बैंक-वित्त

कुमारी बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लसमार्फत नेपालपे क्युआरको अन्तरदेशीय भुक्तानी सहकार्य

इकागज |
पुस २६, २०८१ शुक्रबार १८:९ बजे

कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको साझेदारीमा अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताका लागि नेपालपे क्युआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।

यो सेवामार्फत अलिपे प्लस प्रयोगकर्ताले कुमारी बैंकको नेपालपे क्युआर रहेका व्यवसायमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन् । अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुलाई लक्षित गर्दै यो सेवा सुरक्षित र सहज क्रस–बोर्डर भुक्तानीको रूपमा स्थापित हुने बिश्वास बैंकले लिएको छ । सम्झौतासँगै, नेपालमा उपलब्ध नेपालपे क्युआर र यसको इन्ट्रोपेरेवल क्युआरलाई अलिपे प्लस नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन् । 


यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेशिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्वीडेन र सिंगापुर लगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउनेछ । यस्तै, नेपालपे क्युआर मार्फत व्यवसायीहरूले १४ अन्तर्राष्ट्रिय ई–वलेट र मोबाइल बैंकिङ एप्स जस्तै Alipay, AlipayHK, Tinaba, MPay, Touch’n Go Wallet, MyPB, Hipay, GCash, Changi Pay, OCBC Digital, KakaoPay, Naver Pay, Toss Pay र TrueMoney  बाट भुक्तानी स्वीकार गर्न सक्नेछन् । 

बैंकले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउने र आधुनिक बैंकिङ्गको अनुभव प्रदान गर्ने उद्देश्यले यस किसिमका नवीन पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाइमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।


Author

थप समाचार
x