कला

जोनीले फिल्म छाडे, एम्बरको रोल काटियो

इकागज |
कात्तिक २३, २०७७ आइतबार ११:५२ बजे

लस एञ्जल्स :  विवादले सेलिब्रेटीलाई फाइदा हुन्छ कि घाटा ? यो प्रश्नको एकै जवाफ पाइन्न । कति विवादले सेलिब्रेटी मालामाल भएका छन् भने कति कंगाल । हलिउडमा पनि जोनी डेप र पूर्व पत्नी एम्बर हर्डबीचको विवादको पटाक्षेप कस्तो होला भन्ने धेरैलाई कौतुहलता थियो । तर, प्रारम्भिक चरणमा भने जोनी डेप र एम्बर दुवैले विवादबाट घाटा खेप्नु पर्ने संकेत देखिएको छ । 


बिहीबार मात्र जोनी डेपले बेलायती पत्रिका ‘दि सन्’को मुद्दा हारे । पत्रिकाले जोनी डेपलाई ‘वाइफ विटर’ (स्वास्नी कुटुवा) भन्ने शीर्षकमा मुख्य समाचार छापेपछि जोनीले पत्रिकाविरुद्ध क्षतिपूर्तिको दाबीसहित मानहानीको मुद्दा हालेका थिए । तर, बिहीबार त्यहाँको अदालतले सार्वजनिक भएका घटनाक्रमका आधारमा उनलाई ‘स्वास्नी कुटुवा’ भन्न मिल्ने निष्कर्षसहित पत्रिकाको पक्षमा फैसला गर्यो । यता अमेरिकातिर जोनी र एम्बरको सम्बन्ध विच्छेदको मुद्दाको छिनोफानो भएको छैन तर हलिउडले उनीहरूको विवादलाई सामान्य रुपमा लिएको छैन ।


 

ताजा खबर अनुसार जोनीलाई फिल्म निर्माण कम्पनी वार्नर ब्रोजले ‘फ्यान्टास्टिक बिट ३’बाट बाहिरिन अनुरोध गरेको छ भने यही कम्पनीले बनाउन लागेको ‘अक्वामेन २’मा एम्बरको भूमिका काटेर नाम मात्रकाे बनाइएको छ । जोनी आफैंले बार्नरले फिल्मबाट बाहिरिन अनुरोध गरेकाले आफू फिल्मबाट अलग भएको बताएका छन् ।  उनीहरूको नाम फिल्मका लागि फाइदाजनक नहुनेदेखि वार्नरले यस्तो निर्णय लिएको समाचारमा उल्लेख गरिएको छ । सन् २०१६ मा एम्बरले जोनीसँग छुट्टिने भन्दै मुद्दा हालेकी थिइन् । चार वर्ष बित्न लाग्दा पनि उनीहरूको सम्बन्ध विच्छेदको छिनोफानो भएको छैन । 


Author

थप समाचार
x