महालक्ष्मी बिकास बैंकको १६ करोड अपचलनः इन्टरनेशन क्लवमार्फत कालोसूचीमा परेको कम्पनीको ऋण तिरियो
काठमाडौँ- महालक्ष्मी विकास बैंकले नियम विपरीत एक कम्पनीलाई करोडौं ऋण प्रवाह खुलेको छ । बैंकले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लबको नाममा रहेको विवादास्पद तीन रोपनी साता आना एक पैसा जग्गा धितो राखी १६ करोड ऋण दिएको हो । जुन ऋण अहिले जोखिममा परेको हो ।
उक्त जग्गा एनबी समूहका पूर्व अध्यक्ष तथा काठमाडौं रिक्रिएसन सेन्टरका सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठबाट कुमारी विल्डर्स एण्ड डेभलभमेन्ट प्रालि हुँदै इन्टरनेशन क्लव प्रालिको नाममा आएको खुलेको छ ।
नविल बैंकसहित केही बैंकहरुबाट कर्जा लिई दुरुपयोग गरेर ऋण समेत भुक्तानी नगरेको हुँदा कुमारी विल्डर्स कालोसूचीमा छ । उक्त जग्गा सुरुदेखि नै बैंक ठगी गर्ने उद्देश्यले खरिद गरिएको र त्यसका लागि काठमाडौं रिक्रिएसन सेन्टरका सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठले १ करोड ५ लाख ९० हजारमा रविन्द्र बहादुर सिंह सञ्चालक रहेको कुमारी विल्डर्सलाई बिक्री गरेका थिए ।
ठगी गर्न योजनावद्ध रुपमा तत्कालिन एनसीसी बैंकबाट शुरुमै रविन्द्र बहादुर सिंहको नामबाट ऋण लिइएको थियो । उनले ऋण तिरेको प्रमाण अहिलेसम्म भेटिएको छैन ।
त्यसपछि रामेश्वरप्रसाद श्रेष्ठका छोरा नविन श्रेष्ठको नाममा बैंकका कर्मचारीहरूको मिलेमतोमा कम्पनीले ऋण दिएको आठ महिनापछि कम्पनीको शत प्रतिशत सेयर नविन श्रेष्ठको नाममा सारिएको थियो ।
बैंकले ऋण प्रवाह गर्दा कम्पनीका सञ्चालक थिए, रविन्द्रबहादुर सिंह । त्यसपछि कम्पनीको शत प्रतिशत सेयर नविन श्रेष्ठको नाममा नामसारी गरिएपनि सरोकार नभएका व्यक्ति रामेश्वरप्रसाद श्रेष्ठसँग २०७१ वैशाख २१ मा तत्कालीन एनसीसी बैंकले ऋण भुक्तानी सम्बन्धी सम्झौता गरेको थियो ।
यसैमा बैंकका उच्च पदस्थ कर्मचारीहरुको मिलेमतो रहेको खुलेको थियो । हाल एनसीसी बैंक कुमारी बैंकसँग मर्ज भइसकेपछि उक्त झन्झट कुमारी बैंकलाई आइ लाग्यो ।
कुमारी बैंकले आफ्नो नाममा आइसकेको जग्गा पुनः विवादास्पद कुमारी विल्डर्स एण्ड डेभलभमेन्ट प्रालिलाई सकार्न लगायो । उक्त जग्गाको मुद्दा ललितपुर जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्चमा विचाराधिन अवस्थामा छ ।
सर्वोच्चमा विचाराधिन रहेकै बेला उक्त तीन रोपनी सात आना एक पैसा जग्गा २०८० फागुन २ गते २२ लाख ६५ हजार ६०० रुपैयाँ प्रति आनाका दरले १२ करोड ५१ लाख ७५ हजार मुल्य कायम गरी कुमारी विल्डर्सको नाममा नामसारी गरिएको थियो ।
त्यसपछि एक महिना नवित्दै पुनः २०८० चैत १६ गते उक्त जग्गामध्येको २ रोपनी १३ आना १ पैसा जग्गा प्रति आना ५० लाख ७७ हजारका दरले २२ करोड ७५ लाख कायम गरी इन्टरनेशनल क्लव प्रालिको नाममा नामसारी गरिएको समेत खुलेको छ ।
उक्त जग्गा खरिद गर्नका लागि भनि महालक्ष्मी विकास बैंकबाट इन्टरनेशनल क्लवका सञ्चालक एलसन श्रेष्ठको नाममा १६ करोड कर्जा स्वीकृत गराई विभिन्न व्यक्तिहरुको नाममा रकमान्तर गरी कर्जा दुरुपयोग गरिएको समेत खुलेको छ ।
अदालतबाट मुद्दाको किनारा नलाग्दै कुमारी बैंकले कुमारी विल्डर्सका नाममा जग्गा सकार्न लगाई पुनः महालक्ष्मी बैंकबाट १६ करोड ऋण दिएका कारण बैंक ठगी गर्ने उद्देश्यले जग्गाको खरिद बिक्री भएको पुष्टि हुन्छ ।
उक्त खरिद बिक्रीको कारोबार बैंकबाट भएको छैन । मालपोतसँगको मिलेमतोमा मात्र कागजी प्रक्रिया मिलाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया