नेपाल इन्भेष्टमेन्ट बैंकको खुद मुनाफा ३.५५ अर्ब
१६ प्रतिशत लाभांश वितरण गरिने

काठमाडौँ- नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ मा खुद नाफा तीन अर्ब ५५ करोड रुपैयाँ पुर्याएको छ । यस वर्ष बैंकले पाँच अर्ब ११ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।
बैंकले आफ्नो ३५ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ । बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैंकको कुल चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल एक खर्ब ६८ अर्बबाट वृद्धि भइ एक खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको एक खर्ब ४० अर्बबाट वृद्धि भई एक खर्ब ६२ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारण सभा भर्चुअल रुपमा सम्पन्न गर्ने निर्णय गरिएको थियो । साधारण सभामा आर्थिक वर्ष २०७७/७८ मा बैंकका प्रमुख उपलब्धि, भविष्यका योजना, कार्य सम्पादन लक्ष्य र रणनीतिबारेमा छलफल भएको थियो ।
साधारण सभाको अध्यक्षता गरेका बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले सञ्चालक समितिको बैठकले १६ प्रतिशत कुल लाभांश वितरण गरिने जानकारी दिए । यसमध्ये १२.६११ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ३.३८९ प्रतिशत नगद लाभांश प्रदान गरिने विज्ञप्तिमा छ ।
बैंकले ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको उक्त बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।
इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया