कला

पनौतीमा स्रष्टा पदयात्रा कार्यक्रम

इकागज |
चैत ९, २०७७ सोमबार ११:३८ बजे

पनौती : स्रष्टा पदयात्राको ४८ औं श्रृंखला तथा काव्य गोष्ठी शनिबार सम्पन्न भएको छ । करिब दुई दर्जन सहभागीहरू सहितको स्रष्टा पदयात्रा टोलीलाई खोपासी भेगको सल्मीटारको झोलुङ्गे पुल, पनौती जलविद्युत घर, पञ्चकन्या धारा, खोपासी पोखरी, नरसिंह मठ, द्रौपदादेवी, खोपासी बजार, मयलबोट ऐतिहासिक शिलालेख, गोदारङ्ग नाथ मन्दिर र फट्केश्वर महादेवको मन्दिरको भ्रमण गराउन रोटरी क्लब अफ पनौतीका पब्लिक रिलेसन चेयर एवं वरिष्ठ संचारकर्मी मधुसुधन गुरागाईंले सहजकर्ताको भूमिका निभाएका थिए ।

खोपासीको भ्रमणपछि पनौती प्राविधिक शिक्षालय, पनौतीमा साहित्यकार सूर्यप्रसाद लाकोजूको मुक्तक संग्रह ‘स्वर्णिम धुन’ कृति चर्चा र काव्य गोष्ठी पनि गरिएको थियो । पनौती साहित्य समाजका अध्यक्ष रामसुन्दर देउजा एवं रोटरी क्लब अफ पनौतीका पब्लिक रिलेसन चेयरका अध्यक्षतामा सम्पन्न उक्त साहित्यिक कार्यक्रम डा. सुमनराज ताम्राकारले संचालन गरेका थिए ।


यस पटकको स्रष्टा पदयात्राका संयोजक गीता रेग्मीले स्वागत भाषण गरेका थिए भने डिल्लीराज अर्याल, तुयुकाजी ताम्राकार, सूर्यप्रसाद लाकोजू, खोलाघरे साईंला, सुभद्रा दाहाल, सिर्जना शर्मा, ध्रुवकृष्ण ताम्राकार, ओतबहादुर खड्का, सरु पोखरेल, हरिप्रसाद चौलागाईंले आ–आफ्नो कविता वाचन गरेका थिए । सूर्यप्रसाद लाकोजूको कृति माथि प्रभा बराल र गीता रेग्मीले समीक्षात्मक टिप्पणी गरेका थिए ।

पनौतीमा रोटरीका क्रियाकलापबारे रोटरी क्लब अफ पनौतीका पब्लिक रिलेसन चेयर मधुसुधन गुरागाईंले र स्रष्टा पदयात्रा अभियानबारे शितल गिरीले चर्चा गरेका थिए । स्रष्टा पदयात्राका सहभागीहरूलाई पनौती साहित्य समाजबाट प्रकाशित प्रतिनिधि काभ्रेली कथा संग्रह प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा पनौतीको चिनारी स्वरुप योमरी खाजा राखिएको थियो । काव्य गोष्ठी पछि स्रष्टा टोलीलाई त्रिवेणीघाट क्षेत्र, ईन्द्र्रेश्वर महादेव परिसर, पनौती संग्रहालय र पनौती लाय्कु क्षेत्रको भ्रमणमा तुयुकाजी ताम्राकार, डा. सुमनराज ताम्राकार, सूर्यप्रसाद लाकोजू र सितू सैंजूले सहजीकरण गरेका थिए ।  


Author

थप समाचार
x