बैंक-वित्त

महिला सशक्तीकरणका लागि लक्ष्मी सन्‌राईज बैंकको 'शिक्षित लक्ष्मी' पहल

इकागज |
जेठ ५, २०८१ शनिबार १२:३५ बजे

काठमाडौँ- महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिँदै लक्ष्मी सन्‌राईज बैंकले 'शिक्षित लक्ष्मी' पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाई एउटै छाताभित्र ल्याएको हो ।

यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरुलाई राष्ट्र निर्माणमा योगदान पुर्‍याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको छ ।  आगामी ७ वर्षमा कूल रू ३५ लाख रकम प्रदान गर्ने गरी बैंकले हालै समता एजुकेशन ट्रस्टसँग समझदारी (MOU) गरेको छ । सो रकमले देशभरीका समता स्कूलमा अध्ययनरत सामाजिक र आर्थिक रूपमा विपन्न छात्राहरुले वार्षिक रूपमा छात्रवृत्ति प्राप्त गर्नेछन् । 
 
यसैगरी बैंकले आगामी ५ वर्ष सम्ममा रू १ करोडको छात्रवृत्ति कोष स्थापना गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेको छ । सो कोषमार्फत सोही विश्वविद्यालयबाट STEM (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) विषयहरूमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहने योग्य तथा आर्थिक रूपमा विपन्न महिलाहरूले छात्रवृत्ति प्राप्त गर्नेछन् । सो कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने महिलाहरुको संख्या वर्षेनी बढाउँदै लगिने छ । 


यस छात्रवृत्ति मार्फत २०२४ ब्याचका इरादा सुवेदी (एम. इ. स्ट्रकचरल इन्जिनियरिङ्ग) र सुनेना न्याछ्योँ (एम.एससी. इ एस) हाल अध्ययनरत छन् । यस अघि पनि बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा नेपालभरका प्रहरी विद्यालयहरूमा अध्ययनरत योग्य छात्राहरुलाई यस्तै प्रकारको अक्षय कोष स्थापना गरी छात्रवृत्ति प्रदान गर्दै आएको छ । यसबाहेक बैंकले छात्राहरुलाई अन्य क्षेत्रहरुमा सहयोग गर्नुका साथै महिला उत्थानका लागि विभिन्न अभियानहरू सञ्‍चालन गर्दै आएको छ ।

यी प्रयासहरूले लक्ष्मी सन्‌राईज बैंकको 'शिक्षित लक्ष्मी'मार्फत शिक्षाको प्रवर्द्धन र महिला सशक्तिकरण प्रतिको प्रतिबद्धतालाई झल्काउने जनाएको छ । 


Author

थप समाचार
x