के चाहन्छन् शिव शिखर बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरू ?
फाइल तस्बिर
काठमाडौँ- समस्याग्रस्तमा सूचीकृत शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरूले सहकारीको नाममा रहेको सम्पत्ति लिलामीबाट रोक्न माग गरेका छन् ।
उनीहरूले सहकारीको नाममा रहेको सम्पत्ति बचतकर्ताहरूबाट संकलित रकमबाट खरिद गरेको सम्पत्ति भएको भन्दै लिलामीबाट रोक्न माग गरेका हुन् । संस्थाले विभिन्न १३ वटा बैंकबाट करिब ७ अर्ब रुपैयाँ ऋण लिएको छ ।
संस्थाको नामको सम्पत्ति धितोमा राखी बैंकबाट ऋण लिएको सहकारीले ऋण तिर्न नसकेपछि हाल बैंकहरूले धमाधम लिलामीको प्रकियामा अगाडि बढाउने तयारी गरेका छन् । सहकारीको सम्पत्ति लिलामी हुने भएपछि बचतकर्ताहरू तानवमा छन् ।
उनीहरू बैंकले लिलाम गर्न लागेको सम्पत्ति बचतकर्ताहरूको भएको भन्दै तत्काल लिलामी प्रक्रिया रोकेर उक्त सम्पत्तिलाई कुनै व्यापारी प्रतिष्ठानहरूले किन्ने र बचत रकम फिर्ता गरिदनुपर्ने माग राखेका छन् ।
बैंकले सबै सम्पत्ति लिलामी गरेर आफूहरूको लगानी नउठ्ने भन्दै उनीहरू चिन्तित छन् । यस्तै चल्दा चल्दैको उद्योगहरू बन्द भएको भन्दै उक्त उद्योग सञ्चालनमा ल्याई बचतकर्ताहरूको रकम फिर्ता गर्न पनि सुझाव दिएका छन् ।
सहकारी ऐनको व्यवस्थाअनुसार सहकारीमार्फत किनेका सबै सम्पत्ति बचतकर्ताहरूको हुने भन्दै बैंक, सहकारी र सरकारी माफियाहरू मिलेर लिलामी गरी बचतकर्ताहरूको रकम डुबाउन खोजिएको ओरोप समेत लगाएका छन् ।
सहकारीले देशभरका करिब दुई लाख बचतकर्ताको १० अर्ब रुपैयाँभन्दा धेरै रकम हिनामिना गरेको आरोपमा सहकारीका सञ्चालक एवं पूर्वअध्यक्ष केदारनाथ शर्मा र संस्थाको लगानी रहेको कम्पनी शिखर अर्गनाइजेसनकी अध्यक्ष गीता शर्मासहितका व्यक्तिहरू थुनामा छन् । गीता शर्मा सञ्चालक शर्माकी श्रीमती हुन् । बचतकर्ताहरूले आफूहरूको लगानी फिर्ता नहुने हो भने थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
उक्त सहकारीले बचतकर्ताबाट संकलित रकमबाट सातै प्रदेशमा ४३ वटा विभिन्न कम्पनीमार्फत लगानी गरेको छ । सहकारीले गोर्खा टी एण्ड कफी, गोर्खा टोब्याको, गोर्खा वेभरेज, उपकार ब्राण्डका घ्यू, अचार, पानी, तुल्सी ब्राण्डका कम्पनी, चक्लेट कम्पनी, देशभर सञ्चालित २३ वटा गाडेन मार्टलगायतमा लगानी गरेका छन् ।
यस्तै काठमाडौँ, भक्तपुर, ललितपुर चितवन र मकवानपुरलगायत ठाउँमा दुई सय विगाभन्दा धेरै जग्गा खरिद गरेको छ । सरकारीको नाममा करिब ५ सय वटा सवारीसाधन पनि छन् । सरकारले गत भदौदेखि उक्त सहकारीलाई समस्याग्रस्तमा राखेसँगै हाल सबै कम्पनी प्रायः बन्द अवस्थामा छन् भने सहकारीको नामको सम्पत्ति बैंकले रोक्का राखेको छ । बचतकर्ताहरूको रकम हिनामिना गरेको सहकारीका पूर्वअध्यक्ष एवं सञ्चालक केदारनाथ शर्माले भारतको राजस्थानमा नेपाः शिखर इण्डिया नामक कम्पनीमा लगानी गरेको आरोप पनि छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया