बैंक-वित्त

नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र सूचना प्रविधि बन्नसक्छ : गभर्नर अधिकारी

इकागज |
साउन १५, २०८० सोमबार १४:५२ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधि नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुनसक्ने बताएका छन् । सोमबार सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले नेपालमा पछिल्लो समय इकमर्स, डिजिटल कारोबार वृद्धि हुँदै गएको जिकिर गरे । उनले सूचना प्रविधिको विकास र विश्व अर्थतन्त्रमा सूचना प्रविधिले सिर्जना गरेको लाभसँग नेपाल जोडिन सके ठूलो लाभ लिनसक्ने सम्भावना रहेको बताए । 


गभर्नर अधिकारीले नेपालमा फिनटेक कम्पनी, अनलाइन व्यापार, कमर्सियल अनलाइन भुक्तानी र अनलाइन रेमिट्यान्स लगायतमा अनलाइन सेवा विस्तार भइरहेको उल्लेख गरे । उनले नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सीलाई सन् २०२६ सम्ममा मान्यता दिनेगरी योजना बनाएर काम गरिरहेको बताए । उनका अनुसार मुलुकको जिडिपीमा सूचना प्रविधिको क्षेत्रले २ प्रतिशत योगदान पुर्याएको छ ।

नेपालका लागि रोजगारी सिर्जनाको विषय मात्र नभएर सूचना प्रविधिको सेवा निर्यातबाट विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोतका रूपमा विकास हुने सम्भावना देखिएको उनकाे भनाइ छ ।

गभर्नर अधिकारीले नेपाल सरकार आफैँले सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएर आन्तरिक बजार लक्षित गतिविधि पनि बढ्दै बताए । नेपाल राष्ट्र बैंकले सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको उनले जिकिर गरे ।


Author

थप समाचार
x