शोधनान्तर बचत उकालोतर्फ, ४ महिनामा ३ खर्ब ७८ अर्ब रेमिट्यान्स भित्रियो
विदेशी मुद्राको सञ्चिति बढ्यो
फाइल तस्वीर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार बाह्य सूचकमा केही सुधार देखिएको छ। बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार शोधनान्तर बचत २० अर्ब ३ करोड रुपैयाँ पुगेको छ। असोजबाट बढ्न थालेको शोधनान्तर कात्तिकमा थप सुधार भएको तथ्यांकले देखाएको छ।
१४ महिना ऋणात्मक भएपछि बल्ल शोधनान्तर बचत भएको हो। सरकारले आयातमा गरेको प्रतिबन्धका साथै रेमिटेन्समा भएको सुधारले शोधनान्तर बचतमा गएको हो। पहिलो पटक असोजमा १२ अर्बले बचतमा गएको शोधनान्तर कात्तिकमा पुग्दा २० अर्ब ३ करोडले बचतमा गएको छ। गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्बले घाटामा थियो।
रेमिट्यान्समा निरन्तरको वृद्धि तथा आयात मत्थर हुँदा विदेशी मुद्राको सञ्चितिमा पनि सुधार देखिएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार ४ महिनामा रेमिट्यान्स नेपाली रुपैयाँमा २०.४ प्रतिशतले बढेको छ। चार महिनामा ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ भित्रिएको छ। गत वर्षको सोही अवधिमा रेमिट्यान्स ७.३ प्रतिशतले घटेको थियो।
कात्तिकमा आएर विदेशी मुद्राको सञ्चिति पनि थपिएको छ। असोजको तुलनामा असोजमा १५ करोड अमेरिकी डलर थपिएर कुल विदेशी मुद्राको सञ्चिति ९ अर्ब ६३ करोड अमेरिकी डलर पुगेको छ।
आयात घटेको र विदेशी मुद्राको सञ्चितिमा उतारचढाव धेरै नहुँदा आयात धान्ने क्षमतामा पनि वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार अहिलेको सञ्चितिले ८।४ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्छ।
कात्तिक महिनामा चालू खाता घाटा ३५ अर्ब ४० करोड पुगेको छ। असोजको तुलनामा १ अर्बले बढी हो। अघिल्लो वर्षको तुलनामा चालू खाता घाटामा सुधार देखिएको छ। गत वर्ष चालू खाता घाटा १ खर्ब ८६ अर्ब पुगेको थियो। समग्रमा रेमिट्यान्समा वृद्धि तथा आयातमा कमी आएकाले अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख रहेको राष्ट्र बैंकको विश्लेषण छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया