बैंक-वित्त

५७ हजार ऋणीले लिए ८२ अर्ब सहुलियत कर्जा

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १४:५१ बजे

काठमाडौँ : चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत)मा सहुलियत कर्जा अन्तर्गत ५७ हजार चार सय ३१ जनाले ८२ अर्ब ४६ करोड रुपैयाँ सहुलियत कर्जा लिएका छन् । 

नेपाल राष्ट्र बैंकका अनुसार, सहुलियत कर्जाका १० शीर्षकमध्ये ऋणी संख्याका हिसाबले महिला उद्यमशीलता कर्जा र कर्जाको आकारका हिसाबले व्यावसायिक कृषि तथा पशुपंक्षी पालनतर्फ सबैभन्दा बढी कर्जा परिचालन भएको छ । यस आर्थिक वर्षमा चैतसम्म मात्रै कृषि तथा पशुपंक्षी कर्जामा ४२ अर्ब ४८ करोड रुपैयाँ ऋण परिचालन भएको छ । यस वर्षमात्रै व्यावसायिक कृषि कर्जामा १७ हजार ६ सय ८४ नयाँ ऋणी थपिएका छन् । त्यस्तै, महिला उद्यमशीलतातर्फ यो वर्ष ३८ हजार चार सय ४६ नयाँ ऋणी थपिएका छन् र उनीहरूले ३७ अर्ब ८० करोड रुपैयाँ सहुलियत कर्जा लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 


अहिलेसम्म कुल ८९ हजार आठ सय ७९ ऋणीले एक खर्ब ४२ अर्ब दुई करोड सहुलियत ऋण लिएका छन् । यो मध्ये ६८ प्रतिशत सहुलियत कर्जा व्यावसायिक कृषि र पशुपालनमा परिचालन भएको छ । 

आर्थिक वर्ष २०७०–७१ मा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले युवाका लागि सहुलियत कृषि कर्जा कार्यक्रम शुरु गरेका थिए । यसलाई विस्तार गरी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ ले विभिन्न १० क्षेत्रमा सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको छ । 

सरकारले सहुलियत कर्जा ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने नीति अनुसार त्यसभन्दा माथिको बैंकको ब्याजदर सरकारी कोषबाट व्यहोर्ने व्यवस्था गरेको छ ।
उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन, स्वरोजगार र उद्यमशीलता बढाउन सरकारले यस्तो कार्यक्रम ल्याएको हो । गत असारसम्म १८ हजार दुई सय ९५ जना ऋणीले सहुलियत कर्जा उपभोग जम्मा ५९ अर्ब ५६ करोड रुपैयाँ थियो । साउनयता सहुलियत कर्जा ५८ प्रतिशतले बढेको छ । 


 


Author

थप समाचार
x