बैंक-वित्त

राष्ट्र बैंकलाई निजी क्षेत्रको सुझाव : बैंकिङ सहजता बनाउने गरी मौद्रिक नीति आउनुपर्छ

इकागज |
असार २१, २०७९ मंगलबार १६:४२ बजे

काठमाडौँ- आगामी मौद्रिक नीतिमा आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि बैंकिङ सहजता बनाउने गरी मौद्रिक नीति ल्याउन निजी क्षेत्रले माग गरेका छन् । 

सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रममा राष्ट्र बैंकलाई सुझाव दिँदै निजी क्षेत्रमा छाता संगठनका प्रमुखहरुले यस्तो सुझाव दिएका हुन् । निजी क्षेत्रले पछिल्लो समय भोगिरहेको बैंकिङ तरलता, बैकिङ कर्जामा सहुलियत, कृषि, पर्यटन र उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिएका छन् । 


कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ प्रणालीमा रहेको तरलता सहज बनाउने मौद्रिक नीति आउनुपर्ने बताए । उनले बैंकिङ कर्जा अनुत्पादन क्षेत्रमा बढी गएको देखिएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने जिकिर गरे । वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकिङ तरलता चरम अभाव भएकाले पास भएका कर्जा समेत दिन नसक्ने अवस्थामा रहेको उनको भनाइ थियो । उनले बैंकहरुलाई सिडि रेसियो असार मसान्तसम्म ९० प्रतिशत भन्दा तल ल्याउनुपर्ने दबाबलाई मौद्रिक नीतिमार्फत सहज बनाउनुपर्ने सुझाव दिए ।

ढकालले कोभिड प्रभावित उद्योगहरुलाई दिएको सहुलियत यो वर्ष पनि निरन्तरता दिनुपर्ने उल्लेख गरे ।

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आगामी मौद्रिक नीतिमा पछिल्लो समय उद्योगी व्यवसायीहरुले भोग्‍नु परेको समस्या सहजीकरण हुने आशा लिएर बसेको बताए । उनले उद्योगी व्यवसायीहरुले तरलता अभाव, लगानीको वातावरण असहज जस्ता समस्या भोगिरहेको औँल्याए । अध्यक्ष अग्रवालले पछिल्लो ६ महिनाको बीचमा ६० अर्ब बराबरको लगानी बढेको दाबी गरे ।

उनले अर्थतन्त्रमा देखिको समस्याको कारण १५ देखि ६० प्रतिशत उद्योगमा लगानीमा संकुचन आएकाले मौद्रिक नीतिले आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि उत्पादनमुलक उद्योगमा लगानी गर्ने वातावरण सहज बनाउनुपर्ने माग गरे ।

अध्यक्ष अग्रवालले पेट्रोलियम पदार्थ र बजारमा भएको अत्याधिक मूल्यवृद्धिलाई सहजीकरण गर्ने मौद्रिक नीति आवश्यक रहेको बताए ।


Author

थप समाचार
x