३० वर्षे बैंकिङ्ग करिअरबाट बिदा हुँदै भुवन दाहाल
अध्ययन-अनुसन्धानमा केन्द्रित हुने
काठमाडौँ– बैंकिङ्ग करिअरमा ३० वर्ष बिताएका भुवनकुमार दाहाल आगामी महिनादेखि यस क्षेत्रबाट बिदा हुँदैछन् । वाणिज्य बैंकको तल्लो तहको कर्मचारीदेखि सबैभन्दा माथिल्लो पद प्रमुख कार्यकारी अधिकृत सीईओ भएर काम गरेका उनले यसैबीचमा बैंकहरूको छातासंस्था नेपाल बैंकर्स संघको नेतृत्वमा पनि रहे ।
सानिमा बैंकको सीईओको निमा बैंकको सीईओको रूपमा आठ वर्ष काम गरेका दाहाल नेपाल राष्ट्र बैंकले तोकेको दुई कार्यकालभन्दा बढी एउटै बैंकमा सीईओ बन्न नपाउने नियामकीय व्यवस्थाका कारण अवकाश लिन लागेका हुन् ।
उनलाई अब अन्य कुनै संस्थामा व्यवस्थापन प्रमुख भएर काम गर्ने रूचि छैन । ‘तीस वर्ष बैंकिङ्ग क्षेत्रमा काम गरियो । अब स्वतन्त्र जीवन बिताउने हो,’ उनले भने ।
स्वतन्त्र रूपमा अध्ययन, अनुसन्धानको काममा सक्रिय हुने साथै सञ्चालकको भूमिकामा वित्तीय क्षेत्रमा रहन सक्ने सम्भावनालाई भने उनले नकारेका छैनन् । सानिमा बैंकको सञ्चालक समितिले दाहालपछि निश्चलराज पाण्डेलाई सीईओ बनाउने निधो गरिसकेको छ ।
सन् १९९१ मा नबिल बैंकको असिस्टेन्टबाट बैंकिङ्ग करिअर शुरु गरेका दाहालले उक्त बैंकमा २२ वर्ष काम गरेर सन् २०१३ मा उक्त बैंक छाडेर सानिमा बैंकको डेपुटी सीईओ बने । नबिल बैंकमा उनको करिअर ग्रोथ राम्रो थियो । सुरुवाती दिनमा उनले नबिल बैंकको विराटनगर शाखामा काम गरेका थिए । नबिल बैंक छाड्दा उनी सीएफओ (चिफ फाइनान्सियल अफिसर) थिए ।
दाहालको नेतृत्वमा सानिमा बैंक एक अब्बल बैंक बन्न सफल भएको छ । यो दौरानमा उनले नेपाल बैंकर्स एसोसिएसनकातर्फबाट नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयका विभिन्न समितिमा सक्रिय रहेर नीति निर्माणमा सहयोग पनि गरेका छन् ।
बैंकिङ्ग करिअरमा आउनुअघि दाहाल संसद सचिवालयमा काम गर्थे । दिनभर फुर्सदीलो हुने, खासै काम नै गर्नुनपर्ने भएपछि उनलाई संसद सचिवालयको त्यो काममा रूचि लागेन । यसैबीचमा उनले नबिल बैंकले खुलाएको ‘भ्याकेन्सी’मा आवेदन गरे र जाँच दिए । नबिल बैंकमा शुरुवातमा उनले विराटनगरमा काम गरेका थिए ।
दाहालको नेतृत्वमा सानिमा बैंकले बैंकिङ्ग क्षेत्रमा नयाँ उचाइ पाएको छ । विकास बैंकबाट वाणिज्य बैंकमा स्तरोन्नति भएको सानिमा बैंक अहिले हरेक सूचकमा अब्बल देखिन्छ । कर्मचारीहरूलाई समान रूपमा व्यवहार गर्नेदेखि तलब सुविधामा पनि ठूलो बदलाब आएको छ । राम्रो तलब सुविधा दिने बैंकमा अहिले सानिमा बैंक २७ बैंकमध्ये सातौं नम्बरमा आउँछ, वाणिज्य बैंकमा स्तरोन्नति हुँदै गर्दा यो १९औं नम्बरमा थियो ।
सेयरधनीलाई दिने प्रतिफल (रिटर्न अन इक्विटी)मा सानिमा बैंक एनआइसी एसियापछि दोस्रो श्रेणीमा आउँछ । त्यस्तै, बैंकको निक्षेपको आधार पनि निकै बलियो देखिन्छ । कुल निक्षेपमध्ये ६७ प्रतिशत व्यक्तिगत निक्षेप रहेकोले पनि संस्थागत निक्षेप घट्दा–बढ्दा त्यसले अत्याउने र ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गर्नुपरेको छैन ।
त्यस्तै, कर्जा असुली (रिकोभरी)मा पनि सानिमा बैंक अब्बल रहेको छ । बैंकको खराब कर्जा ०.१२ प्रतिशत छ । वाणिज्य बैंकहरूमध्येमा सानिमा बैंक निक्षेप आधारमा १७औं र कर्जा परिचालनमा १६औं स्थानमा छ भने बढी नाफा आर्जन गर्नेमा १४औं नम्बरमा छ ।
सानिमा बैंकलाई यो उचाइमा ल्याउन व्यवस्थापनको सिङ्गो टीम र सञ्चालकहरूलाई जस दिन्छन्, दाहाल । ‘यो सामूहिक सफलता हो, टिम–वर्क भएन भने एउटामात्र व्यक्तिले परिणाम दिन सक्ने स्थिति हुँदैन,’ उनले भने । सानिमा बैंकबाट अवकाश लिएपछिको समय के गर्ने त भन्ने प्रश्नमा उनी भन्छन्, ‘अब घरपरिवारलाई समय दिन्छु । अध्ययन–अनुसन्धान तथा लेखनको काममा लगाव छ, अब त्यतै सक्रिय हुनेछु ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया