पर्ने गरेको बताउँछन् ।
 
जानकारका अनुसार अस्करका भोटरलाई फिल्मप्रति आकर्षित गर्न अमेरिकामा पब्लिसिस्ट खोज्‍ने, डिनर पार्टी आयोजना गर्ने, फिल्म स्क्रिनिङ गर्ने र भोटरको दैलो चाहार्ने आदि काम गर्नुपर्ने र यसका लागि ठूलो रकमको आवश्यकता पर्दछ । युरोपियन र ल्याटिन फिल्मले यो सबै खर्च सरकारबाट वा यस्ता फिल्मको प्रवर्धनका लागि खुलेका फिल्म कमिसनबाट पाउँछन् । ल्याटिन र युरोपियन फिल्मको सवालमा यो सबै खर्च अमेरिकी वितरकले पनि बेहोर्छन् तर दक्षिण एसियाका निर्माताले यो सुविधाको कल्पना गर्नु आकाशको फल ताक्नु बराबर हो ।
 
उदाहरण लागि हेर्ने हो भने अहिले अस्करमा ऐतिहासिक मनोनयन पाएको ‘मिनारी’ राम्रो फिल्म भएर मात्र धेरै विधामा मनोनयनमा परेको हैन, यसको एक जना कार्यकारी निर्माता हलिउडका प्रसिद्ध अभिनेता ब्राड पिट हुन् । त्यसैगरि यसलाई नर्थ अमेरिकाको एउटा वितरण कम्पनीले पनि ‘ब्याकअप’ गरिरहेको छ ।

फिल्ममा हावी राजनीति

दक्षिण एसियाबाट अस्करमा पठाइने फिल्ममा राजनीति पनि प्रशस्त हाबी रहन्छ ।  सरकारी नियन्त्रणमा रहेका अस्कर अन्तर्राष्ट्रिय छनोट समितिले राष्ट्रको प्रतिनिधित्व गर्दा त्यस्ता फिल्म छान्छन् जसले उसबेलाका शासकको शासन प्रणालीमाथि प्रश्‍न नगरोस् । यही कारणले पनि दक्षिण एसियाबाट अस्करमा जाने फिल्म यो राजनीतिको सिकार बन्‍ने गरेका छन् । दक्षिण एसियाका ८ देशमध्ये नेपाल मात्र एक देश हो जहाँको अस्कर छनोट समिति सरकारी नियन्त्रणमा नरहेर स्वतन्त्र छ ।
 
ढिला सिफारिस

युरोपियन र ल्याटिन देशको तुलनामा एसियनले ढिला गरी अस्करमा फिल्म सिफारिस गर्ने गरेका छन् । यही कारण पनि एसियन फिल्मले भोटरलाई लबिङ गर्ने प्रशस्त समय पाउँदैनन् । यो सालको अस्कर दौडबाट बाहिरिएको भारतीय फिल्म ‘जालिकट्टु’का कार्यकारी निर्माताले गुनित मोङ्गाले आफूहरूको फिल्म ढिला सिफारिस भएकाले क्याम्पेन गर्न समय नपाएको गुनासो गरेका थिए । 

अस्कर अवार्डसँग जोडिएका प्राविधिक कारण आफ्ना ठाउँमा छन् । यो निश्‍चित हो कि विश्‍वका अरु अवार्ड जस्तो अस्कर अवार्ड चुम्‍न सजिलो छैन तर फिल्मको गुणवत्तालाई लिएर मात्र पनि यो बहसलाई हेर्ने हो भने दक्षिण एसियाली सिनेमाले उति उम्दा फिल्म दिन सकेको छैन जसले अस्कर दक्षिण एसियालाई अवार्ड दिन बाध्य होस् । यहाँ न प्रशस्त मास्टर फिल्ममेकर पैदा भएका छन् न त कुनै देश यसका लागि लगानी गर्न तयार छन् । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x