बैंक-वित्त

कोभिड–१९ महामारी

एक चौथाइ कर्मचारीबाट बैंकका शाखा सञ्चालन गर्न निर्देशन

नजिकका शाखा आलोपालो सञ्चालन गर्नु : राष्ट्र बैंक

इकागज |
बैशाख १९, २०७८ आइतबार १६:१४ बजे

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि एक चौथाइ (२५ प्रतिशत) भन्दा कम कर्मचारीहरूबाट शाखा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत भन्दा कम मात्र कर्मचारीबाट कार्यालय सञ्चालन गर्न केन्द्रीय बैंकको निर्देशन छ । राष्ट्र बैंकले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि कर्मचारीहरूलाई सम्भव भएसम्म घरबाटै काम (वर्क फ्रम होम) वा रिमोट एक्सेस दिएर कार्यसम्पादन गराउन आग्रह गरेको छ ।

त्यस्तै आपसमा साक्षात्कार हुनेभन्दा विधुतीय बैंकिङ्ग कारोबारलाई प्रवर्धन गर्न आग्रह गरेको छ । भौतिक दूरीका हिसाबले शाखाहरू नजिक छन् भने आलोपालो गरी सञ्चालन गर्न केन्द्रीय बैंकको निर्देशन छ । यसरी आलोपालोमा शाखा सञ्चालन गर्दा बन्द रहने शाखाको मूल ढोकामा सेवा सम्बन्धी सोधपुछका लागि सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा र शाखा खुला रहने समयका सम्बन्धमा जानकारी दिनुपर्नेछ । केन्द्रीय बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरूलाई स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड कडाइँका साथ पालनाका लागि समेत आग्रह गरेको छ । 



Author

थप समाचार
x