फेरि सर्ने तयारीमा सौगातको ‘लप्पन छप्पन २’
काठमाडौं : फागुन २७ बाट चैत २७ मा सरेको ‘लप्पन छप्पन २’ यो मितिमा पनि रिलिज नहुने भएको छ । निर्माताले यसको औपचारिक घोषणा गरिसकेका छैनन् तर रिलिजको मुखमा रहेको फिल्मको प्रचार प्रसारका लागि कुनै गतिविधि नदेखिए पछि यो फिल्म भित्र भित्रै सर्ने तयारीमा रहेको धेरैको अनुमान छ ।
यो फिल्मको वितरक गोविन्द शाही हुन् । उनले पनि सर्ने विषयमा निर्मातासँग पक्का कुरा नभए पनि आफूले त्यही संकेत पाएको बताएका छन् ।‘एक जनाले निर्माताले स्वास्थ्य मन्त्रालयको सूचनाको कारण देखाउँदै फिल्म रिलिज गर्न नसकिने भो भन्नु भएको थियो । यसरी बारम्बार फिल्म सार्नु हुन्न भन्ने मेरो धारण हो,’ उनले भने, ‘तर फिल्मको टिम राम्ररी सम्पर्कमा आइरहेको छैन । तर, सुस्तता हेर्दा सर्छ नै जस्तो लाग्छ ।’
फिल्म रिलिज हुनलाई अब १५ दिन मात्र समय बाँकी छ । तर, यो फिल्मले ट्रेलर रिलिजबाहेक प्रचारको अर्को कुनै गतिविधी गरेको छैन । अझ फिल्मका मुख्य दुई कलाकार नयाँ फिल्मको सुटिङका लागि सिक्किम पुगेका छन् ।
‘लप्पन छप्पन २’मा मुख्य कलाकार सौगात मल्ल र अनुपविक्रम शाही यतिबेला इन्द्रबहादुर राईको कथामा बनेको फिल्म ‘जार’को सुटिङका लागि मुम्बई पुगेका छन् । मुकुन्द भट्टको निर्देशनमा बनेको फिल्ममा शिव श्रेष्ठ, अर्पण थापा, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व। दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ ।
खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको सिनेमाको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ । सिनेमा निर्माणमा गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् ।
सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको सिनेमामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माताको रुपमा छन् । पुरुषोत्तम प्रधानले खिचेको सिनेमालाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया