कला

भारतको राष्ट्रिय पुरस्कार : कंगना उत्कृष्ट अभिनेत्री, मनोज बाजपेई र धनुष उत्कृष्ट अभिनेता

इकागज |
चैत १०, २०७७ मंगलबार ११:४३ बजे

मुम्बई : स‌योग हो कि सोची सम्झी गरिएको निर्णय, सन् २०२० मा जो धेरै समाचारमा आए भारतको ६७ औं राष्ट्रिय पुरस्कार उनैले पाए । खासगरि, अभिनेत्री र उत्कृष्ट फिल्मको हकमा । 

अभिनेता सुशान्तसिंह राजपुतको असामयिक निधनपछि बलिउड मात्र होइन सारा भारत नातावादको बहसमा नराम्ररी झोसियो । यो बहसको नेतृत्वकर्ता बनिन् कंगना रनावत । प्रारम्भिक अनुसन्धानमा सुशान्तले आत्महत्या गरेको रिपोर्ट आएपछि कंगनाले सुशान्तलाई बलिउडभित्रको नातावादले त्यस्तो कदम चाल्न बाध्य बनाएको भन्दै बलिउडका हस्तीलाई नामै किटेर आलोचना गर्न थालिन् ।


यही मुखमा बिहारको चुनाव आएपछि सत्तारुढ बिजेपीले पनि सुशान्तको नाम भजाएर राम्रै राजनीति गर्यो र पहिलोपल्ट बिहारमा सम्मानजनक विधायक चुन्न सफल भयो । संयोगवश २०१९मा रिलिज भएका फिल्मलाई प्रदान गरिएको राष्ट्रिय अवार्डमा क्रमशः कंगना र सुशान्तसिंह राजपुत विजेता बने । कंगनाले ‘मणिकर्निका’ र ‘पंगा’मा गरेको अभिनयनका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् भने सुशान्तसिंह राजपुत अभिनित ‘छिछोरे’ हिन्दी फिल्ममध्ये उत्कृष्ट फिल्म घोषित भयो । 

अभिनेतातर्फको अवार्ड भने मनोज बाजपेई र धनुषले बाँडेर लिए । मनोज ‘भोसले’का लागि उत्कष्ट ठहरिए भने धनुष ‘असुरन’बाट ।  सोमबार साँझ गरिएको घोषणामा उत्कृष्ट फिल्म भने मलयाली फिल्म ‘मारक्कर लायन अफ दि अरबियन सी’ले पायो । 

घोषणा गरिएका अन्य विधाका अवार्डमा दक्षिण भारतीय फिल्मको वर्चस्व रह्यो । ‘सुपर डिलक्स’मा तेस्रोलिंगी बनेका विजय सेतुपतिले सह अभिनेताको अवार्ड जिते भने पल्लभी जोशीले सहअभिनेत्रीको अवार्ड जितिन् । प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिने विवेक अभिनेत्रीले बनाएको ‘तासकन्द फाइल्स’बाट उनले यो अवार्ड जितेकी हुन् । पल्लवी विवेककी श्रीमति हुन् ।

यो फिल्मले उत्कृष्ट पटकथाको अवार्ड पनि जितेको छ । तर, सन् २०१९ मा यो फिल्म रिलिज हुँदा यसलाई समीक्षकले प्रोपोगान्डा फिल्मको रुपमा चित्रित गरेका थिए । नरेन्द्र मोदी प्रधानमन्त्रीको रुपमा दोस्रो पटक सत्तारुढ हुनुअघि विपक्षी नेताको धज्जी उडाउने थुप्रै फिल्म बनेका थिए जसमा ‘तासकन्द फाइल्स’ एक थियो । यो फिल्म स्वतन्त्र भारतका दोस्रो प्रधानमन्त्री लालबहादुर शास्त्रीको जीवनीमा आधारित थियो । 
 


Author

थप समाचार
x