कला

प्रतिभाशाली पक्षी अस्थिर राजको दार्जीलिङ-नेपाल उडान

शरद प्रधान |
कात्तिक २२, २०७७ शनिबार ८:५७ बजे

छरितो वाक्य, पेचिलो शब्द, सटिक शब्दविन्यास, गहन अध्ययन, अनुच्छेदमा तरलता राजनारायण प्रधान सरको विशेषता । कम शब्दमा धेरै व्यक्त गर्न सक्ने खुबी थियो, राजनारायणमा । राजनारायण सर नेपाली साहित्यको केन्द्रबिन्दुमा हुदाँहुँदै पनि सीमान्तीकृत भएको र सही मूल्याङ्कन भएन भनेर गुनासो आइरहेका बेला यसो हुनुमा दोषी को हो भनेर अवलोकन गर्नु जरुरी छ ।

साहित्यमा गुटबन्दी नयाँ कुरा होइन । विश्वमा र यहाँ धेरै राम्रा साहित्यकार यसको सिकार पनि भएका छन् । क्रियाशील हुँदाहुदै पनि महाकवि देवकोटा, कविशिरोमणि लेखनाथ, नाट्यसम्राट् बालकृष्ण समले मदन पुरस्कार पाएनन् । विश्वका धेरै राम्रा साहित्यकार नोबेल पुरस्कार पाउनबाट वञ्चित भए । लियो टोलस्टोय, इब्सन, चेखब यसका उदाहरण हो ।


सायद पुरस्कार पनि एउटा राजनीतिभन्दा कम छैन । यो खेलको सिकार राजनारायण प्रधान, कुमार प्रधान आदि नहुनु कुनै अनौठो होइन । हालै दिवंगत हुनुभएका राष्ट्रकवि माधव घिमिरे ठट्टा गर्दै भन्नुहुन्थ्यो, ‘सरकारले कुनै मानपदवि (महाकवि जनताले दिएको मानपदवि हो) नदिए पनि हामीभन्दा चर्चित र सम्मानित छ, कवि देवकोटा । सम्मानले नै ठूलो हुन खोजेनन् ।’

राजनारायण सरले पनि कसैसँग सम्मानका लागि विन्ती गर्नुभएन ।  सरकै चेला काठमाडौँमा आधा दर्जन पुरस्कार दिने ठाउँमा हुँदा पनि सरले कहिल्यै केही पाउनुभएन । सायद पुरस्कार र सरबीच पुरानो दुस्मनी थियो । नर्थ पोइन्टरका लागि करिब ३५ वर्ष पहिले मैले लिएको अन्तर्वार्तामा सर भन्नहुन्छ, ‘साहित्यको क्षेत्रमा प्रशस्त प्रोत्साहन पाएको हुँ ।

सर्वप्रथम पुस्तकलाई प्रकाशमा ल्याउन प्रकाशक चाहिन्छ । मेरा कृति प्रकाशकहरूले उत्साहसाथ छाप्दै आएका छन् ।’ सायद सन्तोषम् परमम् सुखम् भनेको यही होला । असीको दशकको उत्तरार्धमा गोर्खाल्यान्ड आन्दोलनले दार्जीलिङबाट धेरै स्रष्टालाई विस्थापित गर्यो । कोही सिलिगुडीतिर झरे भने कोही नेपालतिर पसे । विस्थापित हुनेहरूमा राजनारायण सर पनि एक थिए ।

मेरो चिनजान पुरानै हो, सरसँग । एक दिन काठमाडौँमा अचानक भेट भयो, उहाँसँग । कम्युनिस्टको ट्याग लागेका राज सर दार्जीलिङमा टिक्न सकेनन् अनि भौँतारिँदै आए काठमाडौँ । केही समयको गुप्तबासका निम्ति । सर आफैँ कसैलाई जागिर देऊ भन्न पनि नसक्ने, फेरि काठमाडौँमा जागिरबिना टिक्न पनि कठिन ।

सरको असमञ्जस अवस्था बुझेर मेरा मित्रहरूले खोलेको स्कुल एलआरआईमा आवासीय प्राचार्यमा उहाँलाई नियुक्ति दिन अनुरोध गरेँ । यो स्कुलले अहिले भीमकाय रुप लिएको छ । सरले एक वर्ष जति त्यहीँ काम गर्नुभयो । तर, सर फेरि उही छटपटे मान्छे । उहाँलाई केही न केही लेखिराख्नुपर्ने । यहाँ एउटा साप्ताहिक पत्रिकामा स्तम्भ लेख्नुभयो, जो पछि ‘पञ्चैबाजा बजाउँदै’ शीर्षकमा पुस्तकका रुपमा आयो । यो पुस्तकको समीक्षा मैले कान्तिपुरमा छपाएको थिएँ ।

त्यसैगरी काठमाडौँमा नै आएर संशोधन गरेको आधुनिक अंग्रेजी नेपाली शब्दकोशको समीक्षा मैले अंग्रेजीमा ‘द काठमाडौ पोस्ट’मा छपाएको थिएँ । मेरो अनुरोधमा सरले ‘द काठमाडौँ पोस्ट’मा अंग्रेजीमा एक दर्जन जति लेख लेख्नुभयो । अफसोस, त्यसको अभिलेख मसँग छैन अहिले । नेपालीमा जस्तै अंग्रेजीमा पनि चुस्त-दुरुस्त हुन्थ्यो सरको लेख ।

एक वर्षपछि सर कवि पुष्कर लोहनीको स्कुलमा काम गर्न जानुभयो । यसपछि भेट अलिक कम हुन थाल्यो । एक दिन पारिजात दिदीलाई भेट्ने रहर गर्नुभयो, सरले । मैले लिएर गएँ । तर, त्यहाँ पुगेपछि दुई जनाको कुरा सुनेर म चकित परेँ । दुवैले यत्ति पुराना पुराना कुरा गर्नुभयो कि उहाँहरूको कुरा सुनेर मुकदर्शक भइरहेँ । सरको छोरा मेरो साथी भए पनि म सरसँग बढी नजिक थिएँ । संगत अनि विचार दुवैमा नजिक । उहाँको छोरा शरद छ महिना जति मसँगै काम गरे अनि सँगै डेरामा बसे । सरकै अनुरोधमा मैले उसलाई स्कुलमा जागिर लगाइदिएको थिएँ । सन्त जोसेफ कलेज पढ्दा विषय नमिले पनि प्रिय थिए, राजनारायण सर । चाहे भित्तेपत्रिका होस् वा कलेजको मुखपत्र, सरले सधैँ मलाई सहयोग र साथ दिए । भानुभक्त पुरस्कार पाएपछि मैले सरको अन्तर्वार्ता नर्थ पोइन्टरमा छपाएको थिएँ ।

साहित्य अकादमी प्राप्त गरेका लेखक मच्छिन्द्र प्रधान मसित सधैँ भन्नुहुन्थ्यो- शरद भाइ ! मलाई राज, कुमार दाजु र आईबी दाजुले हेप्छ । 

धेरै पहिले (सन् १९६० तिर) नेपालको आठराईमा शिक्षक हुँदा सरले पढाएका विद्यार्थी पछि उच्च ओहोदामा भएकाले नेपालमा नै बस्न धेरै कर गरेँ । राम्रा ठाउँमा जागिर दिने प्रस्ताव नआएको पनि होइन तर सर बस्न मानेनन् । कुनै हालतमा पनि दार्जीलिङबाट टाढा हुने कल्पना गर्न सकेनन् सरले । सरको विद्यार्थीले खोलेको युनिभर्सल ट्राभलमा उच्चतम पद दिए अनि विदेश पठाइदिने कुरा पनि सुनेको थिएँ । तर सर कर्मचारी भएर अडिन सक्नुभएन । यो अस्थिरता राज सरको विशेषतै थियो । राज सर शिक्षण पेसामा रमाए । साहित्य अकादमी प्राप्त गरेका लेखक मच्छिन्द्र प्रधान मसित सधैँ भन्नुहुन्थ्यो- शरद भाइ ! मलाई राज, कुमार दाजु र आईबी दाजुले हेप्छ ।

दार्जीलिङको अघोषित साहित्यका त्रिदेव राजनारायण प्रधान, कुमार प्रधान र इन्द्रबहादुर राई एक किसिमका ‘एलाइट’ साहित्यकार थिए, अंग्रेजी र नेपाली भाषामा निपुण । तीनैजनाले कलेजमा पढाउने, स्नातकोत्तर गरेका । एक किसिमले अरुलाई मान्छे नगन्ने । यसको शिकार मच्छिन्द्र प्रधान पनि भएको गुनसो गर्थे । यी तीनैको वर्चस्व थियो, नेपाली साहित्य सम्मेलनमा र त्यहाँबाट निस्किने पुस्तक र पत्रिकामा, चाहे त्यो वार्ता होस् वा आईबी सरका पुस्तक नै किन नहोऊन् !

करिब ३५ वर्ष पहिले मैले लिएको एउटा अन्तर्वार्तामा राजनारायण सरले नेपाली साहित्यका विभिन्न आयामबारे बोल्नुभएको छ । तेस्रो आयामदेखि हास्यव्यंग्यको शल्यक्रिया गर्नुभएको थियो । सरले लेख्नुभएको छ, ‘साहित्य हल्का-फुल्का भयो र यसमा अब गहिराइ हुनुपर्छ भन्ने केही साथी थिए- तीमध्ये इन्द्र राई, बल्लभ र काँइला हुन् । साहित्यमा त्यही गहिराइ दिन खोजिएको हो, आयामिक लेखनमा । साहित्यमा जुनै लेबल लगाए पनि आखिर साहित्यमा सधैँ अध्ययन गरिने जीवन नै हो ।’ ‘नौ नामी नेता’का सरल लेखक राजनारायण सरले इन्द्रबहादुर राईको आयामिक कथा संग्रह ‘कथास्था’ जस्तो गहन लेखनको भूमिका पनि लेखेका छन् । नेपाली साहित्यमा सरलदेखि दुरुह विषयमा लेख्न सक्ने क्षमता कमैमा छ । तर राजनारायण सर यस्मा माहिर । समालोचना कृति ‘केही कृति : केही स्मृति’ होस् या‘विश्वका दश महान् नाटक’, सरको विश्व साहित्यको गहन अध्ययन प्रस्ट हुन्छ । ‘पञ्चैबाजा बजाउँदै’मा राजनारायण सरको नेपाल बसाइको अनुभव पढ्न पाइन्छ ।

उहाँको नेपाल बसाइमा नरेन्द्रराज प्रसाईंको ठूलो सहयोग रह्यो । पञ्चैबाजा बजाउँदै कृति प्रसार्इंको प्रयासमा उहाँकै प्रकाशन गृहबाट प्रकाशित भएको थियो । उनी नेपाली समाचारपत्रका अतिरिक्त ‘द स्टेट्सम्यान’, ‘ब्लिट्ज’ र ‘द एसियन एज’ पत्रिकामा धेरै साहित्यकारका जीवन सरल भाषामा प्रकाशन गर्ने साहित्यकार थिए ।

सरको शालीन व्यक्तित्वबाट सबै प्रभावित थिए । ‘रक्सी’ खाए तापनि ‘जँड्याहा’ कहिल्यै भएनन् उनी । हिसाब जस्तो कठिन विषयलाई सरल तरिकाले बुझाउने अद्भुत क्षमता भएका राजनारायण सरको उचित मूल्यांकन गर्नु सबै साहित्य अनुरागीहरूको दायित्व हो ।

राजनारायण प्रधानको ८० वर्षको उमेरमा २०७२ सालमा दार्जिलिङमा निधन भएको थियो । उनी तेह्रथुमको वीरेन्द्र क्याम्पसका संस्थापक क्याम्पस प्रमुखदेखि दार्जिलिङको सेन्ट जोसेफ कलेजको प्राध्यापकसम्म भएका थिए । राजनारायण प्रधानका केही प्रमुख कृतिहरूको नाम यहाँ उल्लेख गर्छु : पन्ध्र प्रसिद्ध पुरुष, नौ नामी नेता, पैतीस प्रसिद्ध पुरुष, केही कृति : केही स्मृति, विश्वमा दश महान् नाटक : अध्ययनहरू, अंग्रेजी-नेपाली शब्दकोश, पञ्चैबाजा बजाउँदै, तीस प्रख्यात प्रतिभा, तीस प्रख्यात साहित्यिक प्रतिभा, केही अनुहार केही झलक, नेपाली निबन्ध, दार्जिलिङ डायरी आदि)


Author

थप समाचार
x