बैंक-वित्त

बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्छ : अध्यक्ष गोल्यान

इकागज |
चैत २८, २०७९ मंगलबार १९:२८ बजे

काठमाडौँ- बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्ने बताएका छन् ।​ मंगलबार परिसंघले ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोल्यानले नेपालको कुनै पनि क्षेत्रले ११ प्रतिशत बैंकको ब्याज वहन गर्न नसक्ने भन्दै बैंकको ब्याज एकल अंकमा ल्याउन आवश्यक रहेको बताएका हुन् ।

उनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा दुवै जनाले ब्याजदर घटाउने विषयमा समर्थन जनाएको बताए । सिबिफिनले २ अंक ब्याजदर घटाउन सुझाव दिएपनि गभर्नर अधिकारीले १० प्रतिशत ब्याजदर घटाउने पक्षमा रहेको बताएको उनले जानकारी दिए ।


अध्यक्ष गोल्यानले गभर्नर अधिकारीले बैठकमा तीन महिनाभित्र बैंकको ब्याज एकल अंकमा आउने जानकारी दिएको बताए । बैंकहरूमा तरलता सहजता आएको र ब्याजदर बढ्दा पनि निक्षेप नबढेकाले ब्याज घटाउन आवश्यक रहेको उल्लेख गरे । उनले बैंकको ब्याजदर नेपाली उद्योगी व्यवसायीले वहन र सहन गर्न नसक्ने भन्दै एकल अंकमा आउनुपर्ने बताए ।

भारतमा ६.५ प्रतिशत मात्रै निक्षेपको ब्याज भएको भन्दै नेपालमा ११ प्रतिशत आवश्यक नभएको उनकाे भनाइ छ । उनले कर्जाको ब्याज ८ प्रतिशतमा ल्याएर निक्षेपको ब्याज ६ प्रतिशत कायम गर्नुपर्ने बताए । बैंकको ब्याज घटाउँदा अहिलेको अवस्थामा एक महिनामा नै लागू गर्नुपर्ने उनकाे भनाइ छ ।


Author

थप समाचार
x