कला

‘अर्जुन रेड्डी’ बन्ने ८ सय युवाको रहर

इकागज |
चैत ९, २०७७ सोमबार १०:९ बजे

काठमाडौं  : दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रीमेक बन्ने भन्ने कुराले नेपाली चलचित्र बजार राम्रै तातेको थियो । निकै चर्चामा रहेको यो चलचित्रको हालै अडिसन सम्पन्न भएको छ । अडिसनका लागि करिब दुई हजारले आवेदन दिएको  निर्माण पक्षले जनाएको छ । त्यस मध्ये ८ सयलाई अडिसनको लागि बोलाइएको थियो ।

एभरेस्ट फिल्म एकेडेमीमा सम्पन्न अडिसनमा निकै नै उत्साहजनक सहभागिता रहेको निर्देशक बिशाल सापकोटाले बताए । अब चाडै नै चलचित्रका लागि मुख्य कलाकारहरू फाइनल गरेर वर्कसप गरिने निर्माण पक्षले जनाएको छ । यसरी राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो । चलचित्रलाई युवा फिल्म्सले निर्माण गर्दैछ । 


तेलगु भाषामा बनेको ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक पनि बनिसकेको छ । ‘कबीर सिंह’ शीर्षकमा बनेको यो फिल्ममा शाहिद कपुरले मुख्य भूमिका निर्वाह गरेका थिए । यो फिल्म शाहिदको करिअरको  सबैभन्दा सफल फिल्ममा दरिएको थियो । फिल्मले दुई सय करोडमाथिको व्यापार गरेको थियो ।  


युवा फिल्म्सले यस अघि ‘सफर’ नामक फिल्म बनाएको थियो । त्योबाहेक यो कम्पनीले नेपाली चलचित्र ‘कबड्डी’, ‘पुरानो डुङ्गा’ लगायतका चलचित्र अमेरिकामा वितरण गरिसकेको छ । 


Author

थप समाचार
x