फिल्मकर्मीलाई लोभ्याउँदै कर्णाली
कर्णालीको सिञ्जा भ्यालीको दृश्य
काठमाडौं : दिनेश राउतको निर्देशन रहेको फिल्म ‘प्रकाश’को यतिबेला जुम्लामा धमाधम सुटिङ भइरहेको छ । जुम्लामा सरकारी शिक्षक बन्न संघर्ष गर्ने युवाको कथामा बनेको फिल्ममा प्रदीप खड्का मुख्य भूमिकामा छन् ।
सहरको छेउछाउलाई केन्द्र बनाएरप्रेमकथा बनाइरहेका दिनेश राउत पहिलो पल्ट दुर्गम भूगोलमा फिल्म सुटिङ गर्न गएका हुन् । सुटिङमा जानु अघि उनले जुम्लाको धेरै ठाउँ लोकेसनका लागि स्काउट गरेका थिए । अहिले तिनै ठाउँमा सुटिङ भइरहेको छ ।
जुम्लामा ‘प्रकाश’को सुटिङ भइरहँदा लोकेसन खोज्दै निर्देशक निश्चल बस्नेत पनि उहीँ पुगेका छन् । निश्चल पनि छायांकार नरेन्द्र मैनाली र सहायक निर्देशकको टोलीसँगै लोकेसन खोज्दै जुम्ला पुगेका छन् । ‘ट्राभलग’ शैलीको फिल्म काठमाडौं हुँदै जुम्ला पुग्नेछ । जेठदेखि सुटिङ हुने फिल्ममा दयाहाङ राई मुख्य भूमिकामा रहने चर्चा छ ।
‘जिन्दाबाद’ नाम राखिएको यो फिल्म बुद्धिसागरले लेखेका हुन् । उनले कर्णाँलीकै परिवेशमा लेखेको उपन्यास ‘कर्णाली ब्लुज’ले थुप्रै पुरस्कार जितेको थियो ।
कर्णालीको कथामा फिल्म बनाएर दुनियाँ लोभ्याउने श्रेय भने मीन भामलाई जान्छ । ५ वर्ष अघि उनले बनाएको फिल्म ‘कालो पोथी’ कर्णालीकै मुगुमा खिचिएको थियो ।
उनले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘चिसो वर्ष’ को कथा र चरित्र पनि कर्णालीकै छन् । निश्चलको फिल्म झैं यो फिल्मको पनि शैली ‘ट्राभलग’ नै हो । फिल्ममा बौद्ध भिक्षु र हराएको श्रीमान् खोज्न हिडेकी श्रीमतिको कथा रहेन मीनले बताउँदै आएका छन् ।
कर्णाली नै नभए पनि दीपेन्द्र के खनालले पनि सुटिङका लागि यो पटक सुटिङका लागि सजिलो भूगोल खोजेका छैनन् । उनले पनि यो पटक कथा भन्न सुदूरपश्चिमको विकट जिल्ला बाजुरा रोजेका छन् । उनको फिल्म पनि काठमाडौं हुँदै बाजुरा पुगेको हो । फिल्ममा वैदेशिक रोजगारीमा जाँदाको सग्लो शरिर लास बनेर फर्केपछि त्यही लास पु¥याउन बाजुरा पुग्ने कथा समेटिएको बताइएको छ ।
यी त केही चर्चामा आएका नाम मात्र हुन् , यस्ता थुप्रै फिल्म छन् जुन अहिले कठिन भूगोल खोज्दै कर्णाली वा सुदूरपश्चिम पुग्न थालेका छन् । धेरै वर्षसम्म नेपाली फिल्म चोभारको डाँडामा कैद थियो । फिल्म काठमाडौंको सावित्री सदनमा सुरु भएर चोभारमा गएर सकिन्थ्यो । तर, पछिल्लो समय एक्सन फिल्म बन्न छाडे पछि चोभार लोकदोहोरी गीतको फेवरेट गन्तव्य बन्न थालेको छ ।
यही समयमा नेपाली फिल्मले भने मुस्ताङलाई सुटिङ गन्तव्य बन्ने गरेको थियो । पछिल्लो समय भने नेपाली फिल्म नयाँ नयाँ गन्तव्य खोज्दै हिड्न थालेको छ ।
नयाँ नयाँ लोकेसनमा फिल्म खिच्नु दर्शकका लागि राम्रै कुरा भए पनि फिल्ममा लोकेसन आफैं चरित्र बन्न सके मात्र त्यसको अर्थ हुने मीन भाम बताउँछन् । उनले कर्णालीमा फिल्म खिच्दा कर्णाली पनि कथा वा चरित्र भएर आए राम्रो हुने बताए ।
‘नत्र त ल्यान्डस्केप खोज्दै पोखरा वा इलाम जानु र कर्णाली जानुमा के अन्तर हुन्छ र ?’ उनको बुझाइ छ । गीत खिच्नका लागि भने नेपाली फिल्म निर्माता दुर्गमभन्दा दुर्गम लोकेसन पुग्ने गरेका छन् । तर, लोकेसन र खिचाइ राम्रो हुँदाहुँदै पनि नेपाली फिल्म विषयवस्तुको प्रस्तुतिमा चुक्दा दर्शकको नजरमा जँच्न सकेका छैनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया