सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रस्तुत गरियो : मन्त्री श्रेष्ठ
फाइल तस्वीर
काठमाडौँ- भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएकी छिन् ।
बिहीबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले काठमडौंमा आयोजना गरेको प्रगति समीक्षा तथा सहकारी सुशासन बुलेटिन विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।
उनले सहकारीमा भएको समस्या भन्दा बढी समस्या जस्तो बनाएर सहकारीका समस्याहरुको प्रचार गरिएको बताइन् । उनले समस्यामा आएका सहकारी औंलामा गन्न सकिने रहेको भन्दै राम्रा कामहरुको प्रचार हुन नसक्नु दुखद् रहेको बताइन् । मन्त्री श्रेष्ठले राम्रा सहकारी खोज्न विदेश जानुपर्ने अवस्था नरहेको भन्दै नेपालभित्र नै राम्रा सहकारी रहेको र महिलाहरुले सञ्चालन गरेको सहकारीहरु अझ उत्कृष्ट रहेको बताइन् ।
उनले सहकारीमा आएको समस्या एकाध शहरमा र शहरउन्मुख क्षेत्रमा भएको भन्दै वास्तविक सहकारीको सिद्धान्त, उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन नभएको ठाउँमा समस्या आएको स्पष्ट पारिन ।
उनले भनिन्, ‘आज हाम्रो देशमा आएको सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रस्तुत गरेको छ । भएको भन्दा अझ बढी प्रचार गरेको छ । हाम्रोमा करिब करिब ३० हजारको हाराहारीमा सहकारी छ । सबभन्दा धेरै स्थानीय तह, त्यसपछि प्रदेश र संघमा छ । मुलुक संघीयतामा गइसकेपछि तीन तहमा नै हामीले सहकारीलाई व्यवस्थापन गरेका छौँ । संविधानको अनुसूचीमा नै कसरी सहकारी रहने भन्नेकुराको व्यवस्था गरेका छौँ । समस्या आएको छ । समस्यामा परेका सहकारी भनेको औंलामा गन्न सकिने मात्रै छन् । हाम्रो समाजमा नराम्रा कुराको प्रचार हुन समय लाग्दो हरनेछ । तर राम्रा कामको प्रचार हुँदैन । ब्याजदर बढाउनैपर्ने अवस्था हो भनेर हामी अनुगमन पनि गरेका थियौँ । अनुगमनमा हामीले राम्रो सहकारी हेर्न विदेश जानु पर्ने अवस्था रहेनछ । हाम्रा देशमै राम्रा सहकारीहरु रहेछन् । धेरै राम्रो व्यवस्थापन गरिरहेको छ । महिलाले सञ्चालन गरेको सहकारी धेरै राम्रा रहेछन् । सहकारीमा आएको समस्या एकाध शहरमा र शहरउन्मुख क्षेत्रमा वास्तविक सहकारीको सिद्धान्त, उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन नभएको ठाउँमा समस्या आएका छन् ।’
@ekagaj सहकारीको समस्यालाई हाउगुजीको रूपमा प्रस्तुत गरियो: मन्त्री श्रेष्ठ
♬ original sound - eKagaj
मन्त्री श्रेष्ठले सहकारीको माध्यमबाट मुलुकमा नै रोजगारी सिर्जना गरी विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै राख्नुपर्ने अपरिहार्य आवश्यकता भएको बताइन् । युवाहरुलाई नेपालमा नै राख्न नसकेको खण्डमा केही समयमा नेपाल बालबालिका र बुढापाकाको मुलुक बन्ने स्थिति सिर्जना भएको बताइन्। मन्त्री श्रेष्ठले रोजगारीको सिर्जना गर्न नसक्नुको चुरो कारण पत्ता लगाइ त्यसको समाधान खोज्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘सहकारीको माध्यमबाट मुलुकमा नै रोजगारी सिर्जना गरेर राष्ट्रको संवाहक शक्तिको रुपमा रहेको युवा शक्तिलाई यहीँ नै उपयोग गर्नुपर्छ । हाम्रो मुलुक बालबालिका र बुढापाकाको मुलुक बन्ने स्थिति सिर्जना भएको छ । धेरै ढिलो भइसकेको छ । समयमा नै हामीले विचार नगर्ने हो भने बुढाबुढी तलवितल भएको उठाउने युवाहरु हुँदैनन् । यो किन भयो यसको चुरो कारण पत्ता लगाएर सही समाधान खोज्नुपर्छ । सबैकुरो नेपालमा नै सम्भव छ, पछिको पुस्त होइन, हाम्रो पुस्तामा नै यो सम्भव छ ।’
मन्त्री श्रेष्ठले सहकारी सम्बन्धी ऐनहरु छरिएर रहेका कारण कतिपय अवस्थामा बाझिएको बताइन्। उनले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमीसम्बन्धी एकीकृत कानून निर्माण गर्ने पहल भएको जानकारी दिइन् । मन्त्री श्रेष्ठले कसैले आफ्नो स्वार्थसिद्धिका लागि ऐनहरुको निर्माण गरेको पाइएको बताउँदै सरकारमुखी र जनमुखी ऐनहरु निर्माण गर्न आवश्यक रहेको बताइन् । उनले वास्तविक सहकारी सदस्य र सदस्यकेन्द्रित सहकारीको विकास गर्नेगरी सरकार अघि बढेको बताइन् । मन्त्री श्रेष्ठले केही सहकारीका व्यवस्थापकका कारण नागरिकलाई समस्या र राज्य पनि ठगिने अवस्था रहेको बताइन् । उनले सहकारीलाई सिद्धान्तअनुसार सञ्चालन गरी अघि बढ्न निर्देशन दिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया