बैंक-वित्त

हिमालयन र इन्भेष्टमेन्टको विस्तृत ड्यू डिलिजेन्सपछि सेयर स्वाप अनुपात टुङ्गो लगाइने

इकागज |
जेठ १, २०७८ शनिवार १४:३५ बजे

काठमाडौँ : बिहीबार नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जर (गाभ्ने/गाभिने) प्रारम्भिक सम्झौता गरेपछि सेयर बजारका लगानीकर्ताको चासो भने सेयर मिलान अनुपात (सेयर स्वाप रेसियो) मा छ । व्यवस्थापनको नेतृत्व तथा सञ्चालक क–कसलाई बनाउने भन्ने विषयमा मूर्त सहमति नहुँदा मर्जर सम्झौता हुने/नहुने अन्यौल नै थियो । 

यसैबीच बिहीबार मर्जर सम्झौता हुने सुइँको पाएका लगानीकर्ताले नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर उठाउन भ्याए । बिहीबार बजार बन्द भएलगत्तै सम्झौता भएपनि यसको सुइँको पाएका लगानीकर्ता इन्भेष्टमेन्ट बैंकको सेयर किन्न लागेका थिए । बिहीबार दोस्रो बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर १.५५ प्रतिशतले बढेर अन्तिम कारोबार ४६० रुपैयाँमा भएको छ । इन्भेष्टमेन्ट बैंकको सेयर प्रतिकित्ता ४८४ रुपैयाँसम्म माग भएको थियो । तर हिमालयन बैंकको सेयर भने ०.६२ प्रतिशतले घटेर प्रतिकित्ता ४८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । लगानीको प्रतिफलका हिसाबले चालु आर्थिक वर्षको चैत (त्रेस्रो त्रैमास)सम्म हिमालयन बैंकको भन्दा इन्भेष्टमेन्ट बैंकको प्रतिफलदर राम्रो देखिन्छ । 


मर्जरको प्रारम्भिक सम्झौतामा अध्यक्ष, सञ्चालक र व्यवस्थापनको नेतृत्व तथा मर्जरपछि बैंकको नाम टुङ्गो लागेको छ । तर, सेयर मिलान अनुपात (स्वाप रेसियो) लगायतका विषय टुङ्गो लाग्न बाँकी रहेको हिमालयन बैंकका सीईओ अशोक शमशेर राणाले बताए । 

‘विस्तृत ड्यु डिलिजेन्सपछि सेयर मिलान अनुपात लागायत टुङ्गो लगाउँछौं,’ उनले भने, ‘अहिले दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिट भैरहेको छ ।’ उनले अहिले सबै तयारी आगामी आर्थिक वर्षदेखि संयुक्त कारोबार गर्नेगरी भइरहेको बताएका छन् । 

बैंक

नेटवर्थ (रुपैँया)

नाफा २०७७ चैत मसान्त

(रुपैँया)

 रिटर्न अन इक्विटी

(स्वपुँजी प्रतिफल) %

पुँजी पर्याप्तता अनुपात %

शाखा संख्या

नेपाल इन्भेष्टमेण्ट  बैंक

३० अर्ब ३५ करोड

२ अर्ब ८४ करोड

१३.८०

१४.७८

८६

हिमालयन बैंक

१८ अर्ब ३५ करोड

१ अर्ब २८ करोड

१०.०५

१३.१९

७०

 


Author

थप समाचार
x