बैंक-वित्त

बैंक तथा वित्तीय संस्थाहरूले छिट्टै ब्याजदर घटाउने अर्थमन्त्री महतकाे आश्वासन

इकागज |
असार २३, २०८० शनिबार १६:१५ बजे

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरूले छिट्टै ब्याजदर घटाउने बताएका छन् ।​​ बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आइरहँदा अर्थमन्त्री महतले सो आश्वासन दिएका हुन् ।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ, काठमाडौँले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास समेत व्यक्त गरे । अर्थमन्त्री महतले कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीहरूलाई बैंकको ब्याजदर घट्ने कुराले ठूलो राहत हुने बताए ।


अर्थमन्त्री महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको उल्लेख गर्दै आन्तरिक वस्तुहरूको खपतमा जोड दिनु पनि आम उपभोक्तालाई आग्रह गरे । उनले कृषिबस्तुको खपत र रोजगारी सृजनाको क्षेत्रमा राम्रो काम गरेको भन्दै क्याटरिङ व्यवसायीहरूको पनि प्रशंसा गरे ।

अर्थमन्त्री महतले सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहनको नीति लिएको पनि दोहोर्याए । उनले कृषि अनुदान दुरुपयोग हुन नदिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरेको पनि स्मरण गराए ।

अर्थमन्त्री महतले सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने चाहेको र सोही अनुसारको व्यवस्था बजेटमा नै उल्लेख गरिएको दाबी समेत गरे ।


Author

थप समाचार
x