कला

‘मालिनी’ सोध्छिन् ‘धर्म ठूलो कि मानवता ?’

इकागज |
चैत १२, २०७७ बिहीबार १०:११ बजे

काठमाडौं : बुद्ध थिएटर फेस्टिभलको चौथो दिन ‘मालिनी’ मञ्चन भएको छ । बंगाली कवि रविन्द्रनाथ टैगोरको कथामा आधारित नाटकलाई झोराहाट नाट्य समूहले मञ्चन गरेको हो । 

हिन्दु धर्म र बुद्ध धर्मबीचको द्धन्द्धको कथामा बनेको नाटकले धर्मभन्दा पनि मानवता ठूलो भएको सन्देश दिन्छ । कथाअनुसार काशीकी राजकुमारी मालिनी हिन्दु धर्म मान्ने परिवारमा हुर्के बढेकी छिन् । तर, बौद्ध भिक्षुको सल्लाह अनुसार मालिनी बुद्ध धर्म ग्रहण गर्छिन् ।


तर, यसले काशीमा द्धन्द्ध सिर्जना गर्छ । हिन्दुधर्मका पक्षपाती मालिनीलाई दरबारबाट निकाल्ने अभियानमा लाग्छन् त्यसमा पनि खासगरी केमानकर । उनले धर्मलाई जीवनमरणको सवाल बनाउँछन् र हरहालमा मालिनीलाई देश निकाला गर्नु पर्ने अडान राख्छन् ।

यता मालिनीलाई भने देश छोड्न कुनै समस्या छैन । उनी त देश राज्य सुख सुविधा सबै छाड्ने अभिप्रायले नै बुद्ध धर्ममा लागेकी हुन्छिन् । तर, दरबार त्याग्ने बेलामा उनले गरेका कुराले हिन्दु ब्राम्हण पनि प्रभावित हुन्छन् र मालिनीको अनुयायी बन्छन् ।

यसले केमानकरलाई झन् इखालु बनाउँछ र उनी बाहिरको सेना बोलाएर पनि राज्य आक्रमणको तानाबुना बन्न थाल्छन् । तर, धर्मलाई निरपेक्ष रुपमा हेर्नु पर्छ भन्ने मत राख्ने सुप्रियाको मद्धतले काशीका राजाले केमानकरका सबै षडयन्त्र असफल पार्छन् । 

यो संसारमा धर्मभन्दा पनि ठूलो मानवता हो भन्ने सन्देशसहित नाटकले बिट मार्छ । १ घन्टा समयावधिको नाटकलाई सुदीपजंग कार्कीले निर्देशन गरेका हुन् । नाटकको अनुवाद नेचुरल्ली दीपकले गरेका हुन् । नाटकमा भरत गुरागाइँ, प्रज्जवल काफ्ले, गोमा पौडेल, सुरज माझी, प्रदीप सरदार आदि कलाकारले अभिनय गरेका छन् । 

भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यसहित डबली थिएटरको आयोजनामा सुरु भएको बुद्ध थिएटर फेस्टिभल शनिबारसम्म चल्नेछ । फेस्टिभलको पाँचौं दिन अर्थात् बिहीबार भने हङकङबाट सहभागी भएको नाटक ‘सिद्धार्थ इन हङकङ’ देखाइनेछ ।  

 


Author

थप समाचार
x