बैंक-वित्त

'बैंकहरूको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २८ प्रतिशतले घट्यो'

इकागज |
कात्तिक २०, २०८० सोमबार २२:१ बजे

काठमाडौँ- नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वाणिज्य बैंकहरूको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ प्रतिशतले घटेको बताएका छन् । सोमबार संघले काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

अध्यक्ष केसीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको खुद नाफा मात्रै नभएर खुद ब्याज आम्दानी समेत बढ्न नसकेको उल्लेख गरे । उनले चालु आर्थिक  वर्षको पहिलो तीन महिनामा लोन लस प्रोभिजनको रकम ७ अर्ब रहेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म १६ अर्ब पुगेको बताए । उनले चालु आवको पहिलो त्रैमासमा लोन लस प्रोभिजनकै कारण बैंकहरूको नाफा बढ्न नसकेको उल्लेख गरे ।


अध्यक्ष केसी​का अनुसार चालु आवको पहिलो त्रैमासमा बैंकको कर्जा मात्रै नभएर डिपोजिट समेत धेरै बढ्न नसकेको हाे । उनले निजी क्षेत्रको व्यापार घट्दा बैंकको नाफा प्रभावित भएको दाबी गरे । अध्यक्ष केसीले सम्भावित जोखिम व्यवस्था (लोन लस प्रोभिजन) को रकममा उच्च वृद्धि भएको समेत बताए । उनले लोनको माग नहुँदा बैंकहरूले प्रिमियम घटाउँदै गएको जिकिर गरे ।

कात्तिक १७ गतेसम्म २० वटा वाणिज्य बैंकहरूको करिब ७४ अर्बको कर्जा बढ्दा १२१ अर्बले निक्षेप बढेको उनकाे भनाइ छ । उनले गत वर्ष सोही समयमा करिब ४७ अर्ब बढेको उल्लेख गरे । केसीले २० वटा बैंकको अवस्था हेर्दा एउटा बैंक घाटामा, १३ वटा बैंक गत वर्षको भन्दा कम नाफा र ६ वटा बैंकको केही मात्रामा नाफा बढेको बताए ।

विश्वव्यापी रूपमा देखिएको मूल्यवृद्धि, उच्च ब्याजदर सबैखाले असामान्य परिस्थिति र नयाँ इजरायल र हमासको युद्धको असर बैंकिङ क्षेत्रमा पनि देखिएको अध्यक्ष केसी​ले बताए । उनले मौद्रिक र बाह्य क्षेत्रमा केही प्रगति भए पनि  विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स बढ्ने क्रम देखिएको बताए । उनले बैंकको खराब कर्जा ३.६१ प्रतिशत पुगे पनि दक्षिण एशियाली देशसँग तुलना गर्दा डराउनुपर्ने अवस्था नभएको भए पनि सजग हुनै पर्ने अवस्था रहेको बताए ।

स्प्रेडदर ४ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन रहेको र सोहीअनुसार बैंकहरूले काम गरेको उनकाे भनाइ छ । उनले एनबीएले गत शुक्रबार जाजरकोटमा गएको भूकम्प पीडितलाई ५ करोड रुपैयाँ सहयोग गर्ने बताए । उनले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा संघले सकेको सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले आगामी कात्तिक २३ र २४ गते संघले एशियन बैंकर्स कन्फरेन्स आयोजना गर्न लागेको पनि उल्लेख गरे ।

 


Author

थप समाचार
x