औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत
फाइल फाेटाे
काठमाडौँ - नेपाल राष्ट्र बैंकले सरकारलाई आर्थिक वर्ष २०८०/०८१ को समष्टिगत आर्थिक तथा वित्तिय अवस्थासहितको वार्षिक प्रतिवेदन बुझाएको छ ।
आइतबार सिंहदरबारमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । आर्थिक वर्ष २०८०/८१ मा औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको गभर्नर अधिकारीले बताए । सोही अवधिमा नेपाल सरकारको अन्य प्राप्ति समेत गरी १० खर्ब ८२ अर्ब ७५ करोड राजस्व संकलन भएको र कुल सरकारी खर्च १४ खर्ब ८ अर्ब २ करोड रहेको उनले जानकारी दिए ।
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५ दशमवल ८ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । गभर्नर अधिकारीले समग्र आर्थिक अवस्था र बैंकले गरेको कामकारवाही सहितको प्रतिवेदन बुझाइएको जानकारी दिए ।
प्रतिवेदन बुझ्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचक सकारात्मक बन्दै गएको बताए । उनले उत्पादन, रोजगारी, आयात, निर्यात, राजश्व, पुँजीगत खर्चजस्ता कुरामा तुलनात्मक रुपमा अपेक्षित नतिजा आउन नसकेको उल्लेख गरे । व्याज दरको सहजतालाई उन्पादनमा केन्द्रीत गर्न केन्द्रीय बैंकले ध्यान दिनुपर्ने उनले बताए ।
बैंकले आफ्नो सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३० दशमलव १५ प्रतिशतले वृद्वि भई २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार कायम भएको जनाएको छ । त्यस्तै खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्ट्याउनु पर्ने रकम विनियोजन गरी बाँकी बचत रकम ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार सरकारलाई उपलब्ध गराउने निर्णय गरेको बैंकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया