नम्रताले समय नदिएपछि साउनमा पुग्यो ‘प्रसाद २’
काठमाडौं : लामो समय भयो सुभास थापाले ‘प्रसाद २’ बनाउने तयारी थालेको । लकडाउन खुकुलो भएसँगै फ्लोरमा जाने फिल्मको रुपमा यसको चर्चा थियो । तर, कहिले चाडपर्व त कहिले जाडो । अन्ततः यो फिल्म फागुनको मध्यबाट फ्लोरमा निस्कन लागेको समाचार आएका थिए ।
तर, फागुनको दोस्रो हप्ता पनि यो फ्लोरमा निस्कन सकेन । नयाँ मिति आयो, चैत १५को । तर, अब यो फिल्म चैत महिनामा पनि फ्लोरमा निस्कने छैन । सूत्रका अनुसार नम्रताको समय नमिलेपछि यो फिल्म अब साउनमा निस्कने तयारीमा छ ।
नम्रताले जेठबाट अर्को फिल्मलाई समय दिएको र वैशाखभर यसको तयारी गर्नुपर्ने भन्दै ‘प्रसाद २’लाई सुटिङ सार्न आग्रह गरेपछि यो फिल्मको सुटिङ हाललाई सरेको हो । तर, ‘प्रसाद २’का निर्माता सुभास थापाले कुन फिल्म पहिले जाने भन्ने कुरा एक दुई दिनमा मात्र टुंगो लाग्ने बताए ।
‘नम्रताजीले हाम्रो फिल्मभन्दा पहिला नै अर्को फिल्म साइन गर्नु भएको थियो । हामीले प्रसादको कुरा गरिरहँदा नै वैशाखमा मेरो अर्को फिल्म छ है भन्नु पनि भएको हो,’ थापाले भने, ‘सबै कुरा मिलाउँदा मिलाउँदै हामीले पनि अगाडि सुटिङ सुरु गर्न सकेनौं । अहिले डेट जुधिरहेको छ । एक दुई दिनमा के गर्ने भन्ने निधो हुन्छ ’
नम्रताले गर्न लागेको फिल्मको नाम सार्वजनिक भइसकेको छैन तर राजिव गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा नम्रताले ‘सानो संसार’पछि पहिलो पल्ट विनय श्रेष्ठसँग स्क्रिन सेयर गर्दैछिन् ।
फिल्ममा शारुक ताम्राकार पनि महत्वपूर्ण भूमिकामा रहने जनाइएको छ । सिक्किममा ५० प्रतिशत सुटिङ हुने भनिएको फिल्मका लागि केही दिनअघि विनय र राजिवले लोकेसन पनि हेरेका थिए । ‘प्रसाद’को दोस्रो भागको रुपमा बन्न लागेको फिल्ममा बिपिन कार्की र निश्चल बस्नेत यथावत छन् ।
नम्रतासँगै यतिबेला निश्चल पनि आफ्नो फिल्मको तयारीमा छन् । लामो समयपछि निर्देशनमा फर्कन लागेका निश्चलले पनि लोकेसन स्काटउको काम थालेका छन् । यही कामको सिलसिलामा निश्चल अहिले जुम्ला पुगेका छन् ।
‘जिन्दाबाद’ नाम रहेको यो फिल्म पनि जेठमा नै सुटिङमा जाने चर्चा छ । यसरी नम्रता मात्र होइन निश्चल पनि सजिलै उपलब्ध नहुने भएपछि यो फिल्मको सुटिङ साउनमा हुने सम्भावना बढेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया