बैंक-वित्त

राष्ट्र बैंकले सेयर कर्जामा नियन्त्रण गर्न हुँदैन : अध्यक्ष मैनाली

इकागज |
असार २२, २०७९ बुधबार १५:९ बजे

फाइल तस्बिर

काठमाडौँ- स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले मौद्रिक नीतिमार्फत सेयर कर्जा नियन्त्रण नगर्न सुझाव दिएका छन् ।

आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले दुई दिन अगाडि आयोजना गरेको सुझाव संकलन कार्यक्रमा बोल्दै अध्यक्ष मैनालीले यस्तो सुझाव दिएका हुन् । उनले सेयर बजारमा लगानी गर्नको लागि बैंकबाट लिने कर्जाले आर्थिक गतिविधिलाई चलायमान बनाउने भएकाले राष्ट्र बैंकले सेयर कर्जामा धेरै नियन्त्रण गर्न नहुने बताए ।


अध्यक्ष मैनालीले राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर कर्जामा ४/१२ को क्याप लगाएकाले बजारमा समस्या आएको जिकिर गरे । उनले आगामी मौद्रिक नीतिमा सेयर कर्जामा ४/१२ को क्यापलाई हटाउनुपर्ने बताए । अध्यक्ष मैनालीले सेयर कर्जामा सीमा लगाउने भन्दा पनि पहुँच र पावरको दुरूपयोग गरेर कर्जा लिएर बजारमा चलखेल गर्नेलाई कारबाही नियन्त्रण गर्नुपर्नेमा सबैलाई एकै ठाउँमा राखेर नीति ल्याउनु नहुने उल्लेख गरे । उनले कमजोर र बलियो संस्थाको सेयरमा  एकै प्रकारको मार्जिन नियम वैज्ञानिक नभएको भन्दै त्यस्तो व्यवस्थालाई मौद्रिक नीतिमार्फत संशोधन गर्नुपर्ने बताए ।

अध्यक्ष मैनालीले राष्ट्र बैंकको घुमाउरो नीतिले बैंक तथा वित्तीय संस्थालाई सेयर खरिद गर्न रोक लगाएको कारण पनि सेयर बजार जोखिममा पुगेको टिप्पणी गरे । उनले अहिले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु सेयरमा लगानी गर्न छाडेको भन्दै वित्तीय संस्थाहरूलाई सेयर खरिद गर्न दिए जोखिममा रहेको बजार सुधार हुन सक्ने अनुमान गरे । अध्यक्ष मैलानीले उत्पादनमुलक क्षेत्रका कम्पनीहरुलाई बुक बिल्डिङमार्फत सेयर बजारमा ल्याउने तयारी भएपनि सेयर किन्‍ने बायर नै नभएको गुनासो गरे ।

अध्यक्ष मैनालीले मर्जर तथा प्राप्तिका कारण सेयर कारोबार रोक्का हुन नहुने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिए । उनले मौद्रिक नीतिमा ब्रोकरमार्फत मार्जिन लेण्डिङको व्यवस्था सहज बनाउनुपर्ने पनि बताए ।

 

 


Author

थप समाचार
x