अटो

प्रधानमन्त्री प्रचण्डले गरे नेपालमा हुण्डाई मोटर एसेम्बल प्लान्टको उद्घाटन

इकागज |
बैशाख ३०, २०८१ आइतबार १३:४४ बजे

काठमाडौँ- हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.को मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी 'लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)'को रामग्राम परासीमा हुण्डाई मोटर एसेम्बल प्लान्टको उद्घाटन भएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हुण्डाई मोटर एसेम्बल प्लान्टको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ते यन्ग, हुन्डाई मोटर भारत लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत उन्सू किम तथा स्थानिय सरकारका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


कम्पनीको अनुसार ६५ हजार वर्ग मिटरको क्षेत्रफलमा फैलिएको एलएमसी हुण्डाई मोटर एसेम्बल प्लान्ट, जसमा १४ हजार वर्ग मिटरको भव्य निर्माण क्षेत्र रहेको छ, नेपालको अटोमोबाइल क्षेत्रमा ठूलो लगानी गर्ने दृढताको उदाहरण हो ।

साथै ५ हजार इकाईको वार्षिक क्षमता भएको यस संरचनाले हुण्डाई मोटर कम्पनी (एचएमसी)को सबै मापदण्डहरूको पालना गर्दै नेपालभर हुण्डाई मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने लक्ष्य राखेको छ ।

एचएमसीको प्राविधिक पर्यवेक्षणमा एलएमसीले निर्माण गरेको प्लान्टमा उत्पादित हरेक सवारी साधनमा कार्य सम्पादन, सुरक्षा र विश्वसनीयताका उच्चतम गुणस्तर सुनिश्चित हुने कम्पनीको भनाई रहेको छ । आयात गरिएका पूर्ण रुपमा विभाजित हुने पाटपुर्जाहरूको सदुपयोग गरी यस आधुनिक संरचनामा त्यसको सतर्कता साथ संयोजन गर्ने प्रणालीले एलएमसीको गुणस्तरप्रतिको प्रतिबद्धतालाई देखाएको छ ।

उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले नेपाली अटोमोबाइल औद्योगिकरण क्षेत्रको विकासमा हुण्डाई नेपालको योगदान र त्यसको फलस्वरूप वृद्धि भएको आर्थिक समृद्धि र रोजगार अवसरहरूमाथि विशेष जोड दिएका थिए ।

यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए ।

हुन्डाई मोटर इण्डिया लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत उन्सू किमले परासीको रामग्राममा रहेको नेपालको नयाँ हुन्डाई मोटर एसेम्बल प्लान्टप्रति आफ्नो उत्साह व्यक्त गर्दै ग्राहकको सन्तुष्टिमा उन्नत प्रविधि र सीप हस्तान्तरणको प्रभावलाई प्रकाश पारे ।

उद्घाटन समारोहपछि भएको प्लान्ट भ्रमणले नेपालको मोटर गाडी उद्योगमा एक महत्त्वपूर्ण इतिहास रचेको दाबी गरेको छ । जहाँ नेपालमा बनेको पहिलो "हुण्डाई भेन्यू" को प्रदर्शन गरिएको थियो । योसँगै एलएमसीले हुण्डाई भेन्यूको उत्पादन अघि बढाइसकेको छ र कम्प्याक्ट एसयूभी खण्डमा विशेष ध्यान दिइएको छ । यस प्लान्टले निकट भविष्यमा हुण्डाई मोटर्सका अन्य मोडलका गाडीहरूको पनि एसेम्ब्लिङ गर्ने लक्ष्य राखेको छ ।

विभिन्न ग्राहक वर्गको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै एलएमसीले सुलभ र पहुँचयोग्य हुण्डाई सवारी साधनहरूको उत्पादन प्रति आफ्नो समर्पण देखाएको जनाएको छ ।

अहिले हुण्डाई गाडीको १६ शोरूम, १९ सेवा केन्द्र र नेपालभर ४५ भन्दा माथि चार्जिङ्ग प्वाइन्ट्स सहित लक्ष्मी इन्टरकन्टिनेन्टलले बजारमा विशेष पहुँच कायम राखेको छ । कम्पनीको अनुसार एलएमसीमा ग्राहक सन्तुष्टि सुनिश्चित गर्न लक्ष्मी इन्टरकन्टिनेन्टलले दोस्रो र तेस्रो तहका बजारहरूमा पनि आफ्नो पहुँच विस्तार गर्ने योजना बनाएको छ ।


Author

थप समाचार
x